माओवादी महाधिवेशन
प्रचण्डका ‘उत्तराधिकारी’ बन्लान् कुन नेता ?
अध्यक्षपछिको कार्याकारी पद महासचिवमा वर्षमान, पम्फा र जर्नादनवीचको ‘टसल’ नमिले विकल्पका रुपमा महरा र देव गुरुङसम्म आउन सक्ने चर्चा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टी महाधिवेशनका सन्दर्भमा माओवादी वृत्त वाहिरवाट सामना गर्नुपरेको सवैभन्दा पेचिलो प्रश्न हो – अव नेतृत्व हस्तान्तरण कहिले गर्ने ? कसलाई गर्ने ?
३२ वर्षदेखि पार्टी नेतृत्व गदै आएका प्रचण्ड माओवादीमा अहिले पनि निर्विकल्प नेता हुन् । उनकै नेतृत्वको माओवादी आज पनि नेता–कार्यकर्ताले खोजेका छन् । वाहिरीवृत्तले विकल्प खोजेर हुने विषय होइन ।
जनयुद्धका सारथीहरु मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्दहरु सवै-सवै वाहिर छन, टाकुरामा उभिएको सल्लाको रूख जस्तो प्रचण्ड एक्लो मात्रै देखिएको’ भन्दै प्रचण्डमाथी अनेक प्रश्न सञ्चारमाध्यमहरुले नउठाएका होइनन ।
तर ती प्रश्नहरुको जवाफ प्रचण्डसँग ‘रेडिमेड’ जस्तै थिए ।
‘माओवादी केन्द्रमा उत्तराधिकारी तयार नै भएन भन्ने होइन । अहिले एकसे एक युवा नेता टिममा छन् । तुरुन्तै अथोरिटी प्रचण्डको तहको भइनहाल्न सक्छ । तर कमिटी प्रणालीमार्फत नेता आइहाल्छन् र पार्टी चल्छ ।’
प्रचण्डको यो संकेत हो, उनको पार्टीमा उनलाई साथ दिने युवा नेताहरु अहिले उनीपछिको उत्तराधिकारी हुने गरी आफै विचार, राजनीति र संगठनको आधारशिला खडा गदैछन् ।
प्रचण्ड पछि पार्टी नै हाक्ने गरी तयार हुँदै गरेका त्यसमध्येका अग्रपंक्तिका नेताहरु हुन्- वर्षमान पुन (अनन्त), पम्फा भुसाल (विधुत)र जर्नादन शर्मा (प्रभाकर) । यी तीन प्रभावशाली नेतावाहेक पनि नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, देव गुरुङ, शक्ति बस्नेत, मात्रिका यादव, देवेन्द्र पौडेल देखि हितमान शाक्य सम्मका नेताहरुको एकसे एक चाङ छन् माओवादीभित्र ।
तर माओवादीको यो आठौं महाधिवेशनमा जसले अध्यक्षपछिको कार्यकारी मानिने ‘महासचिव’ पद उम्काउन सक्छ, उही नै अलिक वढी प्रचण्डका उत्तराधिकारी हुनसक्ने आंकलनका साथ माओवादीभित्र वहस चल्न थालेको देखिन्छ ।
प्रचण्डको अव उमेरजन्य अवस्था, निरन्तर पार्टीमा गरेको नेतृत्व लगायतका कारण यो महाधिवेशनमा ठ्याक्कै विकल्प नभएपनि अर्काे ५ वर्षपछिको महाधिवेशनमा विकल्पका नेताहरु आउने विश्वासका साथ अहिले महासचिवमा आउन सक्ने नेताहरुलाई उत्तराधिकारीका रुपमा अथ्र्याउन खोजिएको देखिन्छ ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साह प्रचण्ड पछि नेतृत्व लिने गरी माओवादीमा एकसे एक नेताहरु देखिएपनि मुख्यतः वर्षमान पुन, पम्फा भुसाल र जर्नादन शर्मा हुनसक्ने बताउँछन् । प्रचण्डले पार्टीपंक्तिभित्र यिनै तीन नेताहरुलाई अलिक विश्वास गरेको र त्यही अनुसार कामको जिम्मेवारी दिने गरेका कारण साहलाई पनि पुन, भुसाल र शर्मा प्रचण्डपछि पार्टी नेतृत्व हाक्ने नेता हुनसक्ने लागेको छ ।
हुन पनि अध्यक्षपछिको महासचिवका लागि मुख्यतः यिनै तिन नेताहरुले आफनो दावेदारी प्रस्तुत गरिरहेका छन् । तर प्रचण्डले यसमा कुनै पनि नेतालाई ग्रिन सिंग्नल नै भने दिईनसकेको प्रचण्ड निकट स्रोतहरु जिकिर गर्छन ।
खासगरी प्रचण्डले १० वर्षे सशस्त्र युद्ध होस्, या त्यसपछिका १६ वर्षे शान्ति प्रक्रियायताका आफना हरेक अप्ठ्यारा–सप्ठ्याराहरुमा आफुलाई कुन नेताले कस्तो सहयोग गरे भन्नेवाट पनि नेताहरुको मूल्यांकन गरिरहेका छन । त्यसआधारमा अहिले महासचिव दावी गरिरहेका तीनै नेताहरुको प्रचण्डलाई घटना विशेषका आधारमा ठूलो सहयोग र साथ रहेको देखिन्छ ।
वर्षमान पुन र जर्नादन शर्माले शान्ति प्रक्रियायताका १६ वर्षमा पार्टी फुटदा समेत निरन्तर प्रचण्डको नेतृत्व स्वीकार गरेर प्रचण्डलाई साथ दिएको जिकिर गरिरहेका छन् । तर पम्फा भुसालले चार वर्ष नेपालमा अझै क्रान्ति आवश्यक हो की भनेर अलग वाटो मोडेपनि अन्ततः फेरि प्रचण्डकै वरिपरि गोलवद्ध भएर अहिले सवैभन्दा वढी प्रचण्डका ‘सहयोगी’ वनिरहेकी छिन् ।
‘उहाँहरु तिनै जनाको आफनो योग्यता, क्षमता, अनुभव र कार्यशैली छन्, तर अहिले तिनै जना प्रचण्डका खास सहयोगीभित्र पर्छन् भन्ने देखिन्छ,’’माओवादी केन्द्रको पदाधिकारीमध्येको कुनै एक पदमा आफुलाई सुरक्षित बनाउन खोजिरहेका एक स्थायी समिति सदस्यले मेरोन्यूजसँग भने,–‘ ‘प्रचण्डले अहिले तीनै जना महासचिवका दावी गरिरहेका नेताहरुमध्ये कोहीलाई नजिक र कोहीलाई टाढा बनाईरहेका छैनन, सवैसँग उत्तिकै समधुरीका आधारमा ब्यवहार गरिरहेको देखिन्छ ।’
शान्ति प्रक्रियायताका माओवादी धारभित्रकै अन्तरसंर्घषमा प्रचण्डलाई वर्षमान र जर्नादनले साथ दिएको देखिन्छ । तर केपी ओलीसँगको निर्णायक लडाईका घडीमा भने पम्फा भुसालले वर्षमान र जर्नादनको भन्दा पनि प्रचण्डको विश्वास जितेर काम गरेको देखिने गरेको माओवादीका ति स्थायी समिति सदस्यले बताए ।
सोही कारण अहिले प्रचण्डको खुमलटार निवासमा अन्य स्थायी समिति सदस्यहरुलाई प्रचण्डसँग भेटघाटका लागि समय भए -नभएको वुझेर मात्र पुग्ने गरेपनि पुन,भुसाल र शर्मालाई भने प्रचण्डले नै आफनो निवासमा आउन कुनै समयको छेकबार लगाएका छैनन । उनीहरु तिनै जना अहिले आफनो काम परे, तरुन्तै प्रचण्डकाहाँ भेटन जान सक्ने हैसियतका छन् ।
बरिष्ठताकाआधारमा पुन र शर्मा भन्दा पम्फा अघिल्लो पुस्ताकी हुन् । जनयुद्ध शु्रुआत गर्दाका १९ जना केन्द्रीय सदस्यमध्येकी भुसाल हुन् । उनी एकपटक २०५१ मै बाबुराम भटटराई भन्दा पनि अगाडी संयुक्त जनमोर्चाकी अध्यक्ष समेत भईसकेकी महिला हुन् ।
पुन र शर्मा भने २०५४ सालमा मात्र पार्टीको केन्द्रीय समिति सदस्य भएका हुन् । तर भुसाल प्रचण्ड नेतृत्वको पार्टीवाट केहीसमय अलग रँहदा पुन उक्त पार्टीको सचिव भएका थिए भने शर्मा स्स्थायी समिति सदस्य । अहिले शर्मा संगठन विभाग प्रमुख छन भने पुन अर्थ तथा योजना विभाग प्रमुख छन्। उनलाई केन्द्रीय कार्यालय इञ्चार्जको जिम्मेवारीसमेत दिइएको छ । यही जिम्मेवारीका आधारमा पुन निकट नेताहरुले उनलाई ‘डिफयाटो’ महासचिवको रुपमा समेत चर्चा गर्ने गरेको देखिन्छ ।
माओवादी पार्टीभित्र भने वर्षमान र जर्नादन शर्माको तलसम्म वलियो गुट छ । तर भुसालसँग पुन र शर्मासँग जस्तो बलियो गुट छैन । उनी पार्टीमा गुट बनाउने आफनो नीति नरहेका कारण मात्र आफुले त्यस्तो प्रयास नगरेको बताउने गर्छिन । तर शर्मा र पुनसँग भने अहिले प्रदेश सम्मेलनको नेतृत्व चयन सम्ममै आफु निकट नेताको पकड बनाउन रस्साकस्सी चलेको देखिएको छ । वागमति र प्रदेश १ मा पदाधिकारी चयनमा भएको निर्वाचनमा यी दुई नेता वीचको शक्ति संर्घष नै मुख्य कारण रहेको बताउनेहरु माओवादीमा छन् ।
वर्षमान अहिले तीन महिना यता आफनो स्वास्थ्य उपचारका लागि सिंगापुर हुँदै उत्तरी छिमेकी मुलुक चीनमा छन् । उनी पार्टी महाधिवेशनमा समेत उपस्थित हुन सकेका छैनन । तर महाधिवेशनमा उपस्थित हुन नसकेपनि महाधिवेशनका सम्पूर्ण प्रक्रियालाई उनले उत्तैवाट नजिकबाट नियालिरहेको उनी निकटका नेताहरु बताउँछन् ।
आउने साता काठमाडौं फर्किने तयारीमा रहेका कारण पुनको योजना अहिले पार्टी महाधिवेशनवाट केन्द्रीय समिति र अध्यक्ष मात्र चयन होस र अन्य पदाधिकारी आफु काठमाडौंमा आएपछि मात्र होस् भन्ने चाहना देखिन्छ । तर शर्मा भने महाधिवेशनको म्यान्डेटलाई अधुरो र अपुरो छोडेर जान नहुने र सकभर सर्वसहमत, नभए निर्वाचन प्रक्रियामार्फत भएपनि नेतृत्व चयनका सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने पक्षमा देखिन्छन् ।
यसले पनि नेकपाभित्र प्रचण्डको उत्तराधिकारीका लागि त्रिपक्षिय शक्ति संर्घष चलिरहेको वुझन कठिन छैन ।
तर नेताहरुको शक्ति संर्घष चल्ने र एकले अर्काेको नाममा सहमति नजनाउने अवस्था आएमा प्रचण्डले पार्टीको महासचिवमा अर्काे नेतालाई खडा गर्न सक्ने आंकलन पनि माओवादीको महाधिवेशन प्रतिनिधीहरुले गर्न थालेका छन् । त्यसो गर्दा कृष्णवहादुुर महरा र देव गुरुङमध्ये एक नेता प्रचण्डको नजरमा पर्न सक्ने आंकलन माओवादी वृतमा छ ।
महराले शान्ति प्रक्रियायता धेरै लाभको पद लिएको र पछिल्लो चरण संसदका कर्मचारीसँगको अभियोग (जसमा उनले अदालतवाटै सफाई पाईसकेका छन्) का कारण अहिले पार्टीको महासचिवमै ल्याउँदा के होला ? भन्ने प्रश्नपनि महाधिवेशन प्रतिनिधीका वीचमा उठने गरेको छ । अर्काेतिर देव गुरुङलाई प्रचण्डले विधान संसोधन कार्यदल देखि विधान अनुसारको समावेशी नेतृत्वको सूची तयार पार्नेसम्मको कार्यदलको जिम्मा दिएका र ओलीसँगको अन्तरसंर्घषमा खरो साथ दिएका कारण गुरुङलाई पनि प्रचण्डले विकल्पका रुपमा लिन सक्ने आंकलन माओवादी वृतमा छ ।
तर जे होस माओवादीले आज प्रचण्डको राजनीतिक दस्तावेजमाथीको समुह नेताहरुको टिप्पणी र सुझाव सकेपछि प्रचण्डले दिने जवाफ त्यसपछि विधान र राजनीतिक प्रतिवेदन पारित पछि शुरु हुने नेतृत्व चयन प्रक्रियासम्म धैर्य गर्नुपर्ने देखिएको छ ।
१५ पदाधिकारीमा सम्भावना कस-कसका छन् ?
मओवादीले अन्तरिम विधान बनाउँदै गर्दा पार्टीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष मात्रको पदीय ब्यवस्थापनको कुरा गरेको थियो । तर अहिले महाधिवेशनमा १५ जनाको पदाधिकारीको प्रस्ताव सहितको प्रस्ताव भएको छ । अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष गरी १५ जनाको पदाधिकारीको प्रस्ताव अहिले माओवादीमा भएको छ ।
यसो हुँदा अहिले स्थायी समितिमा रहेका १५ नेतालाई नै पदाधिकारीमा ब्यवस्थापन गर्ने गरी पदाधिकारीको संख्या निर्धारण भएर आएको आरोप पनि लागेको छ । तर त्यसो गर्दा पनि अहिले स्थायी समितिमा रहेकावाहेकका सोही समकक्षीका रुपमा रहेका नेताहरु हितमान शाक्य, हितराज पाण्डे, राम कार्की, कुलप्रसाद केसी सोनाम, उर्मिला अर्याल लगायतका नेताहरुको ब्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्नपनि माओवादीभित्र उठेको छ ।
तर यो विधानको ब्यवस्थाका आधारमा अध्यक्षमा प्रचण्ड निर्विकल्प बनेजस्तै बरिष्ठ उपाध्यक्षमा पनि नारायणकाजी श्रेष्ठ निर्विकल्प जस्तै देखिएका छन् । अन्य उपाध्यक्षमा कृष्णबहादुर महरा, मात्रिका यादव, हरिबोल गजुरेल र देव गुरुङ पर्ने सम्भावना रहेको माओवादीका महाधिवेशन प्रतिनिधीहरु चर्चा गर्छन र महासचिवमा दावी गरिरहेका तीन मध्ये अन्य दुई जना पनि अन्त्मा उपाध्यक्षमा समेटिने र एक जना महासचिव हुने चर्चा पनि हुने गरेको छ ।
त्यसो हुदा वर्षमान, पम्फा र जर्नादनमध्ये दुई जना उपाध्यक्ष र एक जना महासचिव हुने माओवादीहरु वताउँछन् ।
त्यसपछिको दुई उपमहासचिवका लागि शक्ति बस्नेत, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, चक्रपाणि खनाल, गिरिराजमणि पोखरेलमध्येबाट हुने सम्भावना छ । उनीहरुमध्ये गिरिराजमणि पोखरेल उपाध्यक्ष हुन सक्ने पनि वताइन्छ ।
सचिवमा भने हितमान शाक्य, उर्मिला अर्याल, राम कार्की, जयपुरी घर्ती, ओनसरी घर्तीलगायतको चर्चा छ । सचिवमा समेटिन नसकेका मध्येबाट १ जना कोषाध्यक्ष हुने सम्भावना रहेको नेताहरूले बताएका छन् । त्यसो गर्दा गणेश साहलाई पनि उपाध्यक्ष या अन्य कुन पदमा ब्यवस्थापन गर्ने भन्ने प्रश्न पनि माओवादीमा छ ।
प्रतिक्रिया