मंगलबार, पुष ८, २०८२

को हुन् कांग्रेस सभापतिमा दोहोरिएका देउवा ?

मेरोन्यूज २०७८ मंसिर २९ गते ३:११

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा फेरि शेरवहादुर देउवा निर्वाचित भएका छन् । पार्टीको १३ औं महाधिवेशनवाट सभापति रहेका देउवा चौधौमा पनि प्रतिस्पर्धी नेता शेखर कोइरालालाई पराजित गदै कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् ।

उनी अहिले सरकारको पनि प्रधानमन्त्री छन् । पार्टी सत्ता र सरकारको सत्ता फेरि एकपटक दुवै देउवाको सुरक्षित बनेको छ । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो ।

खासगरी विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका थिए । प्राथमिक शिक्षा गृह जिल्ला डडेल्धुरा, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।

नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित देउवा २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी पाँच पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी समालिसकेका छन् ।

देउवा पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका छन् । सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए । त्यसपछि उनी गत असार २९ गतेयता सरकारको नेतृत्वमा छन् । सर्वाेच्च अदालतले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गदै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि देउवालाई पाँचौ. पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली-दलित-महिला-जनजाति-मधेस (कदमजम) को अवधारणा ल्याएका थिए ।

त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस ९प्रजातान्त्रिक०का उनी सभापति भएका थिए । विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी काग्रेसको वरिष्ठ नेता भएका थिए ।

त्यसपछि फेरि उनले कांग्रेससँगै पार्टी एकता गरेका थिए । विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उनले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । १४ औं मा भने उनले शेखर कोइरालालाई पराजित गरेर सभापति बनेका हुन् ।

सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त संघठनको अन्तरराष्ट्रिय उपाध्यक्ष भएका थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका थिए ।

प्रतिक्रिया