आइतबार, माघ ४, २०८२

संखुवासभा दुर्घटना : १४ जनाको पहिचान खुल्यो (सूचीसहित)

मेरोन्यूज २०७८ फागुन २६ गते १३:५२

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १४ जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १४ र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३१ वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४८ वर्षीय दीपक दाहाल, ५५ वर्षीय श्याम शेर्पा र ४९ वर्षीय भवानी दाहाल, मादी–६ का ४२ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता राउत कार्की, ६० वर्षीय बल बहादुर कार्की, मादी– ६ की ३२ वर्षीया अञ्जना कटुवाल, मादी– ६ की ३० वर्षीया सिता बि.क , ५ वर्षीया दीक्षा कटुवाल, ताप्लेजुङ घर भएका ३१ वर्षीया समिक्षा योञ्जन र उनका छोरा ८ वर्षीय सुदिप घिसिङ रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो ।

बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

घाइतेको हेलिकप्टरमार्फत उद्धार

बस दुर्घटनामा परेको पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की रहेका छन् ।

दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ लैजाने तयारी भइरहेको प्रहरी प्रमुख सुवेदीले बताए ।

प्रतिक्रिया