शनिबार, वैशाख १२, २०८३

माओवादी महाधिवेशन विशेष

नारायणकाजी आउँदा प्रचण्डपथ, ओलीसँग आउँदा माओवादको अवसान

मेरोन्यूज २०७८ पुष १२ गते २१:५५

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनबाट रुपान्तरित आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी रहेको छ । शनिवारसम्म पार्टीको राष्ट्रिय सम्मेलन भनिएको थियो ।

वि.सं. २००६ सालमा स्थापना भएर चौंथो महाधिवेशनसम्म आइपुग्दा नेपाल कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको थियो ।

२०३६ सालको जनमत संग्रहमा भाग लिने कि नलिने भन्न विषयमा विवाद हुँदा निर्मल लामाले नेकपा (चौथो महाधिवेशन) चौम गठन गरेका थिए ।

मोहनविक्रम सिंहको नेकपा (मसाल) बाट पाँचौं महाधिवेशनमा आइपुग्दा मोहन वैद्य र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर नेकपा (मशाल) बनाएका थिए ।

वैद्य महामन्त्री रहेको मशालको नेतृत्व २०४५ सालमा प्रचण्डको हातमा आयो । ०४६ सालको जनआन्दोलनपछि प्रचण्ड वैद्यको मशाल, निमल लामाको नेकपा (चौम), रुपलाल विश्वकर्माको सर्वहारा श्रमिक संगठनबीच एकता भई नेकपा (एकता केन्द्र) बनेको थियो ।

त्यही एकता केन्द्रको २०४८ मंसिरमा चितवनमा सम्पन्न छैटौं महाधिवेशनले माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित गर्दै जनयुद्धको तयारीमा लागे ।

प्रचण्ड, वैद्यहरुले जनयुद्धको कार्यदिशा पारित गरेपछि निर्मल लामा, नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, अमिक शेरचनहरु पुनः विभाजित भए ।

माओवादी सशस्त्र संघर्ष हाँक्दै अघि बढेको तत्कालिन नेकपा (माओवादी)ले २०५७ सालमा माक्र्सवाद, लेनिनवाद र माओवादसँगै प्रचण्डपथको अवधारणा अघि सार्यो ।

जब शान्ति प्रक्रियामा आएर पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भई २०६५ पुस २९ गते नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र माओवादीमा समाहित हुँदा प्रचण्डपथको अवसान भयो ।

वि.सं. २०६९ मा हेटौंडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट माओवादीले शान्ति र संविधानको पक्षमा निर्णय गर्दै नयाँ जनवादी क्रान्ति पूरा गर्दै समाजवादी यात्रामा जाने राजनीतिक कार्यदिशा पारित गरेको थियो । जतिबेला वैद्य–विप्लवहरु प्रचण्डबाट अलग भइसकेका थिए ।

शान्ति र संविधानको पक्षमा आएर संसदीय अभ्यासमा अभ्यस्त हुँदै गरेको प्रचण्ड नेतृत्वको पार्टी एकीकृत माओवादी हुँदै नेकपा (माओवादी केन्द्र) बन्यो ।

संसदीय ब्यवस्थामा कम्युनिस्ट पार्टीहरुबीचको एकतालाई जोड दिँदै गएको माओवादी केन्द्र २०७५ जेठ ३ गते नेकपा (एमाले)सँग एकता गरी नेकपा बनेको थियो । शान्ति प्रक्रिया हुँदै एमाले एकतासम्म आइपुग्दा माओवादको पथप्रदर्शन सिद्धान्त विलिन हुन पुग्यो ।

एमालेसँग एकता गरेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समाजवाद उन्मुख जनताको जनवादलाई राजनीतिक कार्यक्रम मान्यो ।

Advertisement
NiccNicc

सर्वोच्च अदालतले फागुन २३ गते ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै एमाले र माओवादी केन्द्र बिउँताइदिए लगत्तै बिना कुनै हिच्किचाहट र बिना कुनै निर्णय माओवादीले फेरि मालेमावादको पथप्रदर्शक सिद्धान्तलाई अंगिकार गर्यो । माओवादी ब्यानरहरुमा मालेमावाद जिन्दावाद लिखिन थाल्यो ।

जब २०७५ जेठ ३ गते एमालेसँग एकता घोषणासभामा माक्र्स, लेनिन, स्टालिनजस्ता विश्व कम्युनिस्ट नेताहरुको तस्विरसमेत थिएन ।
आइतबारदेखि नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि भन्दै माओवादी केन्द्र आठौं महाधिवेशनको छलफलमा जुटिरहेको छ ।

बन्द सत्रमा अध्यक्ष ‘प्रचण्ड’ले ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गरेका छन् ।

दस्तावेजमा प्रचण्डले साँस्कृतिक विचलनकै कारण पार्टीको गति रोकिएको चीनको सांस्कृतिक क्रान्तिको नक्कल गर्दै सांस्कृतिक क्रान्तिको कुरा अघि सारेका छन् । पुस १५ गतेसम्म चल्ने महाधिवेशनले कस्तो कार्यदिशा अघि सार्ला हेर्न बाँकी नै छ ।

प्रतिक्रिया