बुधबार, माघ ३०, २०८१

यस्तो छ नेकपा एमालेको महाधिवेशन तयारी

नारायणी नदी किनारमा उद्घाटन, सौराहामा बन्दसत्र, भाइचारा पार्टीलाई आमन्त्रण

मेरोन्यूज २०७८ कार्तिक १७ गते १६:०५

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर १० गते चितवनमा गर्न लागेको दशौं महाधिवेशनको तयारी तीब्र पारेको छ । चितवनको भरतपुरस्थित नारायणी नदीको मैदानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उदघाटन गर्नेछन् भने सौराहामा बन्द सत्र गर्ने कार्यक्रम तय गरेको छ ।

उदघाटनस्थलमा अहिले सम्याउने र खाल्डाखुल्डी पुर्ने लगायतका काम भइरहेको छ भने बन्दसत्र सौराहास्थित हात्तीसारमा गर्ने गरी संरचना निर्माण गरिएको छ । प्रतिनिधिलाई बसोबासका लागि सौराहास्थित होटलमा व्यवस्था गरिएको छ।

दघाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा

एमालेले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारूढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको एमालेले जनाएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा आइक्यापका (आइसिएपिपी) का स्थायी कमिटीका सदस्यलाई पनि निमन्त्रणा गरिएको विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

कार्यक्रममा मुलुकका राष्ट्रिय राजनीतिक दलका प्रमुखलाई पनि निमन्त्रणा गरिनेछ । नेपालको मध्यभाग र पर्यटकीय गन्तव्यमा मानिने चितवनमा हुने महाधिवेशनले मुलुकको राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशा दिने पार्टीका सचिव भट्टराईले बताए ।

सचिव भट्टराईले विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गरे । भट्टराईकाअनुसार नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिनेछ भने गत असोजमा सम्पन्न विधान महाधिवेशनले पारित गरेका विभिन्न प्रतिवेदन र विधान संशोधनका दस्तावेज प्रकाशन गरी वितरण गरिनेछ ।

२२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने

एमालेको विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दसौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ ।

पार्टीले केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारी समेत सदस्यमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि, सल्लाहकार परिषदका अन्य सदस्य राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार नहुने प्रबन्ध गरेको छ। एमालेले दशौं महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं !, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं !’ भन्ने मुल नारा तय गरेको छ ।

महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते देशैभरि एकसाथ गरिने पनि एमालेले जनाएको छ । महाधिवेशनमा स्वदेशका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधि गरी कूल एक हजार ९९९ प्रतिनिधि रहनेछन् ।

Advertisement



प्रेस विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया