आइतबार, पुष ६, २०८२

जीप कम्पासको साथ राजेश हमाल जीपलाइफमा प्रवेश

मेरोन्यूज २०७८ मंसिर १० गते १८:४४

काठमाडौं । महानायक राजेश हमाल नयाँ जीप कम्पासको साथमा जीपलाइफमा प्रवेश गरेका छन् ।

महानायक हमाल र उनकी पत्नी मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोेरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् ।
‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

‘मैले युवा अवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जीप पनि चलाएको थिए । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ,’ उनले भने, ‘म खुशी छु कि आज मैले जीप किनेँ ।’

केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ । यो सकारात्मक गति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ ।

‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’

नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ । कम्पासमा जीपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ रहेको लामिछानेले बताए ।

नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ, जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

प्रतिक्रिया