बुधबार, फागुन २०, २०८२

सरकारी लगामले शेयर बजारमा गिरावट

मेरोन्यूज २०७८ मंसिर २१ गते १६:४३

काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छन् ।

नेपाल न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर, शेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताइन् ।

उनले शेयर बजार नियामक निकायहरुले शेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताइन् ।

शेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा शेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको शेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाइन् ।

अध्यक्ष पोखरेले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फकिएकाले बजार गिरावट भएको बताइन् ।

उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताइन् । अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुँदै गएको उल्लेख गरिन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया