शनिबार, मंसिर २७, २०८२

चितवनबाट आएको एमालेलाई कांग्रेसले तह लगाउँछ : गगन थापा

मेरोन्यूज २०७८ मंसिर १२ गते १६:०३

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताएका छन् ।

आईतवार नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभइ ओली शेसन चलिरहेको बताएका हुन् ।


उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिष्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए । उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप लगाए ।

नेता थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका कामहरु हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्शपुरुष हुन सेन रहेको आरोप उनको छ ।


उनले भने ‘बन्द सत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो । त्यो पनि बन्द शेसन होइन, एक प्रकारले ओली शेसन नै चलिरहेको थियो । मैले बिहान जे भनेको थिएँ, कि नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन् । त्यहाँ प्रतिष्पर्धा चलिरहेको छ । त्यो प्रतिष्पर्धामा भाग लिन्न भनेर एक जना भीम रावल उठेछन् ,रावलले झन्डै भकुराइ खाएर, झन्डै पिटाइ खाएर अहिले हाम्रो प्रहरीले भीम रावल बसेको होटललाई सुरक्षा दिइरहेको अवस्था छ । विधिवत रुपमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ । ’

उनले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउँने बताए । उनले १० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेर आउने आरोप उनको छ ।

प्रतिक्रिया