आइतबार, माघ ११, २०८२

एमालेका कारण नागरिकता विधेयक रोकिएको छ : प्रचण्ड

मेरोन्यूज २०७८ चैत ८ गते १६:४२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक विधेयक नेकपा एमालेले रोकेको बताएका छन्। आज जनकपुरधाममा आयोजित मधेस प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेका कारण संसदमा नागरिक विधेयक रोकिएको बताएका हुन्।

‘म प्रधानमन्त्री हुँदा दुईपटक मधेसी जनताको भावनाअनुसार संशोधनको प्रस्ताव दर्ता गरेँ, तर एमालेले त्यसलाई असफल पर्‍यो, तथाकथित कम्युनिस्ट भन्ने गैर कम्युनिष्टले नै मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको छ,’ नागरिक विधेयक रोकिएको विषयमा बोल्दै प्रचण्डले भने, ‘नागरिकता विधेयक पनि एमालेका कारण रोकिएको छ, हामीले जनतामा गएर यो कुरा भनिदिनु पर्छ ।’

उनले प्रतिनिधिसभामा प्रतिपक्षी एमालेले संवैधानिक कानुनी आधारबिना सदन अवरुद्ध गरिरहेको बताए। ‘सदन अवरुद्ध प्रतिगमनकै निरन्तरता हो, जुन सेटिङमा प्रतिगामीहरूले संसद विघटन गरे, त्यही सेटिङवाला अहिले पनि यसकै पक्षमा छन्, यो निर्वाचनमा त्यसको भण्डाफोर गर्न पछि पर्न हुँदैन,’ उनले भने।

कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली क्रान्तिमा मधेसी जनताको भूमिका महत्त्वपूर्ण बताए। उनले २०७० को निर्वाचनमा मधेसी जनताले आफूहरूलाई दिएको साथबारे स्मरण गर्दै यसबारे राम्रोसँग बुझेको बताएका थिए।

उनले मधेसका युवाहरूलाई कसैले भाडभैलो गर्न खोज्ने इँटको जवाफ पत्थरले दिन निर्देशन दिए। ‘यो निर्वाचन अरुका लागि चुनाव हाम्रा लागि जिवनमरणको विषय हो, हामी हार्दा देश हार्छ, अरु हार्दा देश जित्छ,’ उनले भने, ‘गठबन्धनको आश गरेर रिल्याकस नगर्नुस्, आफ्नो खुट्टा बलियो बनाउनुस्।’

यस्तै, उनले देशमा आएका सबै संकट मोचन गर्न माओवादी केन्द्रले पहलकदमी लिने बताए ।

प्रतिक्रिया