सोमबार, पुष ७, २०८२

नेता कोइरालाले भने- सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन्छ

मेरोन्यूज २०७८ पुष २१ गते १५:२९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुने बताएका छन् । बुधबार आफू पक्षका नेताहरुलाई सम्बोधन गर्दै कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएका नेता कोइरालाले विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ, नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर, के मापदण्ड अपनाएर उहाँहरु नियुक्ति हुनु भएको हो ? हामी जान्न चाहन्छौँ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’ उनले पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गर्न पनि आग्रह गरे ।

कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए । भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया