कांग्रेस संस्थापनइतर समूहले नै छान्न सकेन साझा उम्मेदवार
वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहबीच नै मनमुटाब

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहले आसन्न महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरवहादुर देउवाका विरुद्धमा साझा उम्मेदवार घोषणा गरेर अघि बढ्ने बताएको दुई महिना बित्यो ।
मिति फेरि पछाडि नधकेलिए महाधिवेशन अब ठीक एक महिनापछि महाधिवेशन हुनेछ । तर अहिलेसम्म पनि संस्थापन इतर समूहले साझा उम्मेदवार छान्न सकेका छैनन् ।
संस्थापन इतर समूहले गत भदौं १७ गते सानेपा पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर छिटै नै आफूहरुको तर्फबाट साझा उम्मेदवार घोषणा गर्ने बताएका थिए ।
उक्त पत्रकार सम्मेलनमा संस्थापनइतर समूहका बरिष्ठ नेता पौडेल, प्रकाशमान सिंह, अर्जुननसिंह केसी, शेखर कोइराला, शशांक कोइराला, डा. रामशरण महत लगायतका नेताको उपस्थिति थियो । यी सबै नेता संस्थापनइतर समूहका सभापतिका आकांक्षी हुन् ।
‘हामी साझा उम्मेदवारका साथ अर्को पत्रकार सम्मेलनमा आउँछौं,’ पौडेलले उक्त पत्रकार सम्मेलनमा भनेका थिए । १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहको सहयोगमा नेतृत्वमा पुगेका देउवालाई १४ औँ महाधिवेशनबाट सभापतिमा दोहोरिन नदिन पौडेल समूह साझा उम्मेदवारको खोजीमा गर्ने तयारीमा अघि बढेको थियो ।
तर सोही समूहका सभापतिका आकांक्षी दुई नेता सिंह र बरिष्ठ नेता पौडेलबीचको सम्बन्धमा पछिल्लो समय देखिएको चिसोपनाले सभापतिको साझा उम्मेदवार छनौटमा उनीहरुबीच सम्वाद समेत हुन सकेको छैन ।
दुई नेताको सम्बन्ध बिग्रदा सभापतिको उम्मेदवार सर्वसम्मत् गराउने प्रयास अघि बढाउन समेत कठिनाइ भएको सोही समूहका एक नेताले मेरोन्यूजलाइ बताए ।
ती नेताले भने – ‘प्रकाशमानदाई र रामचन्द्र दाईबीचको अहिले देखिएको मनमुटावले यो समूहलाई साझा उम्मेदवार छान्न कठिनाई भएको छ । थप जटिलता उत्पन्न भएको छ ।’
सम्वन्धमा यसरी आयो खटपट
कांग्रेसको महाधिवेशन संघारमै आइपुग्दा सस्थापन ईतर समूहका सभापतिका आकांक्षी नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहका बीचमै घोचपेच शुरु भयो । यो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास अन्ततः रामचन्द्र पौडेलले दावी नछोडेपछि करिब टुंग्गिएको छ । त्यसपछि नै हो, गणेशमान सिंहपुत्र प्रकाशमान सिंह अहिले पौडेलविरुद्ध खरो आलोचनामा उत्रिन थालेका ।
उनले सोमबार सत्ता गठवन्धन दलले गठन गरेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पनि विरोध जनाए । संयोग यस्तो परेको छ – उक्त संयन्त्रको संयोजक अहिले संस्थापन इतरकै नेता रामचन्द्र पौडेल छन् । आलोपालो दुई–दुई महिनामा संयन्त्रको नेतृत्व फेर्ने र शुरुमा पौडेल संयोजक बन्ने कुरालाई यतिवेला कांग्रेसकै नेता सिंहलाई चित्त वुझेको छैन ।
उनले बुधबार आफ्नै वुवाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रम मार्फत सार्वजनिक रुपमै भनिदिए – संयन्त्रको काम छैन । सत्ता गठवन्धन दलले बनाएको संयन्त्र सरकारभन्दा माथि जस्तो हुने गरी बनेको सिंहलाई लागेको छ ।
‘संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले वुधबार सार्वजनिक रुपमै भनिदिए,–‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ । अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन ।’
एकातिर आफू नै सभापति उम्मेदवार बन्ने भनि मरिहत्ते गरिरहने र अर्काेतिर छिनमै सभापति देउवाले देखाउने ‘मायामोह’मा फसिहाल्ने पौडेलको स्वभाव देखेर सिंहले पौडेलप्रति चित्त दुखाएका छन् । त्यही भएर पनि उनी उच्चस्तरीय राजनीतिक समन्वय समितिको विरोधमा अहिले देखिएको सिंह निकट नेताहरु बताउँछन् ।
यी दुई नेताकाबीचमा अहिलेजस्तो मनमुटाप यस अगाडि एकै समूहमा रहँदा देखिएको थिएन । तर यसपटक किन यसरी सार्वजनिक रुपमै मनमुटाव झाँगिएको छ त ? काग्रेस संस्थापन इतर समूहका नेताहरु यसको अन्तर्य खोज्न देउवाको नेतृत्वमा गठन भएको सरकारमा मन्त्री छान्ने छलफलसम्मै पसेर असन्तुष्टिको पोको खोल्नुपर्ने बताउँछन् ।
आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउँदा नै पौडेलले सिंहको प्रस्ताव सुने नसुने गरी आफूले रोजेकालाई मात्र मन्त्रीमा सिफारिस गरेर पठाएकोमा चित्त दुखाई थियो । त्यहीँवाट विकसित भएको मनमुटाव अहिले थप झाँगिएको वुझाईमा सो समूहका नेताहरु छन् । पौडेलले कुनै पनि विषयमा आफ्नो समूहमा छलफल नै नगरी आफूखुसी निर्णय लिने गरेको सिंहको आरोप छ । उनी पनि देउवाकै शैलीमा अगाडि बढ्न खोजेको आरोप सिंहको छ ।
सो समूहका एक नेताले भने– ‘रामचन्द्र दाईले आफ्नो समूहमा छलफल नै नगरि आफूखुसी निर्णय गर्ने गर्नुभएकोमा प्रकाशमान दाई रिसाउनु भएको हो ।’
पौडेलले मन्त्री भागबण्डा गर्नेदेखि अहिले उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाउने विषयमा पनि बाहिर एउटा कुरा गर्ने तर पार्टी सभापति शेरबहादुर देउवाको अगाडि घुँडा टेक्ने गरेको सिंह पक्षका नेताहरुको आरोप छ ।
मन्त्री भागबण्डा गर्दा देउवाले पौडेल समूहबाट दुई मन्त्रीको नाम मागेका थिए । तर त्यसमा नेता सिंहले एक जना राजेन्द्र केसीको नाम अघि सारेकोमा त्यस बिपरित पौडेलले मन्त्रीमा दिलेन्द्रप्रसाद बडु र मिनेन्द्र रिजालको नाम पठाएपछि सिंह असन्तुष्ट बनेको पौडेलसँग निकट रहेका अर्का एक नेताले बताए ।
गत सोमबार सिन्धुली पुगेका सिंहले देउवा र पौडेलले पार्टीको नेतृत्व लिन नसक्ने बताएका थिए । उनले आफू उम्मेदवारीबाट अब कुनै हालतमा पछि नहट्ने बताउँदै आएका छन् ।
‘मैले रामचन्द्र दाइलाई भनेको छु– दाइ हामीले तपाईंलाई यसअघि सभापति बनाउन खोजेका हौं तर सकेनौं । अब तपाईंको उमेर पनि पुग्यो । तपाईं आराम गर्नुस् । अब तपाईं पार्टी सम्हाल्न सक्नुहुन्न । आम कार्यकताहरूले पनि परिवर्तन खोजेका छन् । उनीहरू पार्टीलाई साँच्चिकै योगदान पु¥याउन सक्ने सक्षम नेतृत्व चाहन्छन् । त्यसैले पार्टी नेतृत्वमा आउन मलाई सहयोग गर्नुस् भनेको छु । तर, रामचन्द्र दाइले मान्नु भएको छैन ।’ सिंहले भन्न थालेका छन्,–‘म सभापति छोड्दिन । आवश्यक परे म पौडेल समूह छोडेरै भएपनि सभापतिमा उम्मेदवारी दिन्छु ।’
पौडेल कांग्रेसभित्रै नपत्याइएका नेता
कांग्रेसमा रामचन्द्र पौडेल जति दार्शनिक र वैचारिक नेता मानिन्छन्, त्यति नै उनी पार्टीभित्र नपत्याइएका नेतामा पनि गनिन्छन् । अहिले अन्तिम पटक उनले सभापतिमा दाबी गरिरहँदा न उनलाई प्रकाशमानले पत्याएका छन्, न महामन्त्री डा सशांक कोइरालाले नै पत्याएका छन् । उनले विगत महाधिवेशनमा आफू सभापतिमा जित्न भन्दै बीपी पुत्र डा. सशांकलाई नै महामन्त्री उठाउने भनी राजनीतिका कच्चा मानिएका सशांकलाई महामन्त्री रोजेपछि शेखर त्यसबेला नै रामचन्द्रसँग सशंकित थिए । त्यसवेला शेखरले अन्तिम समयमा पौडेलको टिमबाट महामन्त्री लड्न खोजेका थिए ।
यस हिसावले पौडेल संस्थापन इतर समूहमै पनि सर्वमान्य नेता हुन सकेनन् । अहिले सबैभन्दा बढी उनीसँग क्रुद्घ देखिए– प्रकाशमान सिंह । आफ्नै भएर पनि पराइ बन्दै जान थालेका छन्, सिंह अहिले पौडेलसँग ।
सिंहको आवेगलाई थुमथुमाउन सक्ने नेता अहिले संस्थापन इतर समूहमा देखिएका छैनन् । उमेरमा आफुभन्दा जेठा भएपनि उनले सशांकलाई राजनीतिका आलाकाँचा ठान्ने गरेका छन् । देउवा र पौडेलपछि कांग्रेसमा सबैका लागि अभिभावक बन्ने र स्वीकार्य नेता आफू भएको जिकिर सिंहको रहँदै आएको छ ।
त्यही भएर पनि उनी अहिले संस्थापनइतर समूहमा पौडेलकै विरुद्धमा खुल्न थालेका हुन् । कांग्रेसभित्र पौडेलले न युवा पुस्ताको नेतृत्व गर्ने आँट देखाउन सकिरहेका छन् । न कुलीन कांग्रेस उनको साथमा देखिएको छ । कोइराला परिवारका लागि पौडेलले त्याग त गरे तर पनि उनी उपयोग मात्र भएको आरोप कांग्रेसभित्रै लाग्ने गरेको छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया