सोमबार, वैशाख १४, २०८३

वैद्य भन्छन्- प्रचण्डले एकता हुन्छ भने पनि एकताको कुनै सम्भावना छैन

विप्लव पनि प्रचण्डको लाइनमा सोझिएको आरोप

मेरोन्यूज २०७८ पुष २७ गते १५:०६

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन् ।

Advertisement
NiccNicc

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरु बिचमा एकताको सम्भावना नरहेको स्पष्ट गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भएपनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको उनकाे भनाइ थियाे ।

आफूहरुले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क छ ।

उनले भने, ‘उहाँहरुले पार्टी एकता हुनसक्छ, पूर्व माओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ । तर हाम्रो पार्टीसँग एकता सम्भव छैन । नेकपा (क्रान्तिकारी माओवादी) सँग सम्भव छैन । किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनि राखेका छौँ । प्रचण्डजीको पुरै जोड के छ भने यो संविधानको असली संरक्षक हामी हौँ । संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरु गइरहनुभएको छ । त्यसकारणले उहाँहरुसँग एकताको सम्भावना छैन ।’


उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना टरेकाे उल्लेख गरे । ती पार्टीहरुसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाई छ ।

‘विप्लवजीहरु शान्ति प्रक्रियाबाट आएर समाजवादबारे जनमत संग्रह भन्नु भएको छ’, उनले भने, ‘तर उहाँहरु संसदीय ब्यवस्थामा गइसक्नु भयो त नभनौं तर त्यहि लाइनतिर सोझिनु भएको छ ।’

मोहनविक्रमसँग एकता प्रक्रिया नजिक पुगे पनि सत्ता गठबन्धनमा रहेकोले त्यो पनि सम्भावना नरहेको बैद्यले बताए । ‘मोहनविक्रमजी जनवादी गणतन्त्र र दीघकालिन जनयुद्ध भन्नु हुन्छ तर एउटा खुट्टा अहिलेको सत्तातिर राख्नु भएको छ ।’ उनले भने, ‘उहाँ त पाँच दलीय गठबन्धनमा पनि हुनुहुन्छ नि ।

एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने उनले बताए । लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको उनले बताए ।


आगामी संसदीय निर्वाचनमा आवश्यकता अनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उनले बताए ।

प्रतिक्रिया