मंगलबार, चैत १७, २०८२

स्थानीय निर्वाचन : गुल्मीको छत्रकोटमा फेरि आउला एमाले ?

मेरोन्यूज २०७८ चैत १४ गते १५:०३

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गतेका लागि स्थानीय तहको मिति तोकेको छ । निर्वाचन मिति तय भएसँगै स्थानीय तहमा राजनीतिक चहलपहल सुरु भएको छ । केन्द्रीय नेताहरू गाउँ पस्न थालेका छन् । स्थानीय तहमा पार्टी प्रवेशको लहाड उत्तिकै बढ्दो छ । दलका नेताहरूसमेत उम्मेदवार बन्न दौडधुप गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा समेत स्थानीय चुनावको रौनक बढेको छ । निर्वाचनबाट अब पालिकाको अध्यक्षमा को आउला ? यो प्रश्न उत्तिकै उत्कर्षमा छ । स्रोतका अनुसार नेकपा एमालेको पकड रहेको उक्त पालिकामा कांग्रेस र माओवादी केन्द्रको हाबी देखिन्न भने एकीकृत समाजवादीको पनि त्यति चर्चा हुन पाएको छैन ।

गत स्थानीय निर्वाचनमा छत्रकोट गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा विजय हासिल गरेको थियो । त्यतिबेला गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले शानदार जित हासिल गरेको थियो । नेकपा एमाले छत्रकोटको प्रमुख राजनीतिक शक्तिको रुपमा रहेता पनि पाँच दलको गठबन्धन भयो भने। गठबन्धनलको प्रभावले एमालेको जित सोचेअनुरूप सहज भने छैन त्यसकारण एमालेले गठबन्धन भएको अवस्थामा कस्लाई चुनावी मैदान मा उतार्छ भन्ने कुरा सबैको चासोका विषय बनिराखेको छ ।

गठबन्धनसँग एक्लै चुनाव लडेर जित सुनिश्चित गर्न सक्ने उम्मेदवार मैदानमा उतार्न एमालेलाई अर्को चुनौती पनि थपिएको छ । त्यसै त एमालेभित्र टिकट पाउनका लागि आन्तरिक रस्साकस्सी पनि राम्रै हुन सक्ने आकलन गरिएको छ ।

गाउँपालिका अध्यक्षको टिकटका लागि अहिले कि छत्रकोट गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारी, नेकपा एमाले प्रदेश कमिटीको सदस्य होमनाथ कंडेल, जिल्ला सचिवालय सदस्य एवम् छत्रकोट इञ्चार्ज विष्णु पौड्याल, जिल्ला कमिटी सदस्य राम प्रसाद पाण्डे, एमाले छत्रकोट गाउँपालिका अध्यक्ष पिताम्बर अर्याललगायतको नाम अहिले चर्चामा छ ।

एमालेले यिनै मध्ये लोकप्रिय नेतालाई उम्मेदवारको रुपमा अगाडि बढाउने निश्चित प्रायः नै छ । एमालेले यी चुनौतीबीच उम्मेदवारको रुपमा कस्लाई अगाडि बढाउँछ यो भने हेर्न बाँकी नै छ । आफ्नो विरासत जोगाउन पदीय वरियताभन्दा लोकप्रियताका आधारमा लोकप्रिय अनुहारलाई एमालेले अगाडि ल्याउन सक्ने अड्कलबाजी गरिएको छ । त्यस्तै, नेपाली कांग्रेसबाट अनन्त पौडेल, धातानन्द भुसालको नाम चर्चामा छ।

कांग्रेसका पौडेल नेपाली कांग्रेस गुल्मी जिल्ला उपसभापति समेत हुन् । गत स्थानीय निर्वाचनमा एमालेका मधुकृष्ण पन्तसँग केही मतले पराजित भएका थिए । यसपालि पनि उनी अध्यक्षमा दोहोरिने सम्भावना रहेको स्रोतले बतायो । त्यस्तै धातानन्द भुसाल पनि कांग्रेस छत्रकोटका सभापति हुन् । उनलाई स्थानीय चर्चित नेताका रुपमा चिनिन्छ । उनको प्रभाव जनमानसमा राम्रै देखिन्छ । उनी प्रभावशाली नेता भए पनि गत निर्वाचनमा उनी एमालेको गड मानिने छत्रकोट ३ हर्दिनेटामा वडाध्यक्ष पदमा पराजित भएका थिए ।

स्थानीय स्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट लोकनाथ पाण्डे र रामचन्द्र कंडेलको नाम चर्चामा छ । छत्रकोट गाउपालिकाका अध्यक्षसमेत उनी जनतामाझ राम्रो नेताका रुपमा परिचित छन् । उनले स्थानीय तहमा राम्रो काम गरेको स्रोतका दाबी छ ।

स्थानीय तहमा मात्रै नभई उनलाई वरपरका क्षेत्रका रुपमा राम्रो नेताका रुपमा चिनिन्छ । त्यस्तै, अर्का नेता रामचन्द्र कंडेलसमेत राम्रा नेताकै रुपमा परिचित छन् । उनले स्थानीय तहमा गरेका कामकाजको जनमानसमा छुट्टै प्रभाव परको समेत स्रोतको दाबी छ ।

नेकपा एमालेबाट विभाजित भएपछि बनेको नेकपा एकीकृत समाजवादीबाट समेत हिमाल थापाको नाम चर्चामा रहेको छ । युवा नेताका रुपमा परिचित उनको स्थानीय तहमा राम्रै प्रभाव रहेको स्रोतको दाबी छ । हिमाल थापाले गठबन्धनको सहयोग पाए छत्रकोट अध्यक्षमा उम्मेदवारी दिने आशय केही दिन पहिले सामाजिक सञ्जालबाट व्यक्त गरेका थिए । उनी एकीकृत समाजवादी निकट युवा संघको केन्द्रीय सचिवसमेत हुन् ।

निर्वाचन आयोगले वैशाख ११ र १२ गतेसम्म मात्रै उम्मेदवारी दर्ता गर्न पाउने मिति तय गरेको छ ।

प्रतिक्रिया