शुक्रबार, पुष १८, २०८२

करोडाैँ पर्ने जग्गाका कारण परिवार गुमाएकी कुर्मीको भारतमा विवाहपछि मृत्यु (प्रमाणसहित)

निर्मला कुर्मी घटना किन उत्कर्षमा ?

दया दुदराज २०७८ कार्तिक २३ गते १८:५०

काठमाडौँ । नेपालगञ्जबाट बेपत्ता भएकी भनिएकी निर्मला कुर्मीको मृत्यु भएको प्रमाण फेला परेको छ । अनुसन्धानका क्रममा भारतीय पक्षसँग समन्वय गर्दा गत १४ चैत २०७६ मा उनको मृत्यु भएको प्रमाण भेटिएको छ ।

प्रहरीले फेला पारेको प्रमाण

जगन्नाथपुरको बलहामा उनको मृत्यु भएको विवरणको प्रमाणित प्रतिलिपि स्थानीय ग्राम पञ्चायत अधिकारीले शनिबार नेपाल प्रहरीलाई पठाएको हो । प्रहरीको अनुसन्धानबाट कुर्मीको वि.सं २०६९/०७० सालमा भारतीय नागरिक अर्जुन कुर्मीसँग विवाह भएको प्रमाण फेला परेको छ । अर्जुनसँगको बयानपछि उनीहरुले विवाह गरेर भारत भागेको प्रहरीले पत्ता लगाएको छ । प्रहरीले उनीहरुले विवाह गरेको र मृत्यु भएको बेलाको तस्बिरसमेत फेला पारेको छ ।

कुर्मी घटना किन उत्कर्षमा ?

निर्मला कुर्मी बाँके जिल्लाकी महिला हुन् । उनको श्रीमान र छोराहरूको मृत्यु भएपछि पूर्वसांसद् समेत रहेका बादशाह कुर्मीले सम्पत्तिको लागि उनीमाथि ज्यादती गरेको भन्ने आरोप छ । साथै पूर्वसांसद् बादशाहकै नेतृत्वमा निर्मलाको अपहरण तथा शरीर बन्धकपछि हत्या गरिएको भन्ने आरोप थियो ।

निर्मला कुर्मीमाथि दुर्व्यवहार गर्दै २०६६ माघ २० गते तत्कालीन संविधानसभा सदस्य वादशाह कुर्मी । तस्बिर सौजन्यः महिला अधिकार मञ्च बाँके

२०६२ सालमा निर्मलाले श्रीमान् महालु कुर्मी गुमाएकी थिइन् । त्यती मात्र नभई २०६६ सालमा निर्मलाका दुई छोराहरु राम सागर र सुरेशको १५ दिनकै अन्तरमा मृत्यु भएको थियो । नेपालमा श्रीमान् र छोराहरुको मृत्युपछि एक्ली भएकी उनीप्रति समाज व्यवहारमा फरकपन आयो । त्याे दुर्व्यवहार गर्ने मध्यमा पूर्व सांसद कुर्मीसमेत थिए ।

पूर्व सांसद कुर्मीले सम्पत्तिकै लागि दुर्व्यवहार गरेको पछि पुष्टि भएको थियो । उनले निर्मलासँग उनका लोग्ने र छोराको नाममा रहेको ५ बिगा जग्गाको लालपुर्जा, नागरिकता र नाता कायमसम्बन्धि कागजपत्र लिएका थिए । बादशाहको बढ्दो बर्बता र दुर्व्यवहारविरुद्ध लड्नका लागि निर्मलाले १८ माघ, ०६६ मा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा निवेदन दिएकी थिइन् ।

निर्मलाले आफूविरुद्ध जिल्लामा सबैतिर उजुरी गर्न थालेको थाहा पाएपछि पूर्व सांसद कुर्मी गाउँ पुगेर २० माघमा निर्मलामाथि सार्वजनिक स्थानमै दुर्व्यवहार गरेका थिए ।

प्रहरीले फेला पारेको निर्मला कुर्मीको शवको तस्बिर

बादशाहसहित ४/५ जनाको समूहले निर्मलालाई अपहरण शैलीमा नियन्त्रणमा लिए कुटपिट गरे । घिसारेर आफ्नै घर पुर्याए । अर्को दिन मात्रै प्रहरीले कुर्मीको घरबाट निर्मलाको उद्धार गरेको थियो । पूर्व सांसद र समाजको दुर्व्यवहारको हल्ला चौतर्फी फैलिन थालेपछि निर्मलाको न्यायका लागि विभिन्न क्षेत्रहरुमा आन्दोलन हुन थालेको थियो ।

त्यसलगत्तै उनी बेपत्ता भएको बताइन्छ । २०६६ सालदेखि बेपत्ता भनिएकी निर्मलाको करोडौँ पर्ने जग्गा हिनामिना भएको थियो । कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या गरिएको भन्दै २० चैत २०७७ मा ८ जनाविरुद्ध महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालका नामबाट आरोपमा बादशाह कुर्मी, रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, कुवर बब्बन सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

निर्मला कुर्मीको आधार कार्ड

९ महिना बित्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न नसकेपछि न्यायको खोजीका लागि भन्दै महिला अधिकारकर्मीहरू नेपालगञ्जबाट २० दिन पैदल हिँडेर न्याय माग्दै काठमाडौँ आइपुगेका थिए ।

सरकारले महिला अधिकारकर्मीमध्येकै रुवी खानसँग वार्ता गर्यो । गृह मन्त्रालयका सह–सचिव हिरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समितिको अनुसन्धानपछि निर्मला कुर्मीले भारतमा विवाह गरेको खुल्न आएको छ ।

प्रहरीको अनुसन्धानले उनले भारतीय नागरिक अर्जुनसँग विं.सं. २०६९-०७० सालतिर नै विवाह भएको प्रमाण फेला पारेको छ । प्रहरीको अनुसन्धानबाट श्रीमानको र छोराहरूको मृत्युपछि एक्लिएकी निर्मलाले समाजबाट खेप्नु परेको बर्बता र दुर्व्यबहारबाट उन्मुक्ति पाउनको लागि भारतमा विवाह गरेको पाइन्छ ।

त्यस्तै, नेपालगञ्ज–१७ परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घर जग्गा भूमाफियाले कीर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मी नेतृत्वले गृह मन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन बुझाएको थियो । निर्मलाको जग्गा भूमाफियाले चलखेल गरी हडपेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार प्रहरीले सोमबार ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, विरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन् । बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेकाले छाडेको छ । यद्यपि, पूर्वसभासद बादसाह कुर्मी यसअघि नै हाजिर भएर छुटेकाले पक्राउ परेका छैनन् ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया