कुकुरका सौखिन
कुकुर पाल्न काठमाडौँको चार घर बेचेकी सिर्जना

काठमाडौँ । सुन्दरीजलस्थित सुन्ताखानको मुख्य सडक छाडेर करिब ३ मिनेट पूर्वतर्फको जंगल हिँडेपछि भेटिन्छन्, जस्तापाताले बारिएका टहरा । जति टहरा नजिक पुग्यो उति नै कुकुरहरू भुकेको आवाज चर्को सुनिन्छ ।
टहराको ढोकैमा लेखिएको छ,- ‘स्रिज एनिमल रेस्क्यू’ । यस रेस्क्यू सेन्टरले सडकमा छाडिएका, घाइते तथा नाजुक स्थितिमा रहेका कुकुरहरूको उद्दार गदै आईरहेको छ।
उक्त स्रिज एनिमल रेस्क्यूकी सञ्चालक हुन्, ४६ वर्षीया सिर्जना ठकुरी ।
उनी हरेक दिन कुकुरहरूको स्याहार सुसारमा व्यस्त हुँदै आएकी छन् । हामी उनलाई भेट्न पुग्दा करिब १ बजे सेतो एम्बुलेन्समा आइन् । बौद्धस्थित आफ्नो कोठाबाट हतार हतार एम्बुलेन्समा पुगेकी उनी कुकुरको स्याहार गर्न पुगेकी रहेछिन् । कुकुरको रेखदेख गर्ने कर्मचारीले कुकुरका लागि खाना पकाएका हुन्छन् ।
सिर्जना जनावरलाई एकदमै प्रेम गर्छिन् । त्यसैले होला उनले पालेकी कुकुरहरूले उनी आएको पत्तो पाइहाल्छन् । उक्त कुकुर रेस्क्यू केन्द्रमा उनले करिब २ सय कुकुर ल्याएर राखेकी छन् ।
सिर्जना रेस्क्यू केन्द्रमा पुगेसँगै कुकुरहरूलाई आफ्नो बच्चा जस्तै व्यवहार गर्छिन् । ढोकाबाट नै मेरो नानीहरू के छ ? भन्दै जान्छिन् । आमाबिना एक्लो भएका बच्चाहरू जस्तै कुकुरहरू उनको आवाज सुन्नासाथ घेरा लगाउन आइहाल्छन् । एउटी आमा दिनभरिको कामबाट फर्किंदा छोराछोरीले घेरेजस्तै उनीसँग ती कुकुरहरू झुम्मिन्छन् ।
‘यी सबै कुकुर बिरामी भएपछि सडकमा छाडिएका, घाइते स्थितिमा थिए, मैले रेस्क्यू गरेर ल्याएकी हुँ,’ सृजना भन्छिन्, ‘यिनीहरूको बिजोग थियो, सडकमा गाडीले किचिदिएका–तेजाबले आँखा निक्लिएका कुकुरहरूको रेस्क्यू गरेर ल्याएका हो, यिनीहरुको उपचार गर्छौं, पाल्छौं ।’

कुकुरको स्याहार सुसार गर्नैका लागि उनले ११ जना कर्मचारी राखेकी छन् । ‘सातामा चारपटक भेटनरी डाक्टर बिरामी कुकुरको उपचार गर्न आइपुग्छन्,’ सृजना बताउँछिन् । त्यति भन्न सक्दा – नसक्दै उनले कर्मचारीलाई भनिन्, ‘यी नानी–बाबुलाई खाना ठिक गर ।’
उनी हरेक दिन विरामी भएका कुकुरको उपचारबारे बुझ्ने गर्छिन् । उनी करिब ६ वर्षदेखि बिचल्ली परेका कुकुरको उद्धारमा लागिपरेकी छन् ।
आफू नजिक आएका कुकुरलाई देखाउँदै भनिन्, ‘यसले कान सुन्दैन, यो कान नसुन्ने भएपछि सडकमा छाडेका रहेछन्, राम्रो हुदाँसम्म पाल्छन् बिरामी नसक्ने भएपछि सडकमा छोड्छन्, मान्छेहरु यति स्वार्थी छन् ।’
उनी सबै कुकुरालाई उत्तिकै माया गर्छिन् । सबैलाई सुम्सुम्याउन भ्याउँछिन् । त्यसैले होला कुकुरले पनि उनलाई माया गरेको झल्को देखाउँछन् । सबै कुकुरहरू उनको नजिक झुम्मिन्छन् । उनको मुखमा हेर्दै केही भनिरहेको जस्तै गरी भुकिरहेका हुन्छन् ।
उनी विरामी कुकुरलाई आफै गएर केन्द्रमा ल्याउछिन् । उनले ल्याएका कुकुरहरूको नाम राखिदिने गरेकी छन् । उनले जहाँबाट ल्याएको हो, कुकुरलाई सोही स्थानको नाम दिने गरकी छन् । उनी कुकुरलाई झापाली, बनेपा, टेकु जस्ता नामले बोलाउँछिन् । तर, उनीहरूले रेविज रोग लागेका कुुकुरलाई मार्ने गरेका छन् ।
भिडियाे
कुकुरप्रतिको माया
सिर्जनाको माइतीघर काठमाडौंको मुटु मानिने बानेश्वर चोकमा थियो । एकपटक उनले पालेकी कुकुर बाहिर गएको बेला कसैले अगाडिको खुट्टा काटिदिए । उनले जतिसक्दो कुकुरको उपचार आफै गरिन् । त्यहीबेला हो, उनलाई कुकुरप्रति झनै माया पलाउन थालेको ।
उनले भनिन्, ‘जति कुकुर सडकमा घाइते देख्थेँ, ती सबै घरमा ल्याएर उपचार गर्न थालेँ ।’
उनकी आमा पनि उत्तिकै जनवारलाई माया गर्थिन् । त्योबेला उनकी आमाले घरमा ९ वटा कुकुर पालेकी थिइन् । ती कुकुरलाई खाना पकाउने र खुवाउने काम भने सृजना आफै गर्थिन् ।
विवाह भएपछि उनी अमेरिका पुगिन् । उनी अमेरिका पाँच वर्ष बसिन् । तर, बुबा बिरामी भएपछि उनी बुबाको हेरचाह गर्न नेपाल आइन् । उनी आएको केही दिनमै बुबा गुमाइन् । बुबा गुमाएकी केही वर्षमा नै आमा गुमाइन् ।
एकपछि अर्को गरी आफ्ना प्यारा मान्छेहरू गुमाएकी उनी मनैदेखि टुटिन् । ‘एकैपटक जस्तो आमाबुबा गुमाएँ, छोरामा मानसिक समस्या देखियो, ती दिनहरू सम्झन गाह्रो हुन्छ,’ उनी भावुक बन्छिन् । त्यसपछि उनी आफ्नो मनलाई केही हदसम्म शान्त बनाउन अरूले भन्दा फरक काममा लागिन् ।
उनले जिन्दगीमा केही राम्रो काम गर्नु पर्छ भन्ने सोचिन् । आफूलाई पहिलादेखि नै कुकुरप्रति मोह भएकाले यिनीहरुकै सेवामा लाग्ने सोच बनाइन् । सडकमा देखेकी पीडित कुकुरलाई ल्याउँदै उपचार गरी पाल्न थालिन् ।
सुरुका दिनमा छिमेकीले उनलाई गाली गर्थे । विभिन्न आरोप लगाए । त्यसपछि उनले कुकुरहरूलाई राख्न धापाखेलमा एउटा जग्गा लिइन् । त्यहाँ पनि उनले गाली खाइन् । त्यसपछि उनले खुल्ला जग्गा खोजिन् ।

खाली जग्गा खोज्दै जाँदा उनले अहिले सुन्ताखानमा जग्गा भाडामा लिएकी छन् । त्यही राखेर कुकुरको रेखदेख गर्न थालेकी ७ वर्ष बितेको उनले पत्तो पाइनन् ।
कुकुरको स्याहार सुसार गर्न उनले काठमाडौँको चारवटा घर बेचिन् । भन्छिन्, ‘यिनीहरुलाई खानपान र रेखदेखको खर्च जुटाउन मैले आफ्नो चारवटा घर बेचेँ, अहिले कोठा भाडा लिएर बसेको छु ।’
सृजनाले अहिलेसम्म कसैसँग आर्थिक सहयोग मागेकी छैनन् । श्रीमानले अमेरिकाबाट खर्च पठाइदिने गरेका छन् । त्यही खर्चले उनी कुकुरको खानादेखि औषधिसम्मको जोहो गर्छिन् । तर, कुकुरको औषधि महँगो हुँदा श्रीमानले पठाइदिएको पैसाले पुग्दैन उनलाई ।
सृजनालाई उनका श्रीमानले अमेरिका बोलाउने गरेका छन् । तर, उनलाई कुकुरहरू छाडेर जाने कल्पनासम्म गर्न सक्दिनन् । ‘मेरो खुसी भनेकै यिनै कुकुरहरु हुन्,’ उनले सुनाइन्, ‘मलाई मान्छेभन्दा बढी जनवारको माया लाग्छ, यिनीहरुको माया निस्वार्थ हुन्छ ।’
केही महिनाअघि उनी बिरामी परिन् । अस्पतालमा भर्ना भइन् । तर, आफ्नोभन्दा कुकुरले के खायो भन्दै चिन्तित बनिन्, उनी । कुनै दिन कुकुर राखेको ठाउँमा पुग्न नसक्दा भिडियो कल गरेर हेर्छिन् ।
विरामी जनवारको व्यवस्थापन गर्ने काम सरकारको हो । तर, सरकारले यसमा चासो दिएनन् । उनले भनिन्, ‘मेरो सास रहुनजेलसम्म यिनीहरूको सेवा गर्ने छु ।’






तस्वीर : जुली गिरी

















सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
प्रतिक्रिया