बिहीबार, पुष ३, २०८२

राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारविरुद्ध उजुरी

मेरोन्यूज २०७८ पुष २१ गते ८:०९

काठमाडौं । राष्ट्रियसभा सदस्य पदमा मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध आज बुधबार निर्वाचन आयोगमा उजुरी दिन सकिने भएको छ ।

आगामी माघ १२ गते १९ पदका लागि सम्पन्न हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि मंगलबार सातै प्रदेशबाट ४३ जनाले मनोनयन दर्ता गराएका छन् ।

मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । निर्वाचन कार्यक्रम अनुसार बुधबार परेको उजुरीमा विहीबार र शुक्रबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने तथा पुस २३ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यस्तै, मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरुले पुस २४ गते नाम फिर्ता लिन सक्ने तथा पुस २५ गते अन्तिम नामावली प्रकाशन गरी सोही दिन उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनमा सत्ता गठबन्धन दलहरुले मिलेर उम्मेदवारी दर्ता गराएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले एक्लै उम्मेदवार मनोनयन दर्ता गराएको छ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्सीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

सम्बन्धित समाचार

१९ पदका लागि ४३ उम्मेदवार (सूचीसहित)

प्रतिक्रिया