सोमबार, माघ १२, २०८२

प्रधानमन्त्री देउवा भारत प्रस्थान

मेरोन्यूज २०७८ चैत १८ गते १३:१९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, विभिन्न मन्त्रालयका सचिव लगायत रहेका छन् । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री देउवा आज अपराह्न २.५० बजे भारतको दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार शुक्रबार अपराह्न ४ ३० मा विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

आजै प्रधानमन्त्री देउवालाई भाजपा मुख्यालय आइटिओमा भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गर्ने कार्यक्रम छ । तर, देउवाले प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेस र अन्य प्रतिपक्षी नेताहरूसँग बेग्लाबेग्लै भेट्ने कार्यक्रम छैन ।
आज साँझ नेपाली राजदूतावासमा नेपालप्रति शुभेच्छा राख्ने भारतीय नेतासँग रात्रिभोजसहित प्रधानमन्त्री देउवाको सामूहिक भेटवार्ताको कार्यक्रम तय भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ ।

शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । त्यसपश्चात सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुवात गर्ने कार्यक्रम छ ।

नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदको विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल भइरहेको छ । शनिबार नै अपराह्न ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् 

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट बनारस पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने छन् । बनारसबाट प्रधानमन्त्री देउवा अपराह्न ४ बजे दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया