एमाले अधिवेशनः गण्डकीको गोरखा र तनहुँबाहेक सबै जिल्लामा रस्साकस्सी

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा सबै जिल्लामा निर्वाचन हुने भएको छ । गण्डकीका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङमा भने हिमपात भएकाले चिसोका कारण अधिवेशन स्थगित गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जिल्लालाई सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए पनि गण्डकीका गोरखा र तनहुँ बाहेक सबै जिल्लामा मतदानबाटै नेतृत्व चयन हुने देखिएको छ ।
अधिवेशन हुन बाँकी रहेको मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्ला मध्ये तनहुँ र गोरखामा नेतृत्व चयन सर्वसम्मत चुनिए पनि अन्य पदमा मदतानबाटै टुंगो लाग्ने भएको छ ।
एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनबाट प्रेमबहादुर गुरुङ अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । उनी यसअघि पनि एमाले जिल्ला अध्यक्ष थिए ।
यस्तै, उपाध्यक्षमा कृष्णबहादुर नेपाली, सचिवमा काजिराम रोका सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए ।
पाँच जना पदाधिकारी रहने जिल्ला कमिटीको उपसचिवमा भने सहमति नजुटेपछि मतदानबाट टुंग्याइने भएको छ । उपसचिवमा सुरेशबाबु श्रेष्ठ, बिशाल थापा र राजन गुरुङले उमेदवारी दर्ता गराएका छन् ।
नेकपा (एमाले) तनहुँका अध्यक्ष पदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भए । हुनुभएको छ । शनिबार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेको थियो । उनी यसअगाडि उपाध्यक्ष रहेका थिए ।
अध्यक्ष बाहेकका पदमा भने आवश्यक संख्या भन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ ।
आइतबार नै दाबीविरोध, उम्मेदवारी फिर्ताको समय राखिएको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।
यता, बागलुङ एमालेमा पनि सचिव पदमा सर्वसम्मत भए पनि अध्यक्षसहितको पदमा मतदान हुने भएको छ । बागलुङको नवौं अधिबेशनबाट सचिव पदमा बिष्णु भुसाल सर्वसम्मत चयन भएका हुन् ।
जिल्ला अध्यक्षका लागि कार्यबाहक अध्यक्ष कृष्ण पाठक, प्रदेश सचिवालय सदस्य हिराबहादुर केसी र बडिगाड गाउँपालिका अध्यक्षसमेत रहेका मेहरसिंह पाइजाले उमेद्वारी दर्ता गराएको निर्वाचन समितिका संयोजक हरीप्रसाद शर्माले जानकारी दिए ।
त्यस्तै उपाध्यक्षका लागि रामबहादुर जिसी र लक्ष्मण पुनले उमेद्वारी दर्ता गराएका छन् भने उप–सचिव पदका लागि ७ जनाको उमेद्वारी परेको छ ।
यता, एमाले कास्कीमा पनि सर्वसम्मत नेतृत्व चयनमा सकस देखिएको छ ।
शुक्रबारबाट सुरु भएको १० औं अधिवेशनमा शनिबार पनि प्रतिवेदनमाथिको छलफल नसकिएपछि अधिवेशन लम्बिएको छ ।
एमाले कास्कीमा पनि सर्वसम्मत नेतृत्व चयनको सम्भावना कम देखिएको छ । अध्यक्षका मुख्य दावेदार हालका कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर वैरागी दुबैले अध्यक्षको दाबी गरेका छन् । उनीहरुले सामाजिक सञ्जालबाट पनि प्रचार तीव्र पारेका छन् । यद्यपि प्रतिवेदन पारित नहुँदा अधिवेशन निर्वाचनको कार्यक्रममा प्रवेश नै गरेको छैन ।
यसैगरी गण्डकी प्रदेश अन्तर्गत म्याग्दीमा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना कम भएको छ ।
अध्यक्ष पदमा साविकका उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी र सचिवालय सदस्य थमसरा पुनले दाबी गरेका छन् । सचिव पदमा पनि तीन जनाले दाबी छाडेका छैनन् । सचिवमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापा मगरबीच सहमति जुट्न सकेको छैन ।
नवौं अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्ने जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले जानकारी दिए ।
यता, गण्डकीको दक्षिणी जिल्ला नवलपुरमा पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन ।
नेपाल कम्युनिस्ट पार्टी एमालेको पौष २३ र २४ मा आठौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि वर्तमान कार्यबाहक अध्यक्ष रोशन गाहामगर र सचिव जीवन श्रेष्ठले दुवैले दाबी छाडेका छैन् ।
सातौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष तिलक महत केन्द्रीय सदस्य भएपछि गाहाले कार्यबाहक अध्यक्ष पाएका हुन् । उनी प्रदेशसभा सदस्यसमेत छन् ।
आगामी तीनवर्षका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरि पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटि निर्वाचित हुने एमाले नवलपुरले जनाएको छ ।
यसैगरी पर्वत एमालेमा पनि सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । शुक्रबारदेखि सुरु भएको एमाले पर्वतको नवौँ जिल्ला अधिवेशनमा नेतृत्वमा पुग्नको लागि धेरै आकांक्षी छन् ।
अध्यक्ष पदमा वर्तमान उपसचिव गोविन्द पहाडी, सचिव पदमपाणी शर्मा, प्रदेश कमिटी सदस्य राजु पौडेल, कार्यवाहक जिल्ला अध्यक्ष भक्त कुँवर, प्रदेश कमिटी सदस्य मित्रलाल बस्याल र प्रदेश कमिटी सदस्य नै रहेका देवेन्द्रराज पाण्डे लगायतले दाबी गरेका छन् ।
यसैगरी, गण्डकीको लमजुङ एमालेको ८ औँ अधिवेशनमा सर्वसम्मत चयनको पहल भइरहेको छ । बन्दसत्रमा सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
यता, स्याङ्जामा झण्डै ९ वर्षपछि जिल्ला अधिवेशन चलिरहेको छ । एमालेले २०६९ साल माघ २६ गते ७ औं अधिवेशन गरेको थियो । सातौं अधिवेशनले पद्मा अर्याललाई निर्वाचित गरेको थियो । अर्याल अहिले एमाले पदाधिकारीमा पुगेकी छन् । यसअघि उनी उनी केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कार्यवाहक मिनप्रसाद गुरुङ्ले पाएका थिए । नेकपा विभाजनपछि स्याङ्जा एमालेको अध्यक्ष हुने अवसर सूर्यप्रसाद गैह्रे पारसले पाएका थिए ।
अधिवेशन सम्पन्न गर्न विभिन्न १० उपसमिति निर्माण गरिएको छ। अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उससचिवसहित १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्नेछ ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया