पाल्पामा माटाका भाडाको प्रयोग हट्दै

रामपुर । माटोबाट तयार पारिएका पालामा घरका आँगनका डिल, चौकस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो । पछिल्लो समयमा माटाका पाला गाउँघरमा देख्नै पाइँदैन । कुमाल समुदायले पुर्खौँदेखि माटाबाट पाला उत्पादन गरी तिहारलाई बन्दोबस्त गरेर घरमा राख्थे । स्थानीयवासीले पनि भरसक माटाकै पालामा बत्ती बालेर झिलीमिली बनाउने चलन रहे पनि अहिले भने गाउँघरमा यसको प्रयोग हटेको रामपुरका समाजसेवी देवराज ढकालले बताए ।
“पहिला त घरमा आमाले तिहार सुरु भएपछि आँगन, घरको मूलकोठा, दैलो, मझेरीमा माटाका पालामा बत्ती बालेको देखिन्थ्यो, यसो गर्दा संस्कृति संरक्षण र व्यवसायीलाई पनि आम्दानी गर्ने माध्यम बनेको थियो”, उनले भने । अहिले भने सबैका घरघरमा बजारमा आएका विभिन्न थरिथरिका झिलीमिली बत्तीले पुरानो परम्परा नै हराउन पुगेको उनले जानकारी दिए ।
ती समुदायका व्यक्तिले पनि उत्पादन गर्न छाड्दै जानु, अर्कोतर्फ बजारमा तयारी अवस्थामा झिलिमिली वस्तु भित्रन थालेपछि ग्राहकको कृत्रिम वस्तुमा ग्राहकको आकर्षण बढेको छ । घरमा महङ्गो मूल्यमा झिलीमिली बत्ती खरिद गरेर घर सजाउने क्रम बढ्दो छ । यसले पुरानो संस्कृतिलाई नै विस्थापित बनाएको छ । बजारमा पनि माटाका पाला पाउन मुस्किल हुँदा झिलीमिली बत्तीले नै घर सजाउने गरेको पार्वती न्यौपानेले बताइन् ।
उनले भनिन्, “माटाका पाला किनेर घरमा बत्ती बाल्ने खासै कोही भेटिदैन, बजारमा जतिबेला पनि सजिलैसँग थरिथरिका कृत्रिम बत्ती पाइन्छ, पालामा बत्ती बाल्ने झण्झट मानी झिलीमिली बत्तीको प्रयोग गर्न थालिएको छ ।” रामपुर नगरपालिका–६ तिलकपुरका सोमबहादुर कुमालको घरमा तिहारलाई माटोबाट बनेका पाला खरिद गर्न यस वर्ष धेरै ग्राहक पुगे । उत्पादन नहुँदा भने ग्राहक रित्तै फर्कन बाध्य भए ।
संस्कृति र परम्परा धान्न कुमालले अघिल्ला वर्षमा पाला बनाएर बेच्ने गरिए पनि यस वर्ष अत्यधिक वर्षा परेकाले पाला तयार पार्न नसक्दा ग्राहक रित्तै फर्कनुपरेको छ । विशेषगरी तिहारमा घरमा माटोबाट तयार पारिएका पालामा बत्ती बाल्ने पुरानो चलन छ । अझसम्म पनि केही पाका स्थानीयवासीले पुरानो चलनलाई निरन्तरता दिँदै माटाका पाला नै खोज्ने गर्छन् । तर माटो अभावमा धेरैले व्यवसाय छाड्दै जाँदा भने हिजोआज व्यवसाय धान्न समस्या परेको छ । स्थानीय सरकारले माटोको व्यवस्थापन गरिदिएमा व्यवसायलाई निरन्तरता दिने सोमबहादुर कुमालले बताए ।
“माटाको समस्याले सबैले यो व्यवसाय छाड्दै गएका छन्, स्थानीय सरकारले माटो प्रबन्ध गरिदिएमा मैले व्यवसाय धान्नेछु”, उनले भने । उनलाई रातको समयमा लुकीछिपी कामदार खटाएर माटो खोज्नुपर्ने समस्या छ । यस क्षेत्रमा माटाको व्यवसाय गर्ने कुमाल एक्लो व्यक्ति हुन् । रामपुर–६ वडा सदस्य लोकमाया कुमालले माटाका भाडा बनाउने व्यवसाय संरक्षण गर्न सम्बन्धित व्यक्तिले निवेदन पेश गरेमा वडाले माटो व्यवस्थापन गरिदिने बताए ।
यस क्षेत्रमा मात्रै करिब २५० घरपरिवार कुमाल समुदायको छ । पहिला सबैका घर–घरमा माटाका भाडा उत्पादन गरिए पनि माटो अभाव हुँदै जाँदा हिजोआज सबैले व्यवसाय छाडेका छन् । पुरानो व्यवसाय संरक्षण गर्न स्थानीय सरकारले विशेष कार्यक्रम ल्याएर व्यवसायलाई संरक्षण गर्नुपर्ने देखिन्छ ।
जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहालगायतका स्थानमा बसोबास गर्दै आएका कुमाल जातिले माटाका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गर्दै आए पनि अहिले यो पेशा लोप हुँदै गएको छ । वर्षौँदेखि गर्दै आएको पेशा संकटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदुरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया