आइतबार, जेठ १८, २०८२

भारत गएका श्रमिक भन्छन् : देशमै राम्रो ज्याला पाइँदो रहेछ

मेरोन्यूज २०७८ पुष ३ गते ९:११

काठमाडौँ । जाजरकोटको बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार (भारत) गएका थिए । श्रीमान्, श्रीमती, छोराछोरी कालापारमा राम्रो कमाई हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ, गाउँमा ।

कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताए । रातदिन काम गर्दासमेत राम्रो कमाई हुन नसकेको उनको भनाइ छ । “दिनमा भारु ३५० ज्याला पाउँथ्यौँ, अहिले नेपालमा काम गर्ने हो भने झण्डै ८०० भन्दा बढी ज्याला पाइँदो रहेछ”, उनले भने ।

सात वर्ष भारतीय भूमिमा बस्नुभन्दा नेपालमै काम गर्न लागेको भए हुँदो रहेछ भन्ने अनुभूति अहिले भएको उनले सुनाए । नेपाल फर्केपछि अहिले छोरीका छोराछोरी र छोरी ज्वाइले दुःख सुखमा साथ दिएका छन्, उनलाई ।

भारतमा काम गरेर फर्के पनि न त उनको जिन्दगी फेरियो न त राम्रो कमाई गरी पैसा नै बचत हुन सक्यो । आजभोलि जसोतसो गाउँघरतिरै जिन्दगी गुजारिरहेको भेटिन्छन्, उनी ।

सोही गाउँका नरबहादुर विकले भारतमा २८ वर्ष बिताए । उनी आउँदा रित्तै । भाइ बुहारीको घरमा फर्किए । न कमाइ भयो । न उमेर रह्यो । भारतीय भूमिमा उर्जाशील समय बिते पनि केही रकम जोहो गर्न नसकेको उनको गुनासो थियो ।

उनीहरु जस्तै भारतबाट फर्केका जिल्लाका अधिकांशको वास्तविक पीडा हो, यो । गाउँका ठेकेदारले कमाई राम्रो हुन्छ भनेको भरमा कालापार जानेहरु कमाई राम्रो नभई रित्तै फर्किने गरेको यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् ।

बारेकोट गाउँपालिका–२ का रतनबहादुर नेपाली आजभन्दा तीन वर्ष पहिले छोराछोरीसहित भारत गएका थिए । कालापारमा कमाइ गर्न गएका उनको परिवार पाल्न समस्या भएपछि नेपाल फर्किए । अहिले आफ्नै बारीमा खेतीपाती गर्दै परिवार पाल्ने मात्र होइन तीन छोराहरुलाई पढाउँदै छन् ।

“भारतमा काम गर्दै गरेको भए अहिले परिवार पाल्न निकै समस्या हुने रहेछ, नेपाल फर्केर काम गरेपछि अहिले छोराछोरीलाई पढाउन सजिलो भएको छ,’ उनले भने । ऊर्जाशील उमेर भारत गएर कमाउने नाममा सकिने उनको अनुभव छ । उमेर ढल्केपछि घर आउँदा निकै समस्या हुने गरेको उनले बताए ।

अर्कातिर भारतीय भूमिमा गएका कतिपय युवा भने कुलतमा परेर नेपाल फर्कन्छन् । गाउँबाट भारत कमाउन गएकामध्ये कतिपय कुलतमा फसेका जनता आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले बताए । अभिभावकविहीन हुनु र भनेको जति कमाइ नभएपछि कुलतमा फस्ने गरेको पीडित बताउँछन्, उनी ।

आफूसँगका साथीहरु, पढाई लेखाई गरेर जागिरे जिन्दगी बिताउँछन् आफू भने बिना कामको भएपछि थप पीडा हुने गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया