बुधबार, वैशाख १०, २०८२

भर्चुअल कार्यक्रमबाटै ओमान जाने क्रिकेट टोलीको बिदाई

मेरोन्यूज २०७८ माघ २५ गते १५:१६

काठमाडौं । ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपाली टोलीलाई भर्चुअल कार्यक्रमबाटै बिदाई गरिएको हो ।

मंगलबार भर्चुअल कार्यक्रमबाटै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले ओमान जाने खेलाडीहरुको विदाइ गरेका छन् ।

कोरोना संक्रमण जोखिम रहेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल कार्यक्रम गरी मंगलबार बिहान खेलाडीहरुलाई बिदाई गरेको हो ।

विश्वकपमा छनोटकालागि हुने खेलकालागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थान गर्दैछन् ।

ग्लोबल छनोटकालागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनीबीच खेल हुने भएको छ ।

फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिका समेत रहेको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिए । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला लगायत जोडिएका थिए ।

प्रतिक्रिया