सोमबार, वैशाख २८, २०८३

यसरी हल गरिदैँछ माओवादीभित्रको विवाद

चुनावमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने, एमसीसीमा रहेका फरक मतको सम्मान गर्ने र चुनावपछि उपयुक्त समयमा फोरम चलाउने

रामकृष्ण अधिकारी २०७८ फागुन २२ गते १७:४२
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्र एमसीसी प्रकरणले जन्माएको विवाद हल गर्ने विधिमा करिव समझदारी निर्माण गरेको छ । अध्यक्ष प्रचण्डले गत फागुन १५ मा संसदवाट १२ वुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको पक्षमा लिएको निर्णय विरुद्ध पार्टीभित्र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, देव गुरुङ, लिलामणि पोखरेलगायतका नेताहरुले असहमति राखेका थिए ।

Advertisement
NiccNicc

शनिवारबाट काठमाडौंमा शुरु भएको केन्द्रीय समिति बैठकमा अधयक्ष प्रचण्डले एमसीसी प्रकरणमा पार्टीले लिएको निर्णय अनुमोदनका लागि प्रस्ताव गरेपछि वरिष्ठ नेता श्रेष्ठले मौखिक रुपमा तथा महरा, गुरुङ र पोखरेलले लिखित रुपमा फरक मत राखेका थिए ।

महरा, गुरुङ र पोखरेलले लिखित फरक मत राखेपनि पार्टीभित्र विग्रह र विभाजन ल्याउने गरी छलफल नचलाएको भएपनि श्रेष्ठको असन्तुष्टि ले भने कतै माओवादी फेरि विभाजनमा पो जान्छ की भन्ने आशंका जन्माएको थियो ।

खासगरी प्रचण्डले श्रेष्ठप्रति गरेको टिप्पणी र श्रेष्ठले पनि सार्वजनिक रुपमा सामाजिक सन्जालमार्फत गरेको टिप्पणीले माओवादीमा विभाजनको खतरा देखिएको थियो ।

तर त्यसवीचमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका वीचमा भएको दुई तीन चरणको छलफल पछि पार्टीलाई एकताबद्ध बनाउने र एमसीसीमा नेताहरुले राखेको फरक मतलाई पनि स सम्मान कसरी ब्यवस्थापन गर्ने भन्नेमा छलफल भएको छ ।

माओवादीका एक शीर्ष नेताले मेरोन्यूजलाई दिएको जानकारी अनुसार, अव यो विषयमा करिव प्रचण्ड र श्रेष्ठका वीचमा समझदारी जुटिसकेको छ ।

समझदारी अनुसार, अव माओवादीको जारी केन्द्र्रीय समिति बैठकबाट सकभर केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्यूरो, स्थायी समिति तथा पदाधिकारी टुग्गो लगाउने र निर्वाचन केन्द्रीत रणनीति निर्माण गरेर पार्टीलाई एकताबद्द बनाएर सम्पूर्ण शक्ति निर्वाचनमा होम्ने गरी माओवादी बैठक सकिनेछ ।

स्थानीय, प्रदेश र संघको वर्ष २०७९ सालमा हुने तिनै तहको चुनाव सकेपछि नेताहरुले अहिले एमसीसीमा रहेका मतलाई आवश्यकताका आधारमा पार्टी पंक्तिभित्र वहसमा लैजाने र पार्टिले गर्ने भनेको विशेष महाधिवेशनमा पनि आवश्यक परे लैजाने गरी समझदारी बनेको छ ।

मओवादी केन्द्रको गत पुसमा सम्पन्न महाधिवेशनले नै विचारको तहमा विकास गर्न वैचारिक छलफल गर्ने गरी पार्टीको विशेष महाधिवेशन तीनै तहको चुनाव सकेपछि गर्ने निर्णय गरिसकेको छ । त्यही महाधिवेशनमा आवश्यकताका आधारमा एमसीसीमा अहिले श्रेष्ठ लगायतका नेताहरुले राखेको फरक मतको बारेमा पनि छलफल गर्ने गरी जान सकिनेमा समझदारी बनेको छ ।

अहिले जारी केन्द्रीय समितिमा फरक मत राख्न चाहने नेतालाई सम्सम्मान राख्न दिने र त्यसरी राखिने फरक मतलाई स्वभिावक रुपमा लिँदै सम्मान गर्ने समझदारी पनि दुई नेताका वीचमा भएको छ ।

एमसीसी प्रकरणले पार्टीभित्र देखिएको मतभेदलाई विपक्षीहरुले शत्रुतापूर्ण बनाउन सक्ने, पार्टी विभाजनमा लैजान उद्दत हुन सक्ने र माओवादी नेता कार्यकर्ताको मनोवल गिराउन सक्ने तर्फ सचेत हुँदै दुवै नेता समझदारीमा विवाद टुग्याउने विधिमा सहमत भएका हुन् । श्रेष्ठले एमसीसी ब्याख्यात्मक घोषणा सहित अनुमोदनको विषय ‘अब्जेटिकल्ली राष्टघाती′ भनेपनि माओवादी पार्टी र नेतृत्व अध्यक्षमाथी आरोपित गर्न चाहेका छैनन ।

उनले एमसीसीलाई देशभक्तिपूर्ण आन्दोलनको बलमा कार्यान्वयन नै हुन दिन नपाए हुन्थ्यो भन्ने आफ्नो चाहना भएपनि संसदमा घोषणा भएको १२ बुँदे ब्याख्यात्मक घोषणालाई आधार बनाएर त्यसैको जनदवावमा देश हितको पक्षमा जागरण अभियान भने निरन्तर जनताका वीचमा गरिरहनु पर्ने निश्कर्षमा आईपुगेका छन् ।

उनले भौगोलिक अखण्डता कायम रहेपनि जनताको सार्वभौमसत्तालाई कमजोर पार्न सक्ने, संघीय लोकतानित्रक गणतनत्र उलटने नभई परम्परागत संसदवाद र सामाजिक फासिवादतर्फको प्रतिगमनको यात्रातिर लैजान सक्ने एमसीसीभित्रका दीर्घकालिन असरहरुका बारेमा भने सचेत हुनुपर्ने मत राखेका छन् । श्रेष्ठको माग सम्वोधन अव चुनाव पछि पार्टीभित्र उपयुक्त वहसको बाताबरण गराएर आवश्यक पर्दा चुनाव पछि हुने भनिएकाके विशेष महाधिवेशन सम्म लैजान सकिने गरी एउटा विधिमा समझदारी बनाइएको छ,‘ माओवादी केन्द्रका ति प्रभावशाली नेताले मेरोन्यूजसँग भने,–‘अव यही विधिमा एमसीसीले निम्ताएको पार्टीभित्रको विवाद अन्त्य गर्ने करिव समझदारी अध्यक्ष र नारायणकाजी कमरेडका वीचमा जुटेको छ ।′

अव अध्यक्षले केन्द्रीय समिति बैठकमा राखेको एमसीसीमा ब्याख्यात्मक घोषणासहितको अनुमोदनको प्रस्तावलाई वहुमतका आधारमा पारित गरेर जाने विधिमा माओवादी जानेछ ।

एमसीसीमा उठेका प्रश्नहरुको प्रचण्डले जवाफ दिएपछि त्यसलाई अनुमोदनको प्रत्रियामा लगिनेछ ।

त्यसपछि वैठक केन्द्रीय सदस्य थप गरी पूर्णता दिने र पदाधिकारी लगायत चयनको एजेण्डामा प्रवेश गर्नेछ । एमसीसी विवाद एक हदमा निरुपण जस्तै भएपछि माओवादी नेताहरु अहिले पदाधिकारी चयनको गृहकार्यमा जुटेका छन् । आइतबार बैठक स्थगित गरेर आन्तरिक गृहकार्यमा वसेका नेताहरुले करिव थप गर्ने केन्द्रीय सदस्यका बारेमा टुग्गो लगाईसकेको बताईएको छ ।

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया