मंगलबार, फागुन ६, २०८१

प्रहरीले जुवाखालबाट बरामद गरेको करोडौँ रुपैयाँ के गरिन्छ ?

प्रहरीदेखि नेतासम्म जुवाडे

दया दुदराज २०७८ कार्तिक २१ गते १७:५१

काठमाडौँ । चाडपर्व लागेपछि नेपालमा अवैध कालोबजारी र अवैध धन्दाले स्वतन्त्रता पाउँछन् । त्योसँगै फस्टाउने अर्को कार्य हो जुवातास र सट्टेबाजी ।

Advertisement
IMEnabil

रमाइलोका लागि खेलिने खेलमा रकमको बढ्दो प्रयोगपछि धेरै मान्छे घरबार विहीन हुने सम्भावन उत्तिकै चुलिन्छ । तर, सरकारले यो खेलमा प्रतिबन्ध लगाएता पनि खेल्नेहरूको संख्या भने घटेको पाइँदैन । विशेषतः चाडपर्वमा धेरैभन्दा धेरै यो खेल बढी खेलिन्छ । सोही अवस्थालाई मध्यनजर गर्दै प्रहरीले चाडपर्वमा जुवाडेलाई पक्राउ गर्दै आएको छ ।

आज मात्रै अर्थात आइतबार प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गत राति चाँगुनारायण नगरपालिका ८ सुडाल पुरी गाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेकाहरूलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीको घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद १२ लाख ४३ हजार रुपैयाँसहित १५ जनालाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी, जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जिवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्वर थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौँ गोकर्णेश्वर नगरपालिका २ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्बद्ध केही युवा नेता र पत्रकारसमेत छन् । यसअघि चाँगुनारयणबाटै केही युवा नेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको थिएन । मणिराम पुरीले यसअघि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिए ।

प्रहरीले ४ लाख ४३ हजार रुपैयाँसहित १६ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटेको टोलीले चन्द्रागिरी नगरपालिका १४ पुरानो नैकापस्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति ९ः१६ जनालाई पक्राउ गरेको हो । पैसाको ठूलो हार जित हुने गरी जुवा खेलिरहेका १६ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकाप घर भई बस्ने वर्ष ५२ वर्षीय पुष्कर थापा, सोही नगरपालिका बस्ने ४६ वर्षीय पूर्ण बहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षीय लव कार्की, ४४ वर्षीय सुदामा के.सी, ३१ वर्षीय विजय बुढाथोकी, ५० वर्षीय रविन्द्र थापा, ४३ वर्षीय राजन खत्री रहेका छन् ।

यस्तै, चन्द्रागिरी नगरपालिका १३ कै ३६ वर्षीय विश्वास जंग कार्की, ४० वर्षीय सञ्जु थापा, ३८ वर्षीय निरञ्जन शाह ठकुरी र ४४ वर्षीय अष्टमान महर्जन रहेका छन् । चन्द्रागिरी नगरपालिका १४ का ४१ वर्षीय शंकर थापा, चन्द्रागिरी नगरपालिका १२ का निरञ्जन केसी, दैलेख दुञ्नु नगरपालिका ११ घर भई चन्द्रागिरी नगरपालिका १३ बस्दै आएका ४७ वर्षीय गणेश रसाइली र काभ्रे पाँचखाल नगरपालिका ११ घर भई हाल दक्षिणकाली नगरपालिका १ बस्दै आएका ३६ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेको प्रहरीले जनाएको छ ।

लमजुङ प्रहरीले गत शुक्रबार (१९ कात्तिक)मा १ लाख ५६ हजार ५ सय ४० रुपैयाँ नगदसहित १७ जना जुवाडेलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट १६ गोटी कौडासमेत बरामद गरेको थियो ।

डीएसपी कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले बेंसी सहर नगरपालिका ३ बसौलागाउँ क्षेत्रबाट जुवाडेलाई पक्राउ गरेको हो । राति ३ बजेतिर १७ जना जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका १७ जनाको स्वास्थ्य परीक्षण गरेर राखिएको छ । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइको छ ।

नेतादेखि सरकारी कर्मचारीसम्म जुवाडे

जुवाखालबाट सामान्य व्यक्तिहरु मात्रै नभई विभिन्न सरकारी तह तप्का रहेर काम गर्ने कर्मचारी र विभिन्न राजनैतिक दलका नेताहरुसमेत फन्दामा परेका छन् । केही समयअगाडि मात्रै नेपाल प्रहरीका सर्लाही जिल्लाका इञ्चार्ज एसपी सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी बलका इञ्चार्ज एसपी गंगाराम श्रेष्ठ र जिल्ला प्रशासन अधिकारी रामकुमार महतोले जुवा खेलेको भिडियो सार्वजनिक भएको थियो ।

उनीहरुको भिडियो नै सार्वजनिक भएपछि गृह मन्त्रालयलाई तिनै जनालाई कारबाही गरेको थियो । आइतबार मात्रै जुवाखालबाट पत्रकारसमेत पक्राउ परेका छन् । त्यस्तै, पछिल्लो समय दोलखा जिल्लाका नेपाली कांग्रेसका जिल्ला सभापति जुवाखालबाट पक्राउ परेका छन् ।

बिहीबार राति ११ बजे नयाँबस्ती, ओलाङचुङगोला गुम्बानजिकै सागर लामाले कोठा भाडामा लिई कौडा खेलाइरहेको अवस्थामा दोलखा जिल्लाका नेपाली कांग्रेस जिल्ला सभापति बर्मा लामा पक्राउ परेका थिए । प्रहरीले छापा मार्दा जुवा अखाडाबाट ६ लाख ३२ हजार रुपैयाँसमेत बरामद गरेको थियो ।

चाडवाडका बेलामा जुवातास खेल्नेका कारण अपराधका घटनामा वृद्धि भएकाले गृहमन्त्रालयले प्रहरीलाई कडाई गर्न निर्देशन दिएपछि प्रहरीले काठमाडौँका सबै क्षेत्रमा छापा मारेको थियो । त्यही क्रममा सभापति लामा नै पक्राउ परेका हुन् । गृहमन्त्रीको सचिवालयले दबाब दिए पनि प्रहरीले लामालाई छाड्न मानेको छैन । लामालगायतको तिहार प्रहरी हिरासतमै बितेको छ । गृहमन्त्री खाँणको सचिवालयले जुवाडे छुटाउन प्रहरीलाई दबाब दिँदा गृहमन्त्री नै बदनामा हुने अवस्था छ ।

तर, सभापति लामाले भने महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी हरिबहादुर पाल, डीआइजी उत्तम सुवेदी, महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहमाथि कांग्रेसका नेताहरुले दबाब दिएका छन् । जुवा अखडाबाट पक्राउ परेकाहरुको सूचीमा सबैको स्थायी ठेगाना लेखिए पनि सभापति लामाको भने काठमाडौंको ठेगाना मात्र राखिएको छ । दोलखा कांग्रेसको सभापति भए पनि प्रहरीले उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ नयाँ बस्तीको बासिन्दा भएको उल्लेख गरेको छ ।

बरामद गरिएको रकम के गरिन्छ ?

प्रहरीले विभिन्न जुवाखालबाट बरामद गरेको लाखौँ रकमहरु के गरिन्छ ? यो जन जिज्ञासाको विषय हो, तर यसबारे भने सबै जना ज्ञात छैनन् । प्रहरीले बरामद गरेको उक्त रकम राजस्वमा बुझाउने गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) वसन्त कुंवरका अनुसार जुवा खालबाट बरामद गरिएका सम्पुर्ण रकमहरु आन्तरिक राजस्व विभागमा पठाउने गरेको छ । उनले भने, ‘हामीले पछिल्लो समय धेरै रकम संकलन गरेका छौँ, ती सबै रकमहरू हामी आन्तरिक राजस्व विभागमा बुझाउने गर्छौं ।’

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया