प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ज्वाला सिंहले मालपोत कर्मचारीको मिलेमतोमा बेचे जग्गा

सिरहा । राजनीतिक आवरणमा आपराधिक गतिविधि गरिरहेको आरोपमा प्रहरीको सर्वाधिक खोजीको सूचीका व्यक्ति जिल्लाको मुख्य प्रशासनिक केन्द्रमा रहेको मालपोत कार्यालयमा आएर आफ्नो नाममा रहेको जग्गा सुटुक बेचेको खुलेको छ ।
प्रहरीको सर्वाधिक खोजी गरिरहेको जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह)का अध्यक्षसमेत रहेका सिरहा नगरपालिका–७ का नागेन्द्रकुमार पासवानले जिल्ला सदरमुकाम सिरहामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयबाट आफ्नो नाममा रहेको पाँच कित्तामध्ये दुई कित्ता जग्गा रजिष्ट्रेशन गरेर बेचेको खुलेको हो ।
पासवानले १४ जेठ २०७६ मा सिरहाको साविक रामनगर गाविस ६ (क) को कित्ता नं. १४७६ (हाल मिर्चैया नगरपालिका ६) को तीनकठ्ठा आठ धुर जग्गा २० लाख रुपैयाँ र ८ भदौ २०७५ मा कित्ता नं. १२५२ को चार कठ्ठा तीन धुर जग्गा २० लाख गरी ४० लाख रुपैयाँ थैली राखी रामनगर ६ का राजेश्वरप्रसाद साहलाई बिक्री गरेको मालपोतको श्रेस्तामा उल्लेख छ ।
सदरमुकामभित्रै रहेका मालपोत कार्यालयमा आएर भूमिगत गतिविधि गर्ने व्यक्तिले जग्गा पास गराएर फर्किंदा प्रशासनले सुइँकोसम्म नपाउनुले घटना रहस्यमय बनेको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख उपसचिव विष्णुप्रसाद सिटौलाले आफू यहाँ कार्यालय प्रमुख भएर आउनुभन्दा पहिला नै रजिष्ट्रेशन पास भएकोले त्यसबारे खासै जानकारी नरहेको बताए ।
पासवानको जग्गा बिक्रीको विषयमा मालपोतका सूचना अधिकारी तथा नायव सुब्बा सुधीरकुमार यादव जग्गा रोका रहे नरहेकोबारेमा थाहा नभएको बताए । सूचना अधिकारी यादवले कागजातको आधारमा उनीहरू मालपोत कार्यालयमै उपस्थित भएर जग्गा पास गराएको जानकारी दिए ।
पासवानको नामबाट १४ जेठ २०७६ र ८ भदौ २०७५ मा दुई कित्ता जग्गा बिक्री गरेको खुलेपछि सिरहा प्रहरीले पत्राचार गरी रोक्का राखेको जग्गा कसरी बिक्री भयो भन्ने विषयमा अनुसन्धान थालिएको बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी डीएसपी सुवास बुढाथोकीले भूमिगत रहेका व्यक्तिको नाममा रोक्का रहेको जग्गा बिक्री भएको सूचना पाएपछि अनुसन्धान गरिरहेको बताए ।
‘प्रहरीले भूमिगत रहेर आपराधिक गतिविधिमा संलग्न पासवानको नाममा रहेको घर जग्गा रोक्का राख्न पहिले नै पत्राचार गरेको हो, कसरी जग्गा रजिष्ट्रेशन भयो, अनुसन्धान गर्दैछौं,’ डीएसपी बुढाथोकीले भने ।
‘दुई कित्ता जग्गा बिक्री गरेको र अझै उनको नाममा विभिन्न क्षेत्रफलको तीन कित्ता जमिन रहेको बुझिएको छ,’ उनले भने ‘पहिले नै पत्राचार गरी रोक्का गर्न पत्र काटिएको हो । कसरी बिक्री भयो अनुसन्धान गर्दैछौँ र पुनः रोक्का गर्न पत्र काट्दै छौँ ।’
कुनै पनि फौजदारी मुद्दा दर्ता भएपछि प्रतिवादीको जग्गा जमिन तथा बैंक खाता तथा सम्पत्ति रोक्का गर्न प्रहरीले मालपोत कार्यालय र राष्ट्र बैंकलाई पत्राचार गर्ने गरेको जानकारी दिँदै उनले भने, ‘पासवानको हकमा पनि त्यही लागु हुनु पर्ने हो । तर, पत्राचार गर्दा पनि किन रोक्का भएन, कसरी, कसले जग्गा बिक्री गरे, को–को संलग्न छन् भन्ने पनि खोज्दैछौँ ।’
नागेन्द्र पासमानमाथि सिरहासहित विभिन्न जिल्लामा हत्या, अपहरण, फिरौती, बम विस्फोट लगाएतको दर्जनौं मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।













३१ अंकले बढ्यो सेयर बजार
ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया