कांग्रेस महाधिवेशनः प्यानल नबन्दा पदाधिकारीका आकांक्षी यता न उता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन आउन मात्र २१ दिन बाँकी छ । तर (संस्थापन र इतर ) ‘प्यानल’ उम्मेदवारहरुको सूचिका विषयमा औपचारिक छलफल दुवै समुहमा नहुदा कांग्रेस पदाधिकारीका आकांक्षी अलमलमा परेका छन् ।
कुन पदमा उठ्ने टुंगो नलाग्दा तयारी गर्न नपाएको भन्दै नेताहरुको गुनासो देखिन्छ । दुवै टिमका नेताहरूको मुख्य नजर मंसिर ६ मा हुने क्षेत्रीय अधिवेशनमा केन्द्रित छ ।
अहिले विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरुले आफू कुन समुहमा उठ्ने भनेर खुलाएका छैनन् । तर प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले गत बिहिबारदेखि नै आफ्नो गुटका नेताहरुसँग कसरी अघि बढ्ने र महाधिवेशन जित्ने विषयमा छलफल सुरु गरेका छन् ।
देउवाले सोमबार आफ्नो समूहको बैठकमा पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन सकिनासाथ पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको टिम बनाउने बताएका थिए । तर देउवाले बनाउन खोजेको पदाधिकारीको टिममा को–को अटाउँछन् भन्ने उनले खुलाएनन् । उनले उक्त टिमको सभापति भने आफै हुने दाबी मात्र गरिरहे ।
सोही बैठकमा गोपालमान श्रेष्ठले यो पटक आफू पनि सभापतिमा उठ्ने पुनः दोहोर्याए । तर देउवाले अहिले म उठ्छु मलाई सहयोग गर्नु भनेर श्रेष्ठलाई भनेको सोही बैठकमा उपस्थित एक नेताले मेरो न्युजसँगको कुराकानीमा भने ।
‘सभापतिज्युले गोपालमानदाईलाई बढी जिद्धि नै गर्ने हो भने ठीक छ, उठे हुन्छ, बिमलेन्द्र जस्तै शुभकामना भन्नुभयो !’– ती नेताले भने ।
निधि अब आफ्नो टिममा नर्फने हुँदा बलियो भएर तयारी गर्न पनि देउवाले आफ्ना समुहका नेताहरुलाई भनेका थिए ।
संस्थापन पक्षमा देखिदै आएका विश्वप्रकाश शर्माले महामन्त्री घोषणा गरे पनि सभापतिको टुङ्गो नलाग्दा कुन टिमबाट मैदानमा आउने अझै भनेका छैनन् ।
यता, संस्थापन इतर (पौडेल समुह) मा सभापतिका प्रत्यासी चार जना हुँदा को सभापति भन्नेमै सकस देखिएको छ । जसमा बरिष्ठ नेता पौडेलसहित महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला आकांक्षी छन् । यीमध्ये एक जना सभापतिको टु्ङ्गो नलाग्दा पदाधिकारीमा उठ्ने नेताहरु अन्योलमा परेका हुन् ।
१३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाले देउवालाई सघाएका थिए । अहिले सिटौलाले आफै सभापति उठ्ने बताए पनि उनले पनि अहिलेसम्म टिम बनाएका छैनन् । सभापतिको टुंगो नलाग्दा अन्य पदाधिकारीको प्यानल बनेको छैन ।
पहिला सिटौंला समूहबाट १३ औं महाधिवेशनमा महामन्त्री उठेका गगन थापाले १४ औं महाधिवेशनमा समुह परिवर्तन गरेको संकेत गरे पनि आफु कुन प्यानलबाट उठ्ने खुलासा गरेका छैनन् । उनी भदौं १७ गते पौडेल समुहको बैठकमा देखिएका थिए ।
देउवासँग प्रतिस्पर्धा गर्न संस्थापनइतर समूहले साझा उम्मेदवार छान्ने भने पनि अझै छान्न सकेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व गरेको उक्त समूहबाट सभापतिका लागि चार जना आकांक्षी देखिएका छन् । जसमा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला छन् ।
पार्टी र सत्ताको केन्द्रमा रहेका देउवासँग प्रतिस्पर्धा गर्न सहज नभएको भन्दै यस समूहका युवा नेताहरुले सभापतिको प्रतिस्पर्धामा एक जनामात्रै अघि सर्न दबाब दिँदै आएका छन् ।
१४ औं महाधिवेशनबाट सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित १३ पदाधिकारी निर्वाचित हुन्छन् । कोषाध्यक्ष मात्र मनोनित हुनेछन् ।
क्षेत्रीय अधिवेशनबाट कांग्रेसका ४ हजार १ सय २४ महाधिवेशन प्रतिनिधि चयन भएर आउँछन् । त्यसले पनि कुन समुह बलियो रहेको देखाउँछ । अर्को, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरेर करिब ४ हजार ५ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि आउनेछन् ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ काठमाडौंमा हुँदैछ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
प्रतिक्रिया