प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त
मन्त्री छान्न सकस

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् ।
मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।
विश्वासको मत लिने दिन भीम आचार्यले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
आचार्यको राजीनामापछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।
मुख्यमन्त्री राईले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
मन्त्री छान्न सकस
राई मुख्यमन्त्रीमा नियुक्त भए पनि पाँच दलीय गठबन्धनलाई मन्त्री छान्न भने सकस भएको छ । माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने अडानमा छन् ।
यता, कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रमुख सचेतक केदार कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्रालय उप नेता हिमाल कार्कीलाई दिनुपर्ने अडानमा छन् । जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय निश्चित भएको गठबन्धन दलका एक नेताले बताए ।
यस्तै, एकीकृत समाजवादीका प्रदेश सांसद खिनुलङ्बा लिम्बूलाई सामाजिक विकास मन्त्रालय दिने सम्भावना छ । लिम्बू प्रदेश १ मा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल निकट एक मात्र प्रदेश सांसद हुन् ।
विद्यार्थी संगठनमा २० वर्ष
प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री राई राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका हुन् । २०२७ असार १५ मा भोजपुरको साबिक किमलुङ गाविसको सुर्के र हालको षडानन्द नगरपालिका–१० मा जन्मिएका उनी गाउँकै विद्यालयबाट विद्यार्थी राजनीतिमा होमिएका थिए ।
अनेरास्ववियुको विद्यालय प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिक जीवन सुरु गरेका उनले विद्यार्थी संगठनमा २० वर्षसम्म काम गरे । २०५५ सालमा उनी केन्द्रीय महासचिवमा निर्वाचित भए । राई रत्नराज्य लक्ष्मी क्याम्पसको स्ववियु सभापतिमा समेत निर्वाचित भए ।
पञ्चायती शासनविरुद्ध लागेका राई ७ महिना केन्द्रीय कारागारमा बसे । तत्कालीन राजा ज्ञानेन्द्र शाहविरुद्धको आन्दोलनमा पनि उनी ४ महिना प्रहरी तालिम केन्द्रमा बन्दी भए । २०६० सालमा माओवादीले घरबाटै एक सातासम्म उनलाई अपहरण गरेको थियो । राईले काठमाडौं जिल्ला कमिटीबाट एमालेको पार्टी राजनीति सुरु गरेका हुन् ।
उनी पार्टीको २०६८ मा सम्पन्न आठौं महाधिवेशनबाट पार्टी विभाजनसम्म केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्यको भूमिकामा छन् ।
२०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुर १ (क) बाट जनप्रतिनिधिमा निर्वाचित भएका राई पाँच दलीय गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राई राजनीतिक सल्लाहकारको जिम्मेवारीमा थिए । राईका ‘विचारको खेती’ र ‘आयु’ नामक विद्यार्थी आन्दोलनसम्बन्धी दुई पुस्तक प्रकाशित छन् ।

















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया