बुधबार, चैत १८, २०८२

१८ वर्षीय युवतीसँग सम्बन्ध राखेको भन्दै नर्वेका रक्षामन्त्रीद्वारा राजीनामा

मेरोन्यूज २०७८ चैत २६ गते १९:२६

काठमाडौँ । नर्वेका रक्षामन्त्री ओड रोजर एनोक्सेनले निकै कम उमेरकी महिलासँग आफ्नो वर्षौंदेखिको सम्बन्ध रहेको खुलासापछि राजीनामा दिएको नर्वे सरकारले जानकारी गराएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

एनोक्सेनको राजीनामा स्वीकारेको पुष्टि गर्दै प्रधानमन्त्री जोनास गाहर स्टोरले भने, “रक्षामन्त्रीको बारेमा जे कुरा बाहिरियो यसपछि यो एउटा आवश्यक निर्णय थियो ।”

एनोक्सेनले शनिबार एनटीबीसँग भने, “मैले धेरै गलत छनौटहरू र निर्णयहरू गरेको छु, र मेरो कार्यले अरूको जीवनलाई अझ कठिन बनाएकोमा सधैँ माफी माग्नेछु ।”

भिजी दैनिकका अनुसार एनोक्सेनले सन् २००५ मा आफ्नो साथी उच्च माध्यामिक विद्यालयका विद्यार्थी हुँदा प्रेममा परेको खुलेको छ । त्यति बेला ती युवती १८ वर्षकी थिइन् भने एनोक्सेनको उमेर ५० वर्ष पुगिसकेको थियो ।

उनको कक्षाका साथीहरूसँग राजधानी ओस्लोस्थित नर्वेको संसदमा एक दिने शैक्षिक भ्रमणमा गएका समय उनीहरूबीच पहिलो भेट भएको थियो ।

यात्रापछि ती किशोरीलाई एनोक्सेनले एकदमै घनिष्ठ सम्बन्ध बनाउन र यौन सम्बन्ध राख्न प्रस्ताव गरेको अनुसन्धानले पुष्टि गरेको भिजीले लेखेको छ ।

अहिले ३० वर्ष नाघेकी ती महिलाले राजनीतिमा उनको रुचीका कारण एनोक्सेनबाट परेको प्रभाव रहेको र उनले ‘आफूले चाहेको कुरा प्राप्त गर्न आफ्नो शक्ति, स्रोत र स्थान प्रयोग गरेको’ भन्दै पत्रिकामा उनीहरूको सम्बन्धको विस्तृत विवरण दिएकी छन् ।

उक्त महिलाका अनुसार, एनोक्सेन ऊर्जा मन्त्री हुँदा सन् २००६ देखि २००७ को अन्तमा एनोक्सेनको कार्यालयमा कम्तीमा १२ पटक भेट गरेका थिए । यस क्रममा उनीहरूले ‘यौनजन्य क्रियाकलाप’ समेत गरेका थिए ।

एनोक्सेनले भिजीसँग भने, “उनी अफिसमा भेट्न गएको र छाडा स्वभावको केही कुरा नभएको भए पनि भेटले आपसी प्रेम बढाएको थियो ।”

सन् २००७ मा सरकारबाट बाहिरिएपछि मात्र उनीहरू घनिष्ठ भएको दाबी गर्दै शक्तिमा रहेका समय उनलाई प्रभाव पारेको भन्ने भनाइ गलत रहेको एनोक्सेनले बताए ।

प्रधानमन्त्री स्टोरले गत वर्षको आम निर्वाचनपछि रक्षामन्त्री नियुक्त हुनुअघि नै एनोक्सेनले यस विषयमा जानकारी नदिएकाले सो जानकारीले ‘फरक निष्कर्ष’ ल्याउने बताए । स्टोरले आफूले सकेसम्म चाँडै नयाँ रक्षामन्त्री नियुक्त गर्ने बताएका छन् ।

प्रतिक्रिया