मंगलबार, पुष १, २०८२

माओवादीको राष्ट्रिय सम्मेलन

बौरिएला त फेरि माओवादी ?

शित्तल शर्मा २०७८ पुष ९ गते १८:३९

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आइतबारवाट काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनमा झण्डै १६ सय प्रतिनिधी सहभागी हुने र प्रतिनिधीले काठमाडौंमा रहँदा खान बस्नको प्रवन्ध आफैले गर्नुपर्ने नियम माओवादीले बनाएको छ ।

प्रतिनिधीहरुलाई सहभागिताको शुल्क २ हजार उल्टो पार्टीले लिने गरी प्रवेश शुल्क माओवादीले तोकेको छ ।

यो नियम वनाईराख्दा माओवादीको स्थायी समिति बैठकमा नेताहरुले प्रश्न उठाएका थिए – ‘कांग्रेस, एमालेले जनप्रर्दशनसहित पार्टीका महाधिवेशन गरेका बेला हामी किन तामझाम नगरी प्रतिनिधीमात्र बोलाएर सम्मेलन गर्ने रु अझ प्रतिनिधी पनि किन १५, १६ सय मात्र सहभागी बनाउने ?’

अन्य पार्टीका वृहत तामझामसहित महाधिवेशन भएकै बेला जनसहभागिता बिनाका सम्मेलन अलि खल्लो त हुँदैन ? अध्यक्ष प्रचण्डसँग स्थायी समिति बैठकमा नेताहरुले प्रश्न गरेका थिए । तर प्रचण्डले त्यसतर्फ कुनै चासो र चिन्ता देखाएनन ।

एक स्थायी समिति सदस्यका अनुसार, प्रचण्डले सम्मेलन विचारमा केन्द्रीत गर्नुपर्ने भन्द तामझाम भन्दा गुणतत्व निर्माण गर्नतिर लाग्नुपर्ने बताएका थिए ।

सकभर सानो सहभागिता तर प्रतिनिधिमुलक, दस्तावेजमा मिहिन अध्ययन गर्ने र छलफलमा भाग लिने गरी सम्मेलनले क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणमा केन्द्रीत गर्नुपर्ने बताएपछि नेताहरु प्रचण्डको मतसँग कन्भिन्स भएका थिए । आठ लाख सदस्य भएको पार्टीले चार लाखलाई उपस्थित हुन उर्दी जारी गर्योख भने मात्र पनि अरूका भन्दा ठूला मेला र भेला गर्न सकिने भन्दै प्रचण्डले पार्टी नेताहरुलाई अहिले विचारमै केन्द्रित सम्मेलन बनाउनु पर्ने वताएपछि माओवादी तामझामरहित सम्मेलन गर्ने निश्कर्षमा पुगेको ती स्थायी समिति सदस्यले मेरोन्यूजसँग भने ।

१६ सयलाई २५ समुह बनाइँदै


अध्यक्ष प्रचण्डले राष्टिय सम्मेलनमा पेश गर्ने गरी नयाँ दस्तावेज तयार पारेका छन् । झण्डै सय पृष्ठको यो दस्तावेजमा शुक्रवार पार्टीको स्थायी समिति सदस्यहरुका वीचमा छलफलमा ल्याइएको छ । अव राष्टिय सम्मेलनमा देशभरवाट प्रतिनिधिमूलक रुपमा सहभागी हुने १६ सय प्रतिनिधिलाई दस्तावेजमाथी छलफल गर्नका लागि २५ ओटा समुहमा विभाजन गर्ने तयारी माओवादीको छ ।

ब्यवस्थापनमा खटिएका नेता हितमान शाक्यका अनुसार, राष्टिय सम्मेलनका प्रतिनिधीहरुका वीचमा अध्यक्ष प्रचण्डको दस्तावेजमाथी छलफल गर्न प्रज्ञा भवनका सवै ठाँउ वुकिङ गरिएको छ । त्यहाँ छलफल गर्न ठाँउ नपुग्ने समुहलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा पनि छलफलका लागि ठाँउ ब्यवस्थापन गरिएको छ ।

प्रचण्डले यो सम्मेलनवाट पार्टीको विचारधारात्मक राजनीतिमा नयाँ क्रमभंगता हुने बताउँदै आएका छन् । त्यसको संकेत प्रचण्डले पार्टीको प्रदेश सम्मेलन उदघाटनका क्रममा पनि गरेका थिए । प्रचण्डले भनेका थिए,-‘हामीले निरन्तरतामा क्रम भंगता भन्दै आएका थियौं। अब हामी अर्को क्रमभंगताको चरणमा प्रवेश गर्दैछौं। यो जानकारी चाहिँ म तपाईंहरूलाई गराउन चाहन्छु। यही निरन्तरताले हुँदैन। त्यसकारण पहिलो क्रमभंगता विचारबाटै हुनुपर्यो ।’

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनले अबको कार्यदिशाबारे पार्टी अध्यक्ष प्रचण्डले लेखेको राजनीतिक प्रतिवेदनमाथि छलफल र अनुमोदन गर्ने, त्यसपछि अन्तरिम विधान २०७८ अनुमोदन गर्ने र विधानअनुसार केन्द्रीय नेतृत्व चयन गर्ने काम गर्नेछ ।

यस्ता भए शान्ति प्रक्रिया यता माओवादीको भेला सम्मेलन

१० बर्षे जनयुद्द गरेर शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादी एकपटक चुनावी परिणामवाट पनि सवैभन्दा ठूलो दल बनेको थियो । तर त्यसपछिका कतिपय आफ्नै कमी कमजोरीका कारण टुटफुटको श्रृंखला पनि माओवादीले ब्यहोरेको छ ।

छिन्नभिन्न भएको माओवादीले अहिले शान्तिप्रक्रिया यता पार्टीको समग्र अवस्थाका वारेमा समिक्षा गर्ने जनाएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने उद्देयले राष्ट्रिय सम्मेलनमा विगतका कमीकमजोरी र उपलब्धि दुवैको समीक्षा हुने बताए । ‘हाम्रो सम्मेलन विचार, सिद्धान्तको बहसमा केन्द्रित हुन्छ । राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति, हाम्रो विकासको चरण, अब हामी जाने बाटोमा केन्द्रित भएर सम्मेलनमा हामी छलफल गछौं । राष्ट्रिय सम्मेलनमा संविधान निर्माणपछि विकसित राजनीति र समाजको आवश्यकतालाई सम्बोधन गर्ने गरी नयाँ कार्यदिशा बनाउन हामी लाग्छौं, प्रवक्ता महराले मेरोन्यूजसँगको कुराकानीका क्रममा भने ।

हुन त माओवादी शान्ति प्रक्रियामा आएपछि पनि यस्ता ठूला ठूला भेला, सम्मेलन र महाधिवेशन नगररेको होइन । तर यसपटकको सम्मेलनलाई उसले अलिक विचारमा क्रमभंगता हुने रुपमा अथ्र्याईरहेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलो पटक बालाजुको औधोगिक क्षेत्रमा पार्टीको पाचौं विस्तारित वैठक आयोजना गरेको थियो । उक्त वैठकमा करिव ८ सय प्रतिनिधी सहभागी भएका थिए ।

१६ देखि २० साउन ०६४ मा बालाजुमा सम्पन्न पाँचाँ विस्तारिक बैठक आयोजना भईरहदा माओवादी अन्तरिम सरकारमा सहभागी थियो । तर त्यसवेला सरकारमा रहेका मन्त्रीहरुको प्रभावकारिताको विषय पनि वैठकमा प्रश्न उठेको थियो । मुखमा निर्वाचन र ब्यवहारमा क्रान्तिको तयारी गर्ने भन्द्यै माओवादी नेताहरुले उक्त विस्तारित बैठकमा निक्कै छलफल गरे । अन्तरिम सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा निकै तीव्र बहस चलेको थियो । तर त्यहाँ देखि फाटन खोजेको मन कामीडाँडा बैठकसम्म आउँदा भने संविधानसभा निर्वाचनमा जाने र प्रचण्डलाई भावी नेपालको राष्ट्रपति बनाउने निर्णय गर्दै सम्पन्न भएको थियो ।त्यसपछि संविधानसभाको चुनाव भयो । माओवादीले प्रत्यक्षमा १२० स्थानमा जित्यो । समानुपाितक सहित २२० सांसद माओवादीकै थियो ।

तर पार्टीभित्र तिव्र अन्तरविरोध देखा पर्न थाल्यो । त्यसपछि ५-११ मंसिर ०६५ मा माओवादीले भक्तपुरको खरिपाटीमा छैटौं विस्तारित बैठक आयोजना गरयो ।

पहिलो पटक प्रचण्डलाई चुनौति दिदै मोहन वैध (किरण)ले पार्टीमा छुटटै दस्तावेज ल्याए । प्रचण्डले ‘नयाँ वैचारिक एकरूपता र संगठनात्मक एकता हासिल गर्न एकजुट होऔँ, प्राप्त उपलब्धिको रक्षा गर्दै नयाँ विजय हासिल गर्न दृढतापूर्वक अघि बढौँ’ शीर्षकमा राजनीतिक तथा संगठनात्मक प्रस्ताव खरिपार्टी बैठकमा ल्याए । तर उनलाई मोहन वैध किरणले चुनौति दिए । तात्कालिन वरिष्ठ नेता मोहन वैद्य किरणले ‘पार्टीलाई नयाँ आधारमा एकताबद्ध तुल्याउँदै क्रान्तिकारी कार्यदिशा र कार्यनीतिको विकास गरौँ’ शीर्षकमा राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।

‘पार्टी सरकारमा छ, जनमत बलियो छ, आफ्नो सेना पनि छ, त्यसैले जनविद्रोहका लागि उपयुक्त समय भएको निश्कर्ष मोहन वैद्य किरणको थियो । तर, ‘जनताले संविधान लेख्ने जिम्मेवारी दिएकोले जनपक्षीय संविधान नलेखी फेरि क्रान्तिको कुरा गर्नु जनतमाथि धोका हुने र त्यो बेमौसमको बाजाजस्तो हुने प्रचण्डको भनाई थियो ।

खरिपार्टी विस्तारित वैठक माओवादीको आन्तरिक जीवनमा निक्कै पेचिलो बन्यो ।

त्यो भेलामा प्रचण्ड झन्डै-झन्डै अल्पमतमा परे । तत्कालिन अवस्थाको माओवादीको ३५ सदस्यीय केन्द्रीय समितिमा दुवैतिर १७, १७ जना खुले । अहिले एमाले पुगेका रामवहादुर थापा (बादल) वीचमा वसेर तटस्थ वसिदिए । त्यसपछि भने आफ्नो पक्षमा बहुमत पुर्याउन हतार-हतार प्रचण्डले २९ पुस ०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रसँग एकता गरेको आरोप अझै पनि वैध माओवादीका नेताहरुले लगाउने गरेका छन् । खरिपार्टी विस्तारित बैठकमा १२ सय प्रतिनिधी सहभागी भएका थिए ।

खरिपार्टी विस्तारित बैठकपछि र नारायणकाजी श्रेष्ठहरुसँगको पार्टी एकतापछि मात्रिका यादवले पार्टी छोडे । पार्टीभित्र दुई धारको विवाद मिलेको थिएन । ०६७ मंसिरमा गोरखाको पालुङटारमा सातौं विस्तारित वैठक माओवादीले बोलायो । पालुङटार विस्तारित बैठकमा झण्डै १८ सय प्रतिनिधी सहभागी थिए ।प्रचण्डको दस्तावेजमाथी मोहन वैध किरण, वावुराम भटटराई सम्मका गरी ३ ओटा दस्तावेज सागै आए । त्यसपछि भने माओवादी छिन्नभिन्न हुन थाल्यो । मोहन वैधहरुले पार्टी विभाजन गरे । त्यसलगत्तै पार्टीमा आएको विभाजनका बारेमा छलफल गर्न माओवादीले काठमाडौंको भृकुटीमण्डपमा २०६९ साउनमा विस्तारित बैठक बोलायो माओवादीले ।

११ सय प्रतिनिधी सहभागी भएको उक्त भेलामा शिविर भित्रको आर्थिक विषय र पार्टी नेताहरुको रहनसहनका विषयमा छानविन गर्न समिति नै बनाउनु पर्ने अवस्था माओवादीमा आयो । त्यसपछि पनि माओवादीभित्रको रडाँको साम्य भएन । पहिलो संविधानसभावाट संविधान निर्माण हुन सकेन । दोस्रो संविधानसभामा माओवादी नराम्ररी पराजित हुन पुग्यो । २०६९ माघमा माओवादीले हेटौंडामा सातौं महाधिवेशन पार्टीको आयोजना गरेको थियो । उक्त महाधिवेशनमा झण्डै ३५ सय प्रतिनिधी पर्यवेक्षक सहभागी भए ।

महाधिवेशनले प्रचण्डलाई नै अध्यक्ष बनाएको थियो । त्यसपछि २०७१ सालमा पुनः विराटनगरमा माओवादीले रष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा १२ सय जति प्रतिनिधी सहभागी थिए । तर उक्त सम्मेलन पार्टीका बरिष्ठ नेता वावुरमा भटटराईले वहिष्कार गरेका थिए । अन्तत बाबुरामले पनि २०७२ असोज ३ मा संविधान जारी भएपछि त्यसको ६ दिन पछि अर्थात असोज ९ मा पार्टी परित्याग गरे ।

माओवादीमा एकपछि अर्काेरुपमा आएको विभाजन रोकिएन । पार्टी छिन्नभिन्न भई नै रहयो । तर २०७३ मा भने पहिले टुक्रिएर अन्यत्र पुगेका नेताहरु फेरि माओवादी मै गोलवद्ध हुन थाले । १० माओवादी घटका वीचमा फेरि एकता भयो । अनि माओवादी केन्द्र बन्यो । त्यसपछि नेकपा एमालेसँग चुनावी गठवन्धन देखि पार्टी एकता र फेरि सर्वाेच्च्को आदेशपछि पूरानै अवस्थामा माओवादी फर्किएको छ ।

यो अवस्थामा अहिले माओवादीले पार्टीको राष्टिय सम्मेलन आयोजना गर्न लागेको हो । यसपटक अस्तब्यस्त बनेको पार्टीको संगठनलाई एउटा ट्याकमा ल्याएर उसले पहिलो पटक वडा देखि नै सम्मेलन आयोजना गरेर पार्टीको राष्टिय सम्मेलन आयोजना गर्न लागेको छ ।

यस अर्थमा पनि माओवादीले समग्र पार्टीको समिक्षा गर्ने योजना यो सम्मेलनमा गदैछ ।

माओवादी केन्द्रले यो पटक वैचारिक राजनीतिक रुपमा मात्र होइन, संगठनात्मक रुपमा पनि नयाँ नेतृत्व विकासको नयाँ मोडेल स्थापित गर्न खोजेको छ । जस्तोकी केन्द्रीय कमिटिमा १५ प्रतिशत दलित, ५ प्रतिशत मुश्लिम, ३५ प्रतिशत महिला र २० प्रतिशत युवालाई समेटने योजना बनाएको छ । यसभित्र प्रचण्डले जनयुद्दकालकै जस्तो रणनीतिक अर्थका साथ नयाँ संगठनात्मक विधि तय गर्न खोजेको वुझाईमा माओवादीका कतिपय नेता कार्यकर्ता छन् ।

०६८ सालको जनगणनाका आधारमा हेर्दा, १३ प्रतिशत जनसंख्या रहेको दलितवाट केन्द्रीय कमिटिमा ४५ नेता, झण्डै ५ प्रतिशत हाराहारी रहेका मुश्लिमवाट केन्द्रीय कमिटिमा १५ नेता समेटने् योजनामा प्रचण्ड छन् । त्यस्तै झण्डै १०१ जना महिला र झण्डै ६० जना युवाहरुलाई माओवादीले केन्द्रीय कमिटिमा सम्मेलन पछि ल्याउन खोजेको छ । यसो गर्दा दलित, मुश्लिम, महिला र युवाहरुलाई तार्गेट बनाएर माओवादीले संगठनात्मक रुपमा पनि नयाँ ढंगले योजना बनाउन लागेको माओवादी नेताहरुको भनाई छ । यसले पार्टीको संगठनलाई एउटा संगठनात्मक आधार बनाउने वुझाईमा माओवादी देखिन्छ ।

एजेण्डागत रुपमा अझै पनि राजनीति माओवादीकै पेरिफेरि घुमेको छ । प्रचण्ड त्यसका निर्णायक छन् । तर पार्टी कमजोर बनेको छ । कमजोर बनेको पार्टीलाई फेरि प्रचण्डले नयाँ ढंगले कसरी संगठित गर्छन् ? उनले आफैले भनेको विचारको क्रमभंगता कसरी गर्छन् ? अहिले माओवादी पंक्तिले फेरि माओवादी वौरिएला या के होला ? भन्नेमा चासोका साथ राष्टिय सम्मेलन पर्खेर बसेका छन् ।

प्रतिक्रिया