मंगलबार, चैत ५, २०८१

केपी ओलीलाई नायक बनाउने भन्यौँ, खलनायक निस्कियो : प्रचण्ड

मेरोन्यूज २०७८ चैत ३ गते १७:५४

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई सिध्याउन जनयुद्ध कालदेखि नै खोजिएको भए पनि प्रतिरोध गरेर अघि बढेकाले अहिले प्रतिक्रियावादीको षडयन्त्र परास्त गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले देशी तथा विदेशी प्रतिक्रियावादीको मुख्य निशाना माओवादी भएको बताए । विगतमा संसद विघटनदेखि नेकपा विभाजनसम्मका घटना माओवादीलाई कमजोर बनाउने षड्यन्त्रको उपज भएको उनको जिकिर थियो ।

‘जनयुद्धलाई समाप्त गर्न थुप्रै अप्रश्नहरू भए रोमियो, किलो सेरा टु, हत्या, दमन र बलात्कारका विभिषिका रचियो, घेरा हाल्ने र सखाप पार्ने रणनीति तत्कालीन राज्यले र राजतन्त्रले यो अभियान चलायो,’ प्रचण्डले भने, ‘तर, हामी क्रान्तिकारी विचार र नेतृत्वमुनी लामबद्ध भएर अनुशासनबद्ध रुपमा अघि बढ्यौं र हरेक षड्यन्त्र परास्त गर्न सफल बन्यौँ ।’

प्रतिक्रियावादीहरूले विगतमा घेरा हालेर सखाप पार्न खोजे पनि प्रतिरोध गरिएको बताउँदै उनले भने, ‘हामीलाई प्रतिक्रियावादीको रणनीति घेरा हाल्ने र सखाप पार्ने थियो भने हाम्रो घेरा तोड्ने र प्रतिरोध गर्ने रहेको थियो, हामी विगतमा आत्मसमर्पणको अवस्थामा थिएनौँ र आज पनि छनौँ, आत्मसमर्पणभन्दा मृत्यु हामीलाई स्वीकार्य छ ।’

आगामी निर्वाचनमा समेत जनयुद्धको बेला जस्तै योजनाबद्ध तयारीका साथ लडाईमा उत्रिनु पर्ने उनको भनाई थियो । उनले अबको निर्वाचन प्रतिगमन र अग्र गमनकारीबीचको लडाई भएकाले हतियारविहीन रुपमा जनताको घर दैलोसम्म पुगेर निर्वाचन जित्नु पर्नेमा जोड दिए ।

‘निर्वाचनमा एक भएर जाँदा राम्रो परिणाम ल्याउन सकिन्छ, हामी अराकता र गुुटबन्दीविरुद्ध संघर्ष गरेर जानु पर्दछ,’ प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई पद्धतीअनुरुप हल गर्नु पर्नेमा जोड दिँदै भने, ‘हामी आपसमा गुटबन्दी गर्ने, तानातान गर्ने अरुलाई हिलो छ्याप्ने दोष अरुलाई जस आफूलाई गर्ने प्रवृति पुँजीवादी प्रवृति हो, समाजवादी प्रवृति होइन ।’

नेपालको राजनैतिक आन्दोलनमा प्रतिक्रियावाद र यथास्थितिवादका विरुद्ध नै मुख्य संघर्ष चल्दै आएको बताउँदै उनले ०५२ सालपश्चात् यो संघर्ष सीधा र आमनेसामने भएर आएको स्मरण गरे । उनले शान्ति प्रक्रियापछि नेपाली राजनीतिमा माओवादीले पहिलो गणतान्त्रिक सरकारको नेतृत्व गर्नु सामान्य कुरा नभएको बताए । उनले गणतन्त्रलाई प्रतिक्रियावादीले संसदीय गणतन्त्रमा लैजाने रणनीति खेलेको बताए । माओवादीले भने समावेशी गणतन्त्रमा लैजाने रणनीति लिएको उनको भनाई थियो ।

संविधानसभाबाट गणतन्त्र बनेपछि पनि यथास्थितिवादी र प्रतिक्रियावादीहरूको षड्यन्त्र झनै चुलिएको उनले बताए । आफू संविधानसभाको निर्वाचनमा एक मिनेटको फरकले बाँचेको स्मरण गर्दै प्रचण्डले अहिले आएर माओवादीमाथिको आक्रमण कम नभएको बरु प्रतिक्रियावादीहरू झन बढी भ्रम छर्नतर्फ लागेको बताए ।

‘माओवादी पार्टीलाई पटकपटक जिरो हुने गरी बदनाम गरिएको छ, भएका र नभएका कुरा गरेर,’ उनले भने, ‘मिडियामा प्रचण्ड फेल भनेर भन्छन्, तिनले माया गरेर फेल भनेका हुन् त ?’

सामाजिक सञ्जाल र अन्य मिडियामा अझै बदनाम गर्न नछाडिएको बताउँदै प्रचण्डले माओवादी आन्दोलनमा फुट विवाद सिर्जना गर्ने षड्यन्त्रसमेत परास्त गर्नु पर्नेमा जोड दिए । ‘अहिले हामी एक्लाएक्लै भयौँ, म एक्लै तपाईहरू पनि एक्लै, जनयुद्धमा हामी एक जुट थियौँ, हाम्रो अब पहिलेकै रणनीति घेरा तोड्ने र अगाडि बढ्नेतिर हुनु पर्छ,’ उनले भने ।

विगतमा नेकपा एकताको प्रसंग स्मरण गर्दै प्रचण्डले केपी ओलीलाई समेत समाजवादी क्रान्तितर्फ लैजाने रणनीति भए पनि उनी खलनायक भएर आएको बताए । ‘हामीले ओलीलाई क्रान्तितिरै लैजाने भन्ने थियो, एमालेका धेरै कार्यकर्ताहरूले कमरेड तपाईंमा हामीले मदन भण्डारी भेट्यौं भनेका थिए,’ उनले भने, ‘हामी नेकपा बनाउनु गल्ती थियो भन्ने कतिपयलाई लाग्छ, तर त्यस्तो होइन, हामीले विशाल कम्युनिष्ट आन्दोलन र समाजवादी व्यवस्था ल्याएर ४०–५० वर्ष कम्युनिष्टहरूले सत्ता चलाउने भनेका थियौँ, जसलाई नायक बनाउने भन्यौँ ऊ नै खलनायक निस्कियो ।’

यद्यपि, नेकपा विभाजनलाई पराजयको रुपमा लिन नहुनेमा समेत उनले बताए । ‘हामी पराजीत भएको होइन, हामी नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यहरूले केपी ओलीलाई निष्कासन गरेका हौँ, संसदीय दलको बैठकले केपी ओलीलाई दल नेताबाट हटाएर मलाई दल नेता बनाएको हो,’ उनले भने ।

लुम्बिनी प्रदेशअन्तर्गत जिल्ला र जनताले जनयुद्धमा विशिष्ट भूमिका खेलेको बताउँदै प्रचण्डले भने, ‘यो क्षेत्र जनयुद्धसँग गहिरो समवेदना बोकेको प्रदेश हो, विविध प्रश्नहरू बोकेर बसेको प्रदेश हो ।’

प्रतिक्रिया