किन भाँडियो शेखर र शशांकबीचको सहमति ?

काठमाडौं । जतिबेलाबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने भन्ने चर्चा परिचर्चा सुरु भयो, त्यतिबेलाबाट कोइराला परिवारबाट एउटा उम्मेद्वार बनाउन छलफल सुरु भएको थियो । पटक-पटक कोइराला कोइरालाबाट पार्टी केन्द्रीय कार्यसमितिको महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालाबीच वार्ता भए । डिनरसहितका ती वार्ता चर्चा परिचर्चा कमाउन सचिवालयहरुले चासोका साथ बाहिर ल्याए ।
अब कोइराला परिवार एक भएर महाधिवेशनमा अघि बढ्ने प्रक्रिया लगभग लगभग अन्त्य भएको छ । लामो समयपछि सहमति गरेर कोइराला परिवारबाट डा. शेखर सभापतिको उम्मेद्वार बन्ने र शशांक र सुजाताले सहयोग गर्ने सहमतिसहित पत्रकार सम्मेलन गर्ने तयारी थियो । गत मंगलबार राति यो सहमति भएपछि बुधबार पत्रकार सम्मेलन गर्ने तयारी थियो । तर, बुधबार बिहान सहयोगीहरुले तयारी गरिरहेको बेला एकाएक सहमति भंग भएको छ ।
डा. शशांक र शेखरबीच भएको सहमतिमा सुजाता कोइरालाले पनि समर्थन जनाउने कार्यक्रम तय भएपछि बुधबार बिहान सार्वजनिक गर्ने भनिएको पत्रकार सम्मेलन एक घण्टा अगाडि मात्र स्थगित गरिएको छ । एक घण्टामात्र अघि सहमति कसरी कार्यान्वयन हुन रोकियो भन्ने पाटो भने रहस्यमै छ ।
सहमतिका लागि मंगलबार साँझ डा. शशांक आफैँ शेखर निवास बसुन्धारा गएका थिए । भेटमा आफू एकपटकका लागि सभापति बन्ने भन्दै त्यसपछि सभापति को बनाउने भन्ने विषयमा दावी वा सुझाव दिन पनि शेखरले शशांकसँग आग्रह गरेका थिए । लामो कुराकानीपछि शशांक कोइरालाले सभापतिका लागि आफूले मात्र समर्थन गरेर हुने अवस्था नरहेको भन्दै रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहितको समर्थन लिन सक्नुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा शेखर कोइरालाले शशांकले समर्थन गरे उहाँहरुको समर्थन आउने भन्दै सहमत गराएका थिए ।
शशांकले अघिल्लो पटक शेखर महामन्त्रीमा ब्याक भएको र आफुलाई सघाएको भन्दै अहिलेलाई समर्थन गर्न सक्ने बताएका थिए । छुट्नुअघि बुधबार बिहान सुजातासहितलाई राखेर पत्रकार सम्मेलन गरी सहमति सार्वजनिक गर्ने समझदारी थियो ।
सझदारीअनुसार बुधबार विहान नौ वजे शशांक निवासमा शेखर पुगे । सहमति सार्वजनिक गर्न उनले सुजाताको खोजी गरे । सुजातालाई आफैले फोन गर्न शशांकाका सचिवालयकाले सुझाएपछि शेखरले नै सुजातालाई फोन गरे । आफूलाई शशांकले समर्थन गर्ने जानकारी शेखरले गराएपछि सुजाता छक्क परिन् । सहमति भए राम्रो हो भन्दै पत्रकार सम्मेलनमा आउने तयारी गरिरहेकी सुजातालाई फेरि फोन गयो पत्रकार सम्मेलन स्थगित भयो ।
सुजाताले पत्रकार सम्मेलनमा आफूलाई बोलाइएको र पछि स्थगित भएको जानकारी आएको बताइन् । तर, सहमति के थियो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको सुजाताको भनाइ छ ।

शेखर निकट स्रोतका अनुसार पत्रकार सम्मेलन गर्ने तयारी भइरहेका नेपाली कांग्रेसका नवनिर्वाचित संखुवासभाका सभापति दिपक खड्काले जिल्लामा लगेर हिडेका थिए । पत्रकार सम्मेलन १० बजे बोलाउने तयारी थियो । अन्तिम अवस्थामा आएर दुवै नेताका सचिवालयलाई पत्रकार सम्मेलन अर्को साता गर्ने भन्दै स्थगित गर्न भनिएको थियो । पत्रकार सम्मेलनको तयारी गरिरहेका शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियालाई पत्रकार सम्मेलन ८ गतेका लागि सारिएको जानकारी आएपछि उनले तयारी स्थगित गरेका थिए ।
स्रोतका अनुसार ८ गते गर्ने भनिए पनि सहमति भाडिएकाले हुने सम्भावना देखिन्न । ‘हामी सहमतिमा अघि बढ्ने प्रयासमै छौँ । दुई नेताबीच कुराकानी भइरहेको छ । बाहिर आएजस्तो नकारात्मक भइसकेको छैन,’ शेखरका स्वकीय सचिव थपलियाले भने । तर, उनले भनेकोजस्तो अवस्था छैन ।
खासमा कुरा बिग्रिएको शशांकले नभई उनीसँग लागेका नेताहरुका कारण भएको धेरै नेताहरु बताउँछन् । शशांकको सचिवालयमा रहेकाहरु पनि त्यो कुरा स्वीकार्छन् । शशांक सभापतिको उम्मेदवार भएमा आफूहरुले त्यसैका आधारमा कमाउन सकिने र शेखर भएमा त्यो त्यति सम्भव नहुने भएपछि उनीहरु भड्काउन लागेका हुन् ।
भड्काउनेमा पहिलो नम्बरमा संखुवासभामा निर्वाचित सभापति खड्का रहेको निकटस्थहरु बताउँछन् । उनलाई रक्षामन्त्री डा.मीनेन्द्र रिजाल, केन्द्रीय सदस्यहरु दीपक गिरी, दीलेन्द्र बडूलगायतले उक्साएको स्रोतको दाबी छ ।
यसले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई फाइदा पुगेको छ । उनी फेरि पनि सभापति बन्ने तयारीमा लागेका छन् । यतिसम्मकी सहमति सार्वजनिक गर्न आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन भाडिएपछि शेखर र शशांकबीच टेलिफोनमा कुराकानी भएको छैन । शशांक र सुजाताबीच त मन्त्री सिफारिसमा खटपट भइसकेको छ ।
सुजाताले आफू शशांकको टिममा नरहेको सार्वजनिक रुपमै बताइसकेकी छन् । तर शेखरलाई भने उनको समर्थन छ । यसले पनि कोइराला परिवारमा महाधिवेशनमा मिलन हुने सम्भावनालाई टारेको देखाउँछ । तर शेखरले शशांकलाई मिलाउने प्रयास भने जारी राखेका छन् । आफू परिवारलाई मिलाएर अगाडि बड्ने प्रयासमा रहेको डा. शेखरले बताए ।
‘म शशांक र सुजातालाई मिलाएर अगाडि बढ्ने प्रयासमै छु,’ डा. शेखरले भने ।
















खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया