छठ व्रत : ‘सझुका अरख’को तयारी

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । पर्वको चौथो र मुख्य दिन मानिने आज बर्तालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ ।
यसअघि बर्तालुले कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । श्रद्धा, निष्ठा र समर्पणको प्रतीक मानिने छठपर्वका अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिंगारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ भनिन्छ ।
यसअघि गत आइतबार उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबा अरबाइन’, सोमबार पवित्र स्नान गरेर चोखोनीतो खाएर व्रत संकल्प गर्दै ‘नहाय–खाय’ र हिजो मंगलबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए ।
केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । संघीय राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ पूजा गरिन थालिएको छ । केही वर्षयता सामान्य परिस्थिति रहँदा राष्ट्रप्रमुख नै राजधानीको रानीपोखरीसहितका छठ घाटमा पुग्न थालेपछि यसको महत्ता अझ बढेको पाका मैथिलको भनाइ छ । पहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठपर्वमात्र नभएर अन्य धेरै चाडवाड साझा बन्दै गएका मैथिल बुद्धिजीवी बताउँछन् । रासस
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया