आइतबार, माघ ११, २०८२

गुडिरहेको बसमा आगलागी

मेरोन्यूज २०७८ चैत ११ गते २१:२५

काठमाडौँ । कालीकोटबाट काठमाडौँका लागि छुटेको छुटेको ना ८ ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।

कालीकोटदेखि सुर्खेत–नेपालगञ्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका ८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । ‘जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो,’ उनले भने, ‘दमकलले आगो निभाए पनि बस पूर्ण रुपले जलेको छ ।’

आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । बस चालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए ।

‘घुम्तीमा बस मोड्ने क्रममा केही पड्किएको आवाज आयो, हत्तपत्त ह्यान्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इञ्जिनको बीचमा सानो आगो बलेको थियो,’ चालक थापाले भने, ‘यात्रुहरू सबै झर्नु भयो, सेक्टा भाँचेर आगो निभाउन खोज्दै थियौँ, तर आगोले एकैचोटि माथि भेट्यो ।

प्रतिक्रिया