‘ए कालीगण्डकी, हे आमा गण्डकी…’ (भिडियो)

काठमाडौं । दोहनको जाँतोमुनि पिल्सिइरहेको कालीगण्डकी नदीको विलापलाई गीतका मार्फत बाहिर ल्याइएको छ ।
नदी–सभ्यता जोगाउन उद्धत ‘कालीगण्डकी बचाऔँ अभियान’ले जागरण गीतका रुपमा ‘ए कालीगण्डकी…हे आमा गण्डकी’ सार्वजनिक गरेको हो ।
कवि श्रवण मुकारुङको शब्द–सङ्गीत र गायक कर्ण दासको स्वर रहेको गीत ‘सेवा इन्टरटेनमेन्ट’को यट्युब च्यानलमा उपलब्ध रहेको अभियानका संयोजक आरके अदिप्त गिरीले जानकारी दिए । गीतको सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् ।
अहिलेलाई गीतको अडियोसहित लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको संयोजक गिरीले बताए । ‘गीतलाई प्राण भर्ने गरी पछि भिडियो ल्याउँछौँ’, उनले भने । फोटो पत्रकारसमेत रहनुभएका गिरीले सो गीतलाई प्रकृतिमाथि मानवजातिको मनपरिविरुद्धको समवेत आवाजका रूपमा चित्रित गरे ।
‘गीत मनोरञ्जन मात्र होइन, यो त समाजको जीवित अभिव्यक्ति पनि हो, त्यसकै मुखर स्वर हो, कालीगण्डकीको गीत’, गिरीले भने ।
उनकै पहलकदमीमा गत वर्षदेखि थालिएको अभियान गण्डक क्षेत्रमा क्रियाशील छ । स्वयंसेवी युवा, पत्रकार, कवि, लेखक, बौद्धिक, नागरिक समाजका अगुवालगायत अभियानमा जोडिएका छन् ।
नदीजन्य पदार्थ उत्खननका नाममा कालीगण्डकीमाथि चलिरहेको निर्मम दोहनका विरुद्ध अभियान सङ्घर्षरत छ । हिमालय क्षेत्रको पवित्र र वैभवशाली नदीले झेलिरहेको सन्ताप र बेदनाका कथा भन्न गीतलाई रोजिएको अभियानले जनाएको छ ।
गीतको भाव, सौन्दर्य र वैचारिकीले अभियानलाई रचनात्मक टेवा पुग्ने विश्वास लिइएको संयोजक गिरीले बताए । ‘गीतको ध्येय कालीगण्डकीलाई दोहनचक्रबाट मुक्त गराई प्राकृतिक लयमा फर्काउन सम्बद्ध पक्षमाथि नैतिक दबाब बढाउनु हो’, उनले भने ।
भिडियो
गीतले मध्य नेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीको गौरव र महिमालाई झन्झन् उजागर गरेको छ । संरचना, मर्म र आशयलाई सम्पादन या तोडमोड नगरी सबैले स्वतन्त्र तबरबाट गीतको प्रयोग गर्न सकिने अभियानले जनाएको छ ।
गीत सार्वजनिक गर्नुका पछाडि कुनै व्यावसायिक उद्देश्य नरहेको अभियानले स्पष्ट पारेको छ । रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जाललगायतबाट प्रसारण–सम्प्रेषण गरी गीतलाई धेरैभन्दा धेरै स्रोता–दर्शकमाझ पु¥याउन अभियानले आग्रह गरेको छ ।
अप्राकृतिक दोहनका कारण सङ्कटापन्न कालीगण्डकीको क्रन्दन गीतमा यसरी अभिव्यक्त छ–
‘ए कालीगण्डकी…
हे आमा गण्डकी…
माकुरोको माउ भयो तिम्रो जिन्दगी
तिम्रो अमृत धारा पिई हुर्किएका सन्तान
तिम्रै मुटु कलेजा पो कुटुकुट खान्छन्
ए कालीगण्डकी…’
गीत सँगसँगै अभियानले कालीगण्डकी संरक्षणका पक्षमा ‘नदी सप्तक’ कविता शृङ्खला पनि चलाइरहेको छ ।
गत असोज २ गतेदेखि आरम्भ भएको त्यस शृङ्खला ५८औँ चरणमा आइपुगेको छ । देशका नामुद कविका कविताका बलमा ‘नदी सप्तक’ अघि बढिरहेको अभियानले जनाएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया