बुधबार, फागुन १३, २०८२

एमालेले महाधिवेशन लक्षित विशेष बुलेटिन प्रकाशन गर्ने

मेरोन्यूज २०७८ मंसिर ३ गते ७:५९

काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक इ–बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ एमालेको आधिकारिक मुखपत्र हो ।

Advertisement
nepal life insurencenepal life insurence

विशेष बुलेटिनमा पार्टीका शीर्ष नेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशन केन्द्रित गतिविधि समेटेर महाधिवेशन अवधिभर हरेक दिन साँझ प्रकाशन हुने विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । एमालेले पार्टीको आधिकारिक फेसबुकबाट दैनिक शीर्ष नेताको प्रत्यक्ष भिडियो अन्तर्वार्तासमेत सुरुवात गरेको छ ।

यस्तै, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व र कलाकारबाट महाधिवेशनलाई प्राप्त भिडियो सन्देशको प्रसारण गर्दै आएको छ । केन्द्रीय सदस्य थापाले प्रचारकै क्रममा यही मंसिर ७ गते युवा संघ नेपाल, अनेरास्ववियु, खेलकुद महासंघलगायत संगठनको आह्वानमा काठमाडौँबाट चितवनसम्म र देशैभरि मोटरसाइकल र्‍याली गरिने जनाएका छन् ।

यसैगरी पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता एवं तत्कालीन महासचिव मदनकुमार भण्डारी र तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको जीवनी र योगदानमा आधारित भिडियो निर्माण गरिने भएको छ । साथै विभागले देशका महत्वपूर्ण स्थानमा प्रचारका डिजिटल डिस्प्ले, बोर्ड राख्ने तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ पत्रकार तथा बुद्धिजीवीसँग अन्तक्रिया गर्नेलगगायत योजना तय गरेको छ ।

एमालेले सचिव एवं प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजत्वमा महाधिवेशन प्रचार समिति गठन गरेको छ । एमालेको महाधिवेशन यही म‌सिर १० देखि १२ गतेसम्म चितवनामा हुँदै छ ।

प्रतिक्रिया