स्थानीय तह निर्वाचन
कांग्रेस गठबन्धनमा अनुदार, तर परिणाममा फलिफाप

काठमाडौँ । सत्ता गठबन्धन दलले देशभरका ६ महानगर, ११ उपमहानगरपालिकामा सिट बाँडफाँडसहित तालमेल गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए । सिट बाँडफाँडबाट कांग्रेसले अन्य दलका नेता कार्यकर्ता र मतदाताको पनि मत सुरक्षित गर्दै परिणाम आफ्नो पक्षमा पार्न सफल हुने रुझान पारम्भिक मत परिणामले देखाएको छ ।
तर, कांग्रेसले भने गठबन्धनमा सहभागी अन्य दलका उम्मेदवारलाई चित्त प्रशन्नसहित मत नदिएको गठबन्धनका बहुसंख्यक पालिकाको परिणाम विश्लेषण गर्दा देखिएको छ । यसले अन्य दलका उम्मेदवारलाई मत दिने सवालमा कांग्रेस अनुदार देखिएको छ ।
उदाहरणका लागि जनकपुर उपमहानगरको निर्वाचन परिणाम हेरौँ :
जनकपुर उपमहानगरको सिट बाँडफाँड गर्दा उक्त उपमहानगरको मेयर आफ्नो दलले पाउनु पर्ने जोड कांग्रेसले गरेको थियो । तर, उसले भागबण्डामा मेयर पद जनता समाजवादी पार्टी (जसपा)लाई छोडिदिनु पर्यो ।
त्यसपछि उम्मेदवारी दर्ताका दिन कांग्रेसका मनोजकुमार शाह (मेयरका आकांक्षी) उनले बागी उम्मेदवारी दर्ता गराए । गठबन्धनका तर्फबाट निर्वतमान मेयर लालकिशोर साहलाई नै जनता समाजवादीले अगाडि बढायो ।
त्यहाँ भइरहेको मत परिणामको प्रारम्भिक रुझान हेर्ने हो भने कांग्रेसले गठबन्धन गर्ने तर मत बागी उम्मेदवार बनेका शाहलाई दिने नीति लिएको देखिएको छ । पछिल्लो मत परिणामअनुसार कांग्रेसबाट बागी उम्मेदवार भएर जनकपुर उपमहानगरमा मनोजकुमार शाहले निकै ठूलो मतान्तरसहित अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहको अवस्था नाजुक देखिएको छ । उनको निकै कम मत छ । उनी चौथो नम्बरमा छन् । कांग्रेसले त्यहाँ गठबन्धनका उम्मेदवारलाई मत दिएको देखिदैन ।
कांग्रेसको त्यहाँ मात्रै होइन, अन्य कतिपय महानगर र उपमहानगरमा पनि मत दिएको छ । उसका उम्मेदवारलाई गठबन्धनका अन्य सहयात्री दलका मतदाताले भने मत दिएको देखिन्छ । तर, कमै मात्रामा कांग्रेसको मत अन्य सहयात्री गठबन्धन दलका उम्मेदवारले पाएका देखिन्छन् ।
यसले कांग्रेस आफूलाई फाइदा हुने गरी गठबन्धनमा जाने तर गठबन्धनका उम्मेदवारलाई मत दिन आनाकानी गरेको प्रष्ट देखिएको छ । यसले कांग्रेस गठबन्धनमा खुल्न नसकेको र अनुदार देखिएको आरोप गठबन्धन दलकै सहयात्रीले लगाउन थालेका छन् ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेस अगाडि बढ्न नसकेको बताए । ‘गठबन्धनका अन्य दलका मतदाताले तालमेल हुँदा कांग्रेसबाट जुन पदमा उम्मेदवारी परेको छ, इमान्दारीपूर्वक मत दिएका दिएको देखियो, तर कांग्रेसबाट देखिएन, बरु बागी उठेकालाई भोट दिएर जिताएको देखियो’, गजुरेलले भने, ‘गठबन्धन दलहरूबीचको तालमेलको मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन गरेको देखियो ।’
त्यसो त माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटाले पनि गठबन्धनमा कांग्रेस इमान्दार देखिन नसकेको शनिबार दिउँसैको परिणामको रुझान हेरेर विश्लेषण गरेका थिए । उनले अघिल्लो र यो दुवै स्थानीय तहमा गरिएको गठबन्धन माओवादीका लागि प्रत्युत्पादक भएको बताएका छन् ।
‘हाम्रा काँधमा चढेर कांग्रेसले तारो टिपेर हामीलाई चारो हाले । हामी माओवादीले समीक्षा गर्नु पर्छ,’ सापकोटाले पारम्भिक परिणामको रुझान हेर्दै विश्लेषण गरे ।
०७४ भन्दा कांग्रेसले सय र माओवादीले ४०-५० सिट थप्ने प्रारम्भिक परिणामले देखाएको र एमाले सय सिट घट्ने शुरुवाती नतिजाले देखाएको पनि उनले बताए । तर उनले गठबन्धन ७५३ स्थानीय तहमध्ये एक तिहाईमा नभएको र जम्माजम्माी माओवादी र कांग्रेस ११६ मा मात्रै गठबन्धन भएको बताएका छन् ।
माओवादीले जित्ने सिटमध्ये दुई तिहाईभन्दा बढी सिट एकल भिडेका स्थानमा जित्ने जिकिर उनको छ । पाँचथरको फालेलुङ गाउँपालिका १ मा त कांग्रेसकै बागी अनिश गुरागाईंले गठबन्धनको उम्मेदवारलाई पराजित गरे । काभ्रेको धुलिखेलमा पनि कांग्रेसका बागी उम्मेदवार शक्तिशाली देखिएका छन् । अन्य कतिपय स्थानीय तहमा पनि अवस्था यस्तै छ ।
यसले गठबन्धनभित्र माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीभन्दा कांग्रेस इमान्दार नदेखिएको हो । गठबन्धन गर्ने, नगर्ने विषयमै कांग्रेसमा चुनावअगाडि दुई धार थियो । देउवासहित बहुमत नेता गठबन्धनको पक्षमा रहे पनि देउवासँग पार्टीभित्र प्रतिस्पर्धा गरेका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङलगायत नेता गठबन्धनको विपक्षमा थिए ।
अहिलेसम्मको परिणामले गठबन्धनकै कारण कांग्रेसले गत स्थानीय तह चुनावभन्दा आफ्नो पोजिसन सुदृढ गरेको देखिएको छ । तर, उसले गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गरेको भए एमालेसँग कांग्रेसले अपेक्षित परिणाम नआउने लक्षण देखिएको छ ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अहिले नै कांग्रेसमाथि धोका दिएको भनी टिप्प्णी गर्नु उचित नहुने बताए । ‘एक,दुई ठाउँको उदाहरण दिएर हुँदैन, हो केही ठाउँमा त्यस्तो आरोप लगाउन मिल्ने गरी स्थिति देखियो, तर धोका होइन, जस्तै भरतपुर महानगरपालिकामा गठबन्धन दल माओवादीकी प्रमुखले निरन्तर अग्रता लिएकै छिन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीकाका मेयरले लगातार अग्रता लिएको स्थिति छ ।
‘त्यहाँ त कांग्रेसको मत संख्या माधव नेपाल जीको पार्टीभन्दा कता हो कता धेरै छ,’ प्रवक्ता महतले भने, ‘हाम्रो पार्टीका नेताहरूको असन्तुष्टि पनि थियो, तैपनि पार्टीको आन्तरिक मतभेद टुंग्याउँदै कांग्रेसको पूरै सहयोग छ, त्यही कारणले कांग्रेसले धोका दियो भन्नु गलत हो ।’
प्रारम्भिक नतिजाको रुझान हेर्दा नेपाली कांग्रेस र गठबन्धनको पक्षमा माहोल देखिएको छ । प्रारम्भिक अग्रताको संख्या हेर्ने हो भने पनि कांग्रेस निकै माथि छ । कांग्रेसले त्यो फाइदा गठबन्धन बनाएरै लिएको अन्य दलका नेताहरू बताउँछन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने प्रारम्भिक अग्रता र सार्वजनिक भइसकेको स्थानीय तहको मत परिणामलाई आधार मान्दा पनि एमाले सन्तोष मान्ने ठाउँमा रहेको बताए । यद्यपि उनले एमालेले गरेको अपेक्षाअनुसार परिणाम नदेखिएको बताए ।
‘जुन ढंगको घेराबन्दी, मोर्चा र सत्ताको दुरुपयोगको बीचमा हामीले निर्वाचन लड्यौँ, त्यस हिसाबले हेर्दा प्रारम्भिक परिणाम र घोषणा भएकासँगै अग्रता हेर्दा समग्रमा एक खालको सन्तोषजनक नै परिणाम हो र यो उल्लेख हो’, ज्ञवालीले भने ।
गत स्थानीय तहमा पनि कतिपय स्थानमा कांग्रेसले चुनावी तालमेल गरेर प्रतिस्पर्धा गरेको थियो । तर अहिलेको मत परिणामले एमालेभन्दा कांग्रेसअगाडि जाने देखिएको छ । अहिलेसम्मको परिणाम हेर्दा विराटनगर, ललितपुर महानगर विगतकै झै कांग्रेसले जित्ने रुझान पारम्भिक परिणामले देखाइरहेको छ । काठमाडौँमा भने स्वतन्त्रले एमाले र कांग्रेस दुवैलाई उछिनेको छ ।
उपमहानगरमा कांग्रेसको परिणाम राम्रो आउने देखिएको छ । तर अन्य दलहरू भने पूर्ण विश्वास नगरी झस्किएको अवस्था अहिले बनेको छ ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
प्रतिक्रिया