गायिका मुना थापामगरको गोरखादेखि अमेरिका यात्रा

साढे तीन वर्षपछि अमेरिकाबाट नेपाल पाइला टेकेकी गायिका मुना थापा मगरले नयाँ गीत पस्किएकी छिन्,– टलक्कै टल्किने ऐना । यो भन्दा पहिला उनले स्वर भरेका बाडुल्की लाइरहने, पिरतीमा फेल, डाँडै पिपल, चिसो चिसो हावा सरर, जीवन अधुरो, चरी बस्यो बरको डालीमा, उखु पेले गुलियो, बेसीको मेला बोलका गीतहरु लाखौं दर्शक श्रोताहरुको मन, मुटुमै बसेका छन् ।
यति मात्र होइन, हजारौं गीतमा सुरिलो आवाज भरेकी मुना थापामगरलाई चिनाइरहनु पर्दैन । गोरखाबाट आफ्नो नाम चम्काउन राजधानी छिरेकी मुनाले लामो संघर्ष पश्चात् अहिले अमेरिका कर्मथलो बनाइरहेकी छन् । स्वदेशमै काम गर्ने रहर हुदाहुदै परदेशिएकी उनी लामो समयको अन्तरपछि भेटिएकी छन् ।
ग्यालेक्सी क्याफेमा गफिदा
काठमाडौंको गैरीधाराको ग्यालेक्सी क्याफे । केही दिन यता चिसिएको राजधानीमा न्यानो घाम पोखिएको छ ।
आफ्नो सांगितिक जीवन र परदेशी भूमीका संगालेका सुख, दु:ख सुनाउन उनै गायिका मुना थापा मगर मेरो अगाडि छन् । थोरै रहर, थोरै बाध्यताले अमेरिका उडेकी उनले मन्द मुस्कान छोड्दै आफ्ना अनुभूतिका पोकाहरु फुकाउन थालिन् ।
सन् २०१८ को जुलाई महिना ।
गायिका मुना थापा मगरले काठमाडौँ छोडेर अमेरिकातिर उडिन् । अमेरिकाको भिसा लाग्दा त उनी त्यती खुसी थिइनन् । उनको मनमा खासै धेरै उत्साह थिएन । जब अमेरिकाको क्यालिफोर्निया पाइला टेकिन् । उनको दैनिकी फेरियो । योसंगै उनको मन फेरियो । कर्म फेरियो । फेरिए रहर र सपनाहरु ।
स्वदेशमा छँदा उनको दिनचर्या भनेकै गीत गाउने मात्र थियो । उनले जानेकै पनि यही थियो । परदेशमा पाइला टेकेपछि उनको कर्म फेरियो । त्यो परिवेशले उनको सोच झन् फराकिलो बन्दै गयो ।
गायिका मुना गीत संगीतमा मात्र सिमित भइनन् । उनले आफूमा भएको सीप निखार्न थालिन् । अमेरिका पुगेपछि उनले एउटा ब्युटी पार्लरमा काम थालिन् । स्किन केयर पढाइ हुने कलेजमा उनले अध्ययन थालिन् । हप्ताको चार दिन पढ्न र तीन दिन काम गर्न थालिन् ।
अमेरिका र नेपालको अध्ययनमा फरक के भने त्यहा छिटो छिटो पढेर कोर्ष पूरा गर्न पाइन्छ । उनलाई त्यही नै सजिलो लाग्यो । कति समय त उनले दैनिक १२ घण्टा अध्ययन गरेरै बिताईन् । नेपाल बस्दा पनि उनलाई ब्युटी पार्लरको काममा रुची थियो । तर, उनको अन्तर मनमा रहेको इच्छा पूरा गर्न पाएकी थिइनन् ।
अमेरिका पुगेपछि मुनाको मुख्य पेशा नै ब्युटी पार्लर बन्यो । सुरुसुरुमा त उनलाई अलि छिटै नै अमेरिका आएछु कि जस्तो पनि लाग्यो । तर, जब कोभिड १९ को लहर र त्यसले छोडेको असर सम्झिइन्, त्यो बेला भने उनलाई ठिकै गरेछु भन्ने लाग्यो । नेपालमा झन् कोरोनाले सबै काम र व्यवसाय ठप्प थियो ।
सरकारले नागरिकहरुका लागि कुनै सहुलियत र प्याकेज ल्याएन । अमेरिकामा ट्याक्स तिरेको आधारमा आफ्ना नागरिक र कामदारहरुलाई विशेष आर्थिक प्याकेज र राहत दिलायो । जनजीवन सामान्य नहुन्जेलसम्म दिईएको प्याकेजले गर्दा जीवन चलाउन कुनै कठिनाई झेल्नु परेन । ६ महिनासम्म मासिक रुपमा अमेरिकी सरकारले सबैलाई आर्थिक सहायता प्रदान गर्यो ।
सुरुमा त मुनालाई अमेरिका किन जान लाको भनेर सोध्थे । अहिले तिनै साथीहरु ‘ठीकै निर्णय गरेछौ’ भन्छन् । ‘के गर्नु नामले मात्र बाँच्न सकिन्न ।’ लजालु स्वभावकी मुनाले सुनाइन्, ‘जीवन त चलाउनै पर्यो नि ।’ अमेरिकामा काम गर्न सके कमाई राम्रो छ । त्यहाँ पसिनाको मूल्य छ । नेपालमा जीवन चलाउन कठिनाई भोग्नु परेको उनको मात्र होइन आम मानिसको भोगाई छ ।

क्यालिफोर्नियाको भ्याली फेयर मल ।
त्यहीं छ, नेपालीले सञ्चालन गरेको बलिउड ब्युटी सलुन एण्ड स्पा । मुनाले त्यसैमा काम गर्छिन् । उनलाई दैनिक ८ घण्टा काम गर्ने बानी परिसकेको छ । एक जना नेपालीको पार्लरमा उनले काम गरिरहेकी छिन् । नेपाल र इरान, भियतनाम, भारत लगायत विश्वका अन्य मुलुकका व्यक्तिहरु उनका साथी बनेका छन् ।
अंग्रेजी भाषाको राम्रो ज्ञान नहुँदा सुरुसुरुमा त उनलाई गार्हो भयो । तर, धेरै मिहिनेत गरेपछि उनलाई सहज हँुदै गयो । कति समय त उनी बिहान ८ बजेदेखी राती ९ बजेसम्म पढेर समयको सदुपयोग गर्थिन् । अहिले उनको दैनिकी फेरिएको छ । दिउसो ११ बजेदेखि साँझ ८ बजेसम्म काम गरेरै उनको समय बित्छ । हप्ताको एक दिन विदा मिल्छ ।
‘काम गर्ने वातावरण राम्रो छ । कतै सांगितिक कार्यक्रम आयोजना भयो भने विदा पनि मिल्छ ।’ मुनाले सुनाईन् ‘अमेरिकामा हरेक कामको इज्जत छ । काम सानो ठूलो हँुदैन ।’ अमेरिकाबाटै सांगितिक कार्यक्रमका सिलसिलामा उनी जापान, क्यानाडा पुगिन् । अमेरिकाकै केही स्थानमा पुगिन् । विदा मिलेको समयमा बाल्टिमोर, एट्लान्टा र क्यान्टिुकी शहरहरु घुमिन् ।

अमेरिका बस्दा मिस भइरहने कुरा
कर्मथलो अमेरिका बनाएकी मुनालाई नेपालका धेरै कुरा मिस भइरहन्छन् । गोरखामा बस्ने आमा, बुबा, परिवारका सदस्य, साथीभाई उनले खुब मिस गर्छिन् । नेपालमा साथीहरु मेला, महोत्सबमा भाग लिन गएको देख्दा आफू पनि नेपालमै भइदिएको भए जस्तो लाग्छ । नेपालमै भएको भए गीत रेकर्ड गर्न सजिलो हुन्थ्यो जस्तो लाग्छ । निरन्तर गीत रेकर्ड गर्न मन भएपनि अमेरिकामा त्यो सम्भब छैन ।
त्यसो त मुनालाई सिंगो जीवन अमेरिकामै बिताउछु भन्ने लागेको छैन । अस्वस्थ बुबा, आमा सम्झिदा उनलाई अमेरिकाको बसाई छोट्याएर नेपाल नै फर्किन मन लाग्छ । ढिलो चाँडो स्वदेश नै फर्किन्छु भन्ने उनको इच्छा छ । अमेरिका नै बस्छु भन्ने उनले सोचेकी पनि थिइनन् । समय र परिस्थीतिले मात्र त्यता पुगेको उनी बताउँछिन् । उनी भाग्यमा विश्वास गर्छिन् । आफ्नो भाग्यमा लेखिएको कुरा भोग्नै पर्ने रहेछ जस्तो लाग्छ ।
‘कत्तिको एक्लो महशुस हुन्छ ?’ भन्ने प्रश्नमा मुनाको जवाफ थियो –‘त्यस्तो फिल नै हुन्न । घर, परिवारमा सबैसँग कुरा भईरहन्छ ।’
उनले सुनाइन् ‘काममा ब्यस्त भइन्छ । यता घरमा र साथीभाईसँग कुराकानी भएपछि नियास्रो मेटिन्छ ।’ उनी अझै सिंगल छिन् । तत्कालै डबल हुने तरखरमा पनि छैनन् । विवाहबारे उनको योजना र तयारी केही छैन । जहिले जुर्छ, तब विवाह हुन्छ भन्नेमा उनी ढुक्क छिन् । उमेरसँगै जीवनमा कतिपय रहरहरु मर्दै जाने गरेको उनको अनुभव छ । जीवनमा कोही भईदिए भन्ने त्यस्तो रहर उनमा छैन ।
मुनालाई मन पराउछु भन्नेहरुको कमी छैन । तर, उनले सबैसँग एक प्रकारको दुरी राखेकी छिन् । उनलाई आफ्नो कामबाहेक खासै कसैसँग बालमतलब छैन । वा धेरैसँग हेलमेल हुने उनको स्वभाव र बानी पनि छैन ।
गायिका शर्मिला गुरुङ, बीमाकुमारी दुराका गीत सुन्दै हुर्किएकी मुनालाई नया पुस्तामा पूर्णकला बिसी, देबी घर्तिमगर, विष्णु माझी, टीका पुन, शान्ति श्री परियार, सुनिता बुढा, जुना श्रीस लगायतको आवाज मन पर्छ । जीवनमा पाच वटा दोहोरी साझमा काम गरेकी उनले दोहोरी, कौडा, मारुनी लगायतका गीतमा आफ्नो आवाज भरेकी छिन् ।
अर्को चोटी मुना नेपाल कहिले पाइला टेक्ने अवसर पाउनेछिन् । ठ्याक्कै थाहा छैन । दसैंमा नेपाल आउने उनको सोच छ । अबको पाली आफ्नै भाईसँग नया लोक गीत ल्याउने उनको सोच छ ।
उमेरसँगै गायिका मुनाका अरु रहरहरु हराउँदै गएपनि गायनप्रतिको उनको रहर भने हराउने छैन । परदेशका कुना–कुनामा भएपनि उनले आफ्नो सुरिलो स्वरमा दर्शक, श्रोताहरुमाझ पस्किन छोड्ने छैनन् । आखिर उनको प्रिती त गीत, संगीतसँगै त बसेको छ । कहिल्यै नछुट्ने, कहिल्यै नहराउने गरी ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया