रहस्यको गर्वभित्रै रहेको ललितपुरको त्यो हत्याकाण्ड…
दर्जनौँ नियन्त्रणमा : सयौँसँग केरकार, हत्यारा अझै गुमनाम

काठमाडौँ । गत असार २० गते ललितपुर महानगरपालिकाको सानेपामा भारतीय नागरीक सत्यनारायण पारिखको हत्या भएको थियो । उनको हत्या भएको ४ महिना पुगेको छ । तर प्रहरीले उक्त घटनाबारे कुनै अभियुक्त पक्राउ गर्न सकेको छैन र हत्याको अभियोगमा कुनै पनि हत्यारालाई प्रहरीले कानुनी कठघरामा ल्याउन सकेको छैन ।
सानेपास्थित एक घरमा बस्दै आएका ५९ वर्षीया पारिखको हत्याको विषयमा प्रहरीले विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ जारी गरेको भएता पनि घटनामा संलग्न अभियुक्त अर्थात प्रमाणसहितको अभियुक्तलाई भने कारबाहीको चरणमा ल्याउन सकेको छैन ।
हत्या भएको दिन
भारतको राजेस्थान घर भएका सत्यनारायण पारीख ललितपुर–२ सानेपाको एउटा घरमा बस्दै आएका थिए । उनी पेशाले व्यपारी थिए । उनको नेपाल बस्न थालेको २० वर्ष बढी भएको प्रहरीले अनुसन्धानबाट पत्ता लागेको छ । उनले घरमा काम गर्नको लागि २ जना महिलाहरुलाई राखेका थिए । प्रहरीका अनुसार एउटा महिला ४० वर्ष आसपासको र अर्की २५ वर्षीया आसपासका थिए ।
सधाँ झै नियमित काम गर्न आउँने महिला दुई दिनसम्म लगातार काम गर्ने घरमा गईरहिन्, घरमा ताल्चा लगाएको कारणले उनले धेरै चासो दिएनन् तर नियमितको घटनाहरु दोहोरीन थालेपछि २० गते घटनास्थलमा प्रहरी पुग्यो र घटनास्थलमा पुगेको प्रहरीले चाबी तोडेर घर भित्र छिर्दा सत्यनारायण मृत अवस्थामा फेला परेका थिए ।
आफू सुत्ने पलङमाथि घोप्टो परेको अवस्थामा उनी मृत भेटिएका थिए । त्यसबेला उनको जीउमा सेतो भेष्ट र खरानी रङको ट्राउजर थियो । सिंगो घर नै भाडामा लिएका सत्यरानायण दोस्रो तलामा सुत्ने गर्थे । उनको भान्छा पनि दोस्रो तलामै थियो । सबैभन्दा माथिल्लो तलामा उनले कार्यालयका सामान राख्थे । पहिलो तला भने खाली थियो ।
मुख्य गेट र ढोका बन्द थियो । तर, झ्यालको जाली काटिएको थियो । ग्रिल बिनाको झ्याल खुल्लै थियो । लामखुट्टे छेक्न जाली लगाइएको हुनाले त्यसलाई काटेर कोहीभित्र प्रवेश गरेजस्तो देखिन्छ । दराजको सिसा फुटेको थियो । प्रहरीले यी सबै क्रमलाई हेरेर चोरी गर्न आउँने व्यक्तिहरुले नै सत्य नारायणको हत्या गरेको हुन सक्ने आशंका समेत गरेको थियो ।
उनको शवलाई देख्ने वित्तिकै प्रहरीले हत्याको आशंका गरेको थियो, प्रहरीको संका अनुरुप नै शव परिक्षण पछि उनको हत्या भएको पुष्टि भएको थियो । उनको हत्या केही दिन अगाडी नै भएको हुन सक्ने प्रहरीले जनाएको थिए । उनको शवबाट दुर्घन्ध आएको कारणले उनको हत्या केही दिन अगाडि नै हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको हो ।
अनुसन्धानमा प्रहरीको तिव्रता
पारिखको हत्या कसले गर्यो ? प्रश्नका बीच अल्झिरहेको प्रहरी अझै पनि हत्याराको पहुँचभन्दा टाढै छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, ललितपुरको संयुक्त टोली अनुसन्धानमा लागेका थिए, उक्त टोलीले समेत कुनै निचोड निकाल्न सकेको छैन ।
उक्त घटनाको अनुसन्धान गरीरहेका महानगरी प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख किरण बज्राचार्याले उक्त घटनाको विषयमा प्रहरीले तिव्र अनुसन्धान जारी गरेको बताएका छन् । ‘हत्या भएको हो भन्ने पुष्टि भएपछि हत्या कसले गर्यो ? यो प्रश्न महत्वपुर्ण हुन्छ जसकारण हामी सोही प्रश्नको खोजीमा नै जारी छौँ ।’ उनले भने, ‘हामीले विभिन्न पाटाहरुबाट अनुसन्धानलाई द्रुत गतीमा अगाडि बढाएका छौँ, छिट्टै निचोड निस्कने समेत विश्वास गरेका छौँ ।’
महानगरीय अपराध महाशाखाले भने अनुसन्धान जटिल बन्दै गएको सुझाएका छन् । ललितपुर प्रहरी परिसर र अपराध महाशाखाको संयुक्त टोलीले समेत यसबारे कुनै निचोड निकाल्न नसकेपछि उक्त हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पनि लागि परेको छ । अनुसन्धानको टोलीले म्यानुअल अनुसन्धान र विभिन्न प्राविधिक पाटोबाट अनुसन्धान गर्दा पनि हत्याराबारे कुँनै ‘क्लु’ भेटिएको छैन ।
प्रहरीले आफ्नो अनुसन्धानलाई तिव्रता दिएको भएता पनि यस घटनाको योजनाकार को हो र कसले हत्या गर्यो भन्ने विषयमा भने कसैको नाम अगाडि आएको छैन । तपाईहरुको नजरमा त्यस्तो कोही व्यक्ति अझै पनि फेला परेको छैन ? मेरोन्यूजको प्रश्नमा प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बज्राचार्याले भने,‘हामीले त्यस्तो कोही फेला पारेका त छैनाँै । तर पनि विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिएर केरकार हुने का भने जारी नै छ ।’
सीआईबीले अनुसन्धान सकारात्मक दिशामा अघि बढेको दाबी गरेको छ । हत्यामा संलग्न भएको हुनसक्ने व्यक्ति सिसी टिभी फुटेजमा समेत कैद भएको देखिएको छ । उक्त फुटेजमार्फत् पनि विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको सिआईबीले जनाएको छ ।
सिसिटिभिमा के देखियो ?
सत्यनारायण १८ असारसम्म काम गर्न आउने महिलाको फोन सम्पर्कमा रहनु, शनिबार काम गर्न नभ्याउने बताउनु र सोही रात उनको हत्या हुनु जस्ता कारणले महिला अझै शंकाको घेरामा छन् । घरमा काम गर्ने २ जना महिलाहरुलाई अपराध महाशाखा ललितपुर परिसरले सोधपुछ गरेर छोडेको थियो । अहिले फेरि सीआईबीले उनीहरूमाथि पनि अनुसन्धान अघि बढाएको छ ।
पारिखको हत्या भएपछि प्रहरीले वरपरका सीसीटीभी फुटेज पनि नियालेको थियो । सो क्रममा सिसीटिभी क्यामेराको फुटेजमा दुई वटा मोटरसाइकलमा चार जना सत्यनारायण बस्ने घरसम्म पुगेको दृश्य कैद भएको थियो । तर, उनीहरू घरैभित्र छिरको नछिरेको दृश्य भने फुटेजमा कैद छैन । सीसीटीभी फुटेजमा सत्यनारायण बस्ने घरअगाडि दुई वटा मोटरसाइकल रोकर अघि बढेकोसम्म देखिएको तर घरभित्र प्रवेश गरेको भने देखिँदैन । यसरी राति करिब १० बजेतिर उनीहरू पहिलो पटक पारिख बस्ने घर अघि पुगेर फर्किन्छन् । दोस्रो पटक करिब ११ बजेपछि त्यही हुलिया भएको मान्छे फेरि त्यसैगरी पारिखकको घर अघि पुगेर मोटरसाइकल रोकेर अघि बढ्छन् ।
दजनौं नियन्त्रणमा
प्रहरीले उक्त हुलियासँग मेल खाने, आपराधिक पृष्ठभूमिका भएका, पटके चोरदेखि लागूऔषध कारोबारीसम्म गरी करिब ५० भन्दा बढीलाई पटकपटक गरी नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि पारिखकको हत्या अनुसन्धानले कुनै निचोडमा पुगेको छैन ।
अनुसन्धानका क्रममा पारिखसँग एकमुख रुद्राक्ष भएको भन्ने विषय प्रहरीको कानमा परेको थियो । बहुमूल्य भनिएको उक्त रुद्राक्ष लुटपाट गर्नका लागि पारिखको हत्या गरिएको हुनसक्ने अनुमान गर्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान गरेको थियो । सो क्रममा रुद्राक्ष देख्ने भनिएका व्यक्तिदेखि रुद्राक्षसम्बन्धी कारोबार गर्नेसम्मलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सो पाटोबाट अनुसन्धान गर्दा पनि अनुसन्धान जहाँको त्याहाँ नै छ । गौलोचन भन्ने वस्तु पारिखसँग रहेको भन्ने सुनेपछि प्रहरीले त्यसमाथि पनि अनुसन्धान गरेको थियो । त्यसबाट अनुसन्धानका लागि प्रहरीले कुनै ‘क्लु’ फेला पर्न भने सकेको छैन ।
सयौसँग केरकार
अनुसन्धानमा संलग्न अधिकारीले घटनासँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरिरहेको जनाएको छ । हालसम्म प्रहरीले दुई सयभन्दा बढी मानिसहरुसँग घटनाबारे तथ्य खोज्न बयान लिएको छ । मृतकका घरमा काम गर्ने कामदारदेखि, छिमेकी, परिवार, उनी काम गर्ने कार्यालयका कर्मचारी लगायतसँग प्रहरीले बयान लिएको हो ।
प्रहरीले विभिन्न कोणबाट अनुसन्धानलाई अगाडि बढाएको छ । केही प्रमाणहरु विधिविज्ञान प्रयोगशालाबाट आउन बाँकी छ । प्राविधिक रुपमा प्राप्त विवरणलाई समेत प्रहरीले सुक्ष्म ढंगले विश्लेषण गरिरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया