तिहारपछि सुदूरपहाडमा जात्राको रौनक

बैतडी । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ । बैतडीसहित दार्चुला, डडेल्धुरालगायत जिल्लामा कार्तिक शुक्ल पक्षको सुरुआतसँगै जात्राको रौनक सुरु भएको हो । भाइटीकाका दिनदेखि सुरु भई कार्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ ।
कार्तिक शुक्ल पक्षमै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती, बाह्र ज्योर्तिलिङ्गमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार, मेलौली भगवती, सुर्नयास्थित भवानी, शिवनाथ, महारुद्र, पुर्चौडीस्थित त्रिवेणीधाम (राताशीला) र दोगडाकेदारमा रहेको भिटाकेदार मन्दिरमा जात्रा लाग्ने गर्दछ ।
राष्ट्रकै सातौँ धामका रूपमा रहेको दार्चुलास्थित मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा र डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा पनि कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । यसैगरी बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कार्तिक शुक्ल अष्टमीका दिन, भिटाकेदार मन्दिरमा नवमीका दिन र मेलौली भगवती, भवानी, उग्रतारालगायत मन्दिरमा पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ ।
यसैगरी मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ । परापूर्वकालदेखि नै कार्तिक शुक्ल पक्षमा देवीदेवताहरुको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपहाडस्थित विभिन्न जिल्लाका शक्तिपीठमा जात्रा लाग्ने गरेको हो ।
यो समयमा लाग्ने जात्रामा टाढा–टाढाका श्रद्धालुसमेत आउने गरेको स्थानीयवासी गंगासागर जोशीले बताए । भाइटीकाका दिनदेखि सुरु भई करिब १५ दिनसम्म विभिन्न ठाउँका मन्दिरमा लाग्ने भएकाले जात्राको ऐतिहासिक एवं धार्मिक महत्व बढ्नाका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ ।
देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिको बेला मन्दिरमा पूजाआजा हुनाका साथै कार्तिक शुक्ल पक्षमा पनि धेरै जात्रा तथा मेला हुने गरेको छ । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिए । जिल्लामा रहेका विभिन्न मन्दिरमा रात्रि जात्रा सुरु भएसँगै चहलपहल पनि बढेको छ ।
यहाँका जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् । जात्रामा सहभागी हुनका लागि बसाइँसराइ गरेर गएकासमेत गाउँमा फर्किएकाले यहाँको चहलपहल बढेको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले बताए । उनले भने, “जात्रामा दर्शनका लागि टाढा रहेका पनि आउने गरेकाले भेटघाट हुनाका साथै पारिवारिक र सामाजिक सम्बन्ध बलियो हुने गर्दछ, गाउँबाट बसाइँ सरेका पनि गाउँ फर्कने भएकाले निकै चहलपहल बढेको छ ।” कार्तिक शुक्ल पक्षमा मन्दिर तथा शक्तिपीठमा लाग्ने जात्रालाई सामाजिक सम्बन्धको पर्वका रूपमा समेत लिइने गरिन्छ । विनोदसिंह विष्ट/रासस
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया