तिहारको चौँथो दिन : गाई, गोरु, गोवद्र्धन र हलि पूजा

काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
हलि एवं गोरु पूजा
वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हलि एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।
गोवद्र्धन पूजा
आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको समितिले जनाएको छ ।
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया