शनिबार, चैत ७, २०८२

आहारारा गोल्डकपः एपीएफ १४ वर्षपछि फाइनलमा

मेरोन्यूज २०७८ माघ १२ गते २०:५३

काठमाडौं । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब ‘आहारारा गोल्ड कप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पोखरा रङ्गशालामा जारी २०औँ संस्करणको सो प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ उपाधि नजिक पुगेको हो ।

मच्छिन्द्र शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन क्लव हो ।

पहिलो हाफको खेलमा दुवै टोलीबाट समान एक÷एक गोल भएकामा दोस्रो हाफमा एपिएफले दुई गोल गर्न सफल भयो ।

दोस्रो हाफको २० मिनेट मच्छिन्द्र १० खेलाडीमा सीमित भएर खेलेको थियो ।

पहिलो हाफको २५औँ मिनेटमा एपिएफका सनिश श्रेष्ठले मणि लामाको फ्रिकिकमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता बनाए ।

मच्छिन्द्रले पनि खेलको ४०औँ मिनेटमा ओमोलाजा करिमको हेडिङ गोलमार्फत खेल बराबरी गर्न सफल भए । कप्तान रञ्जित धिमालको फ्रिकिकमा डिफेण्डर करिमले गोल गरेका थिए ।

एपिएफले खेलको ६८औँ मिनेटमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित प्रदीप लामाको गोलबाट खेलमा पुनःअग्रता बनायो ।

खेलको ७०औँ मिनेटमा मच्छिन्द्रका गोलकर्ता ओमोलाजा दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सीमित भएको भएको थियो ।

खेलको पाँच मिनेटका इन्ज्युरी समयको अन्तिम मिनेटमा एपिएफका कप्तान नवीन लामाले गोल गर्दै मच्छिन्द्रसँगको गोल अन्तर फराकिलो बनाए ।

एपिएफ विसं २०६४ को छैटौँ संस्करणमा पहिलो पटक आहाराराको फाइनल पुगेको थियो ।

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया