प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त
मन्त्री छान्न सकस

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।
मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।
विश्वासको मत लिने दिन भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
आचार्यको राजीनामापछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
मन्त्री छान्न सकस
राई मुख्यमन्त्रीमा नियुक्त भए पनि पाँच दलीय गठबन्धनलाई मन्त्री छान्न भने सकस भएको छ । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडानमा छन् ।
यता, कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उप नेता हिमाल कार्कीलाई दिनुपर्ने अडानमा छन् । जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निश्चित भएको गठबन्धन दलका एक नेताले बताए ।
यस्तै, एकीकृत समाजवादीका प्रदेश सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालय दिने सम्भावना छ । लिम्बू प्रदेश १ मा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल निकट एक मात्र प्रदेश सांसद हुन् ।
विद्यार्थी संगठनमा २० वर्ष
प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री राई राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका हुन् । २०२७ असार १५ मा भोजपुरको साबिक किमलुङ गाविसको सुर्के र हालको षडानन्द नगरपालिका–१० मा जन्मिएका उनी गाउँकै विद्यालयबाट विद्यार्थी राजनीतिमा होमिएका थिए ।
अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिक जीवन सुरु गरेका उनले विद्यार्थी संगठनमा २० वर्षसम्म काम गरे । २०५५ सालमा उनी केन्द्रीय महासचिवमा निर्वाचित भए । राई रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सभापतिमा समेत निर्वाचित भए ।
पञ्चायती शासनविरुद्ध लागेका राई ७ महिना केन्द्रीय कारागारमा बसे । तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्धको आन्दोलनमा पनि उनी ४ महिना प्रहरी तालिम केन्द्रमा बन्दी भए । २०६० सालमा माओवादीले घरबाटै एक सातासम्म उनलाई अपहरण गरेको थियो । राईले काठमाडौं जिल्ला कमिटीबाट एमालेको पार्टी राजनीति सुरु गरेका हुन् ।
उनी पार्टीको २०६८ मा सम्पन्न आठौं महाधिवेशनबाट पार्टी विभाजनसम्म केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्यको भूमिकामा छन् ।
२०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुर १ (क) बाट जनप्रतिनिधिमा निर्वाचित भएका राई पाँच दलीय गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राई राजनीतिक सल्लाहकारको जिम्मेवारीमा थिए । राईका ‘विचारको खेती’ र ‘आयु’ नामक विद्यार्थी आन्दोलनसम्बन्धी दुई पुस्तक प्रकाशित छन् ।

प्रतिक्रिया