जनकपुरधाममा चुनावी माहोल : एमाले-कांग्रेसको जनाधार कमजोर, गठबन्धनको भरमा माओवादी

जनकपुरधाम । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा चुनावी सरगर्मी बढेको छ ।
सत्तारूढ गठबन्धनका कांग्रेस, एकीकृत माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेसम्म साझा वा अलग–अलग उम्मेदवार तय गर्न सकेको छैन । तर, यी दलका नेताहरू मेयरका आकांक्षी बन्दै टिकटका लागि आ–आफ्ना दलमा लबिङ तीव्र बनाएका छन् ।
यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहितका दलले अहिलेसम्म जनकपुरधामको मेयरका लागि उम्मेदवार घोषणा गर्न सकेका छैनन् । यद्यपि, निर्माण व्यवसायमा संलग्न रमण कन्स्ट्रक्सनका सञ्चालक बलराम महतोले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
अकांक्षीले आ–आफ्ना पार्टीमा टिकटका लागि हानथाप गरिरहेका छन् । आबद्धता रहेकै पार्टीबाट टिकट नपाउने देखेपछि नेतृत्वको चाहनाले दल परिवर्तन गर्ने होड शुरू भइसकेको छ । दलले पनि आन्तरिक रूपमा वडाध्यक्षदेखि पालिका उपप्रमुख तथा प्रमुखलाई टिकट वितरणका लागि छलफल थालिसकेका छन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)ले मेयर र उपमेयर जितेको थियो ।
महन्थ ठाकुर नेतृत्वको राजपा र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बनेको थियो । पछि विभाजन हुँदा राजेन्द्र महतोको साथ छाडेर उपमहानगरका मेयर लालकिशोर साह उपेन्द्र यादवले नेतृत्वकै जसपा रोजे । उपमेयर रिताकुमारी झाले भने ठाकुर–महतो नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजिन् ।
जनकपुरधाममा मेयरको टिकटका लागि कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपालगायतका प्रमुख दलका स्थानीयदेखि प्रदेश स्तरका नेताले केन्द्रमा लबिङ गरिरहेका छन् । यी प्रमुख दलबाट मेयरका लागि दजनौं आकांक्षी छन् ।
जनकपुरधाममा कांग्रेस, लोसपा र जसपा बलियो छ । अघिल्लो मत परिणामअनुसार जसपा सबैभन्दा शक्तिशाली दल हो । तर, विभाजित भएपछि उसको शक्ति क्षीण भएको छ ।
जसपाबाट मेयरमा तीन जना आकांक्षी
जसपाबाट जनकपुरको मेयरमा तीन जनाको नाम चर्चामा छ । वर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह र युवा नेता बजरंग यादव । तर, सत्तारूढ गठबन्धनबाट मेयर टुंगो लागेको भने छैन ।
गत चुनावमा उपेन्द्र यादव नेतृत्वको फोरमबाट मेयरका प्रत्यासी र हाल जसपाका जनकपुरधाम नगर अध्यक्ष विष्णुदेव साह मेयरका आकांक्षी हुन् । तर, मेयर लालकिशोरलाई पुनः सोही पदमा टिकट दिने आश्वासन दिएपछि जसपा रोजेको बताइन्छ ।
जसपाबाटै मेयरका लागि बजरंग यादवको नाम चर्चामा छ । तर, अहिलेसम्म पार्टीले कसैलाई सिफारिस भने गर्न सकेको छैन ।
कांग्रेसबाट दुई जना आकांक्षी
कांग्रेसभित्र उम्मेदवारको अकांक्षी धेरै देखिएका छन् । तर, बजरंग साह र जनकपुरधाम नगरसभापति मनोज साहको नाम चर्चा छ ।
बजरंग जनकपुरधामका पूर्व मेयर हुन् । मनोज अघिल्लो निर्वाचनमा मेयर लालकिशोरका निकटतम प्रतिद्वन्दी हुन् । जनकपुरधाम उपमहानगरमा कांग्रेसले एकपटक पनि चुनाव जित्न सकेका छैनन् ।
तर, कांग्रेसकै नेताले स्वतन्त्र उम्मेदवारी दिएर दुईपटक मेयर जितेको इतिहास छ । तत्कालीन समयमा बजरंग कांग्रेसमै आबद्ध थिए । तर, पार्टीले उनलाई टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव जितेर पुनः कांग्रेसमै फर्किएका थिए ।
यसैगरी, जनकपुरका तत्कालीन मेयर तथा अहिले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृशेषचन्द्र लाल कांग्रेसमै आबद्ध थिए । तर, पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्रबाट मेयरमा जितेका थिए ।
मनोजभन्दा बजरंग पार्टीमा सिनियर नेता भए पनि पार्टीभित्र मनोजको राम्रो पक्कड छ । कांग्रेस नेता विमलेन्द्र निधिनिकट मनोज जिल्ला अधिवेशनमा सभापति योगेन्द्र पजियारतर्फ खुलेर लागेका थिए ।
टिकट वितरणमा निधिनिकट सभापति पजियारको दबदबा हुने भएकाले मनोजलाई टिकट पाउने गह्रो छैन । यता पार्टीले आफूलाई टिकट नदिए स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने बजरंगको चाहना छ ।
लोसपाबाट प्रदेश सांसदसहित चार जनाको चर्चा
महन्थ ठाकुर–राजेन्द्र महतो नेतृत्वको लोसपाबाट जनकपुरको मेयर र उपमेयरमा पाँच–पाँच जनाको नाम सिफारिस भएको छ ।
जनकपुरधाम उपमहानगर नगर समितिको आइतबार बसेको बैठकले मेयर र उपमेयर दुवै पदका लागि पाँच–पाँच जनाको नाम सिफारिस गरेको नगर अध्यक्ष मनोज चौधरीले जानकारी दिए ।
मेयरमा नगर अध्यक्ष चौधरीसहित प्रदेशसभा सदस्य परमेश्वर साह, वडाध्यक्ष जानकीराम साह, अमर पजियार र संजय चौधरीको नाम सिफारिस भएको छ ।
यस्तै, उमपेयरका लागि विभा ठाकुर, विभा पाण्डे, रिता मिश्र, पुनम झा मैथिल र पुनम साहको नाम नगरबाट सिफारिस भएको उनले बताए ।
मेयरका पाँच जनामध्ये धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ जनकपुर क्षेत्रबाटै तत्कालीन राजपाबाट निर्वाचन जितेका प्रदेशसभा सदस्य परमेश्वर साह सुडी, लोसपाको जनकपुरधाम नगरअध्यक्ष मनोज चौधरी र वडा ७ का वडाध्यक्ष जानकीराम साहको बढी चर्चा छ ।
तर, राजेन्द्र महतोको जनकपुरधाम प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र आउने निर्वाचनमा पनि महतो यसै क्षेत्रबाट चुनाव लड्ने भएको हुँदा लोसपा पार्टीले जसरी पनि मेयर आफ्नो पार्टीको जिताउँने दाउमा छन् । स्रोतका अनुसार लोसपाले नेकपा एमालेसँग गठबन्धन बनाउने रणनीतिमा देखिएको छ ।
एमालेबाट सात जना सिफारिस
जनकपुरधाम उपमहनगरमा खासै जनाधार नरहेको नेकपा एमालेबाट मेयरका लागि सात जनाको नाम सिफारिस भएको छ । केही समयअघि राजपा छोडर एमालेमा प्रवेश गरेका हिकम राइन, जनकपुर नगरका सभापति सुरेन्द्र भण्डारी, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शिवशंकर साह हिरा, कामेश्वर महता, उमेश चौधरी सहित सात जनाको नाम जनकपुरको मेयरको लागि गरिएको पार्टीका एक नेताले बताए । तर, पार्टीको हाइकमाण्डबाट अहिलेसम्म कसै नाम स्वीकृत नभएको ती नेताले बताए ।
माओवादी, समाजवादीलाई गठबन्धनको भर
जनकपुरधाममा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलमा हालसम्म कुनै पनि उम्मेदवारको चर्चा राजनीतिक वृत्तमा देखिँदैन । यद्यपि, यी दलभित्र गठबन्धन भएको खण्डमा उम्मेदवारी दिने पनि आकंक्षीहरू रहेको ती दलका नेताहरूको भनाइ छ ।
















बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया