आइतबार, माघ ११, २०८२

अबको निर्वाचन माओवादीका लागि ब्याटल हो : प्रचण्ड

मेरोन्यूज २०७८ चैत ९ गते १८:५८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अबको निर्वाचन माओवादी केन्द्रका लागि ब्याटल भएको बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीका केन्द्रीय आयोगहरूको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् ।

उनले पार्टीका नेता कार्यकर्ताहरूले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीले कसरी आक्रमण गर्छन् भन्ने संसद विघटनको घटनाले देखाएको बताए । संसद विघटनको घटना संविधान विघटन र परिवर्तनकामी शक्तिमाथिको आक्रमण भएको उनको भनाई थियो ।

आफूहरूले परिवर्तनको रक्षाका लागि अपिल गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरूलाई जोगाउन जित्नै पर्ने बताए । अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नु पर्ने भन्दै उनले सबैले राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।

पार्टीमा भएका असल, अनुशासित र विषयगत क्षेत्रका कुशल कमरेडहरूलाई आयोगमा राखिएको भन्दै अध्यक्ष प्रचण्डले आयोगका सदस्यलाई पार्टीका निर्वाचन केन्द्रीत अस्थायी कमाण्डमा कार्य विभाजन गरेर जोडिन र फिल्डमा काम गर्न निर्देशन दिए ।

बैठकमा अनुशासन आयोगका सचिव अशोक रोकाया, लेखा परीक्षण आयोगका सचिव टेकनाथ आचार्य र निर्वाचन आयोगका सचिव प्रदीप पोखरेलले आ–आफ्नो आयोगको रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया