मंगलबार, वैशाख ३०, २०८२

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ

मेरोन्यूज २०७८ कार्तिक २५ गते ७:३८

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएको छ । परिवारका सबै सदस्यले आराध्यदेव उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएसँगै छठपर्व सकिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ दिन भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गर्ने गरिएको छ । छठको मूख्य दिन बुधबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएका भक्तजनले बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । दुलही झैँ सिंगारिएका तलाऊहरुमा भक्तजन भेला भएर पूजा आराधना गरेका छन् ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । मूलतः तराईवासी र मैथिल समाजमा मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य समुदायका मानिसले पनि मनाउन थालेका छन् ।

प्रतिक्रिया