रातो मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटन तःबहाल लगिँदै

ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ । मच्छिन्द्रनाथलाई छ महिना पाटन र अर्को छ महिना बुङ्मती राखिने चलनानुसार तःबहाल ल्याउन लागिएको हो ।
यही मङ्सिर ९ गते आफूहरु बसेर हेरेको साइतअनुसार आउँदो बिहीबार रातो मच्छिन्द्रनाथलाई पाटन ल्याउने तयारी भइरहेको मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले जानकारी दिए । उनले भने, “त्यस दिन बिहान साङ्केतिकरूपमा भगवान्लाई हल्लाएर दिउँसो बोकेर पाटन ल्याइनेछ ।”
मच्छिन्द्रनाथलाई पाटन ल्याउनुअघि केही कार्य गर्नुपर्ने भएकाले शनिबार भैरवनाथको पूजा र आज कुमारी अनि मच्छिन्द्रनाथको समेत पूजा गरिने मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए । उनले भने, “यी कार्यसँगै बुङ्मतीबाट पाटन पठाउनु चार दिनअघि मच्छिन्द्रनाथको रङरोहन अनि भोलि होम र बलि पूजा आदि गर्नेछौँ ।”
सो दिन गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ जना पूजारी अर्थात् पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मी र काठमाडौँ उपत्यकाका जनताको सहभागितमा बाजागाजासहित खटमा बोकेर पाटन ल्याउने ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी दिए ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
मच्छिन्द्रनाथको वर्ण
रातो मच्छिन्द्रनाथ अर्थात् रक्तावलोकितेश्वरको वर्ण अरुणावर्ण छ । दुई ठूला–ठूला आँखा छन् । दबिएको नाक छ । उचाइ चार फुट लामो छ । पवित्र माटो ९मृत्तिका, तेराकोटा०बाट बनेको मूर्ति सुन्दर र भव्य देखिन्छ । शिरमा रत्नमुकुट, निधारमा टीका र कानमा रत्नजडित गहनाले मूर्ति सुसज्जित भएको छ । घाँटीमा कर्कोटनागको रत्नमाला, हातमा चुरा र बाला र खुट्टामा कल्ली सुशोभित छन् । दाहिने हात वरद मुद्रामा छ । बायाँ हातमा कमलको फूल छ । लोकनाथ विराजमान हुने विहार ललितपुरको तःबहाल र बुङ्मतीको मन्दिर दुवै उत्तरतिर फर्केका छन् । यसैले मूर्ति जहिले पनि उत्तराभिमुख गरी राखिने भएको मुनीन्द्ररत्न बज्राचार्यद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ ।
नेपालको सबभन्दा ठूलो जात्रामध्ये करुणामयको रथ तान्नु पनि एक हो । समस्त प्राणीको उद्धारकर्ता करुणामयको जात्रा परापूर्वकालदेखि राजकीय सम्मानका साथ मनाइँदै आएको इतिहास छ ।
काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिएको पाटन निवासी ७१ वर्षीय सूर्यमान डङ्गोलले बताए । सुभानु आचार्य/रासस
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
पर्सामा मध्यरातदेखि भारतीय सीमानाका बन्द
आज लाग्दैछ दुर्लभ प्रकारको खण्डग्रास चन्द्रग्रहण
सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया