मंगलबार, वैशाख १६, २०८२

माओवादीका ६ केन्द्रीय नेता राष्ट्रिय सम्मेलनबाट होलान् विदा ?

अन्तरिम पार्टी विधान हुवहु राष्ट्रिय सम्मेलनबाट कार्यान्वयनमा आए अहिले केन्द्रीय समितिमा रहेका ६ माओवादी नेता स्वतः विदाई हुनेछन्

रामकृष्ण अधिकारी । काठमाडौं २०७८ पुष ६ गते १६:२८

माओवादी केन्द्रको अन्तरिम विधान राष्ट्रिय सम्मेलनले हुवहु पारित गरे अहिले केन्द्रीय समितिमा रहेका ६ नेता केन्द्रीय समितिबाट विदा हुनुपर्नेछ । तर ६ जना नेता वाहेक अन्य सवै नेता केन्द्रीय समितिमै रहेपनि थप नयाँ १२६ नेताले राष्ट्रिय सम्मेलनपछि माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रवेश पाउनेछन् ।

केन्द्रीय समितिमै दलित, मुस्लिम र महिला देखि ४० वर्ष भन्दा कम उमेर समुहका युवा नेताहरुको पनि उल्लेख्य मात्रामा प्रतिनिधित्व हुने ब्यवस्था माओवादीको अन्तरिम विधानमा छ ।

माओवादीको राष्ट्रिय सम्मेलन डिसेम्बर २६ अर्थात् ११ पुस चिनियाँ सर्वाेच्च नेता माओ त्सेतुङको जन्मदिनका अवसर पारेर काठमाडौंको प्रज्ञा भवनमा शुरु हुँदैछ ।

तीन दिन सम्म चल्ने सम्मेलनले माओवादीको अवको राजनीतिक कार्यक्रम, त्यसलाई कार्यान्वयन गरेर लैजाने नयाँ नेतृत्व चयन गर्नेछ ।

यो सम्मेलनवाट पनि २४ वर्ष वढी समयदेखि पार्टी नेतृत्वमा रहेका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई चुनौति दिईहाल्ने र उनको विकल्पमा तयार भईहाल्ने नेता माओवादीमा जन्मिसकेको छैन । अहिले पनि माओवादीमा प्रचण्ड नै सर्वस्वीकार्य नेता हुन् ।

तर त्यसवाहेकका पदाधिकारीमा भने आकाक्षी नेताहरुको भीड छ । सवैभन्दा वढी केन्द्रीय समितिमा पर्नका लागि नेताहरुको भित्री दौडधुप शुरु भईसकेको छ ।

पदाधिकारीका अन्य पदमा भन्दा पनि महासचिवमा को आउँलान् ? धेरै माओवादी नेताहरुको चासो देखिन्छ । अध्यक्षपछिको कार्यकारी महासचिवमा कृष्णवहादुर महरा, वर्षमान पुन, जर्नादन शर्मा, देव गुरुङ, पम्फा भुसाल लगायत नेताहरुको चर्चा छ ।

यस्तो छ अहिलेको केन्द्रीय समिति आँकडा

माओवादी केन्द्रको केन्द्रीय समितिमा अहिले १७९ जना केन्द्रीय सदस्य छन् । प्रदेश १ वाट २२ जना, प्रदेश २ वाट २६ मा (एक जना महादेव यादवका निधनपछि) २५ जना, वागमती प्रदेशबाट ४२ जना, लुम्बिनीका ३६ जना, कर्णालीका १६ र सुदुरपश्चिमका १३ जना गरी कुल केन्द्रीय समिति १७९ जना छन् ।

यो केन्द्रीय समिति माओवादीले तत्कालिन एमाले र माओवादी एकतापछि बनेको नेकपावाट फेरि माओवादीमै फर्किदा नेकपाको तत्कालिन केन्द्रीय समितिमा रहेकाहरुको मात्रै संख्या हो । उसले त्यसवेला केन्द्रीय समितिमा रहेकोका मात्र केन्द्रीय समिति कायम गरेको थियो ।

यो संख्यामा समावेशीताका आधारमा हेर्दा दलित ७ जना छन । महेन्द्र पासवान, अन्जना विसंखे, महेश्वर गहतराज (अथक), सुशिला श्रीपाइली ठकुरी, दलजित विके श्रीपाइली, परशुराम रम्तेल र गोपीवहादुर सार्की अछामी । जसमध्ये २ जना महिला र ५ जना पुरुष । मुश्लिम एक जना हकिकुल्लाह मुसलमान मात्रै छन् ।

त्यसपछि अन्य १७१ जना खस-आर्य, जनजाति , थारु मधेसी लगायतका समुहका छन् ।

१७१ भित्र पनि ३२ जना महिला केन्द्रीय समितिमा छन् । युवा महिला ३ जना र युवा ५ जना समेत गर्दा केन्द्रीय कमिटिमा जम्मा खुल्लामा १३१ जना अहिले छन् ।

सवैभन्दा जेठा र कान्छा

मओवादी केन्द्रको अहिलेको केन्द्रीय कमिटिमा सवैभन्दा जेठा दीनानाथ शर्मा, गणेश साह र रामकुमार यादव छन् । उनीहरुका समान उमेर छ – ७५/७६ वर्ष ।

एमालेमा जस्तो ७० वर्षे उमेरहद माओवादी केन्द्रमा लागेको भए यी नेताहरु स्वतः केन्द्रीय समितिबाट विदाई भईसक्थे । तर माओवादीमा उमेर हदको विधान छैन । उसले पौढ, वयस्क र युवा तीन तहको समिश्रणकै आधारमा कमिटि चयन गर्नुपर्ने बताउँदै आएको छ ।

उमेर पाकाहरुको संगठनात्मक अनुभव, युवाहरुको नयाँ जोशका आधारमा पार्टी संरचनालाई क्रियाशिल र चलायमान बनाउनुपर्ने माओवादीको संगठनात्मक नीति देखिन्छ ।

त्यसआधारमा माओवादीले अन्तरिम विधानमै युवाहरुलाई २० प्रतिशत अव केन्द्रीय समितिमै ल्याउने गरी सिट सुरक्षीत गर्न खोजेको छ । त्यसका लागि ४० वर्ष उमेर नकटेका युवा नेताहरुलाई केन्द्रीय कमिटिमा उसले ल्याउन चाहेको छ ।

अहिलेको केन्द्रीय समितिमा विना मगर र हेमकुमार राई माओवादीका सवैभन्दा कम उमेर समुहका केन्द्रीय सदस्य हुन् । उनीहरु दुवैको उमेर समुह ३९ वर्ष छ । त्यसपछि इन्द्र आङवो (मौसम) दुर्गाप्रसाद चापागाई, युवराज दुलाल ४० वर्ष उमेर समुहका छन् ।

त्यस्तै त्यसभन्दा अलिक जेठामा युवराज भट्टराई, माधव सापकोटा, रेनु चन्द ४२ वर्ष उमेर समुहका छन् । झकवहादुर मल्ल, इन्द्रजीत थारु, रामकुमारी चौधरी, ज्ञानु वस्नेत, विमला सुवेदी, देवी खड्का, कुमारी मोक्तान ४३ वर्ष उमेर समुहका छन् । त्यसवाट माथिल्लो उमेर समुहमा धेरै नेताहरुको लामै चाङ छ ।

राष्ट्रिय सम्मेलनपछि अव कस्तो ?

अन्तरिम विधानले महिला, दलित, मुश्लिम र युवाहरुलाई निश्चित प्रतिशत नै कोटा राखेर पार्टीको संगठनात्मक संरचना निर्माण गर्ने ब्यवस्था माओवादीले गरेको छ । कुल २९९ सदस्यीय केन्द्रीय कमिटि बनाउने गरी प्रस्तावित माओवादी केन्द्रको अन्तरिम बिधान २०७८ को धारा १६(४ क) र धारा ३८(१-८) अनुसार महिला ३५%, युवा २०%, दलित १५%, मुस्लिम ५% हुने गरि संख्या उल्लेख गरिएको छ ।


त्यस्तै, अन्तरिम बिधान २०७८ को धारा ३८(९) मा पार्टी समितिहरुमा स्थानीय विशेषता अनुरुप गरिबीको रेखामुनि रहेको वर्ग, महिला, दलित , मुस्लिम, मधेसी , आदिवासी जनजाति , थारू र अपाङ्गता भएका व्याक्तिहरुको यथासम्भव समावेशी प्रतिनिधित्व हुने र धारा ३८(१०) मा समावेशीताको आधार सामान्यतया सम्बन्धित वर्ग वा समुदायको जनसंख्यालाई बनाइने उल्लेख छ ।

यो आधारमा अव राष्ट्रिय सम्मेलनपछि माओवादीको बन्ने केन्द्रीय समितिमा दलित ४५ जना हुनेछन् । त्यसमध्ये पनि महिला १३ जना, युवा महिला ३ जना, युवा ६ जना र खुल्ला २३ जना हुनेछन् ।

त्यस्तै, मुस्लिम १५ जना केन्द्रीय समितिमा आउनेछन् । जसमध्ये महिला ४ जना, युवा महिला १ जना, युवा २ जना र खुल्ला ८ जना मुश्लिमले केन्द्रीय समितिमा प्रतिनिधित्व पाउनेछन् ।

त्यसपछिको २३९ जना अन्यबाट आउनेछन् । जसमध्येवाट पनि महिला ६७ जना, युवा महिला १७ जना र युवा ३१ जना केन्द्रीय कमिटिमा आउनेछन् । त्यसो गर्दा खुल्लाका लागि वाँकी भनेकै १२४ जना मात्रै रहनेछ सिट संख्या । यसैमा खस आर्य, मधेसी, थारु, आदीवासी जनजाति, अपांङगता भएका ब्यक्तिहरु सवै खुल्लाका रुपमा रह्नेछन् ।

यो हिसावले हेर्दा अहिले विधमान रहेको माओवादीका १७९ जनाको केन्द्रीय समितिमा दलित, महिला, मुश्लिम, युवाहरु सवै छोडेर पनि अन्य १३१ जना केन्द्रीय समिति सदस्य हुनेछन्।

यसरी खुल्ला तर्फ रहेका १३१ जनावाट सवै दोहोरिन चाहेपनि अन्तरिम विधानको ब्यवस्थाले सुनिश्चित गरेको सिट संख्या १२४ जनामा सवैलाई समेटन सकिने देखिदैन । यसो हुँदा ६ जनाले स्वतः केन्द्रीय समितिबाट विदाई हुनुपर्ने अवस्था देखिएको छ । अन्य कुनै वैकल्पिक बाटो अवलम्बन नगरे ६ जनाको विदाई नै हुने माओवादीको अहिलेको अन्तरिम विधानको ब्यवस्थाले देखाँउछ । तर त्यसरी विदाई हुँदा को पर्लान् ? त्यो भने उसको राष्ट्रिय सम्मेलनसम्मै प्रतिक्षा गर्नुपर्ने छ ।

प्रतिक्रिया