प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकाजी निर्वाचित

चितवन । माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र माडीको माडी नगरपालिका एमालेले जितेको छ । माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छिन् ।
यो नगरपालिकामा एमाले र राप्रपा तथा माओवादी केन्द्र सहितको सत्ता गठबन्धनका अलग अलग गठबन्धन थिए । सत्ता गठबनधनलाई हराँउदै विपक्षी गठबन्धनले माडी नगरपालिका जितेको हो । एमालेकी ताराकुमारीले नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई दुई हजार एक सय ७२ मतान्तरले पराजित गरेकी हुन् ।
मेयरमा निर्वाचित महतोले नौ हजार नौ सय एक मत प्राप्त गर्दा काफ्लेले जम्मा सात हजार सात सय २९ मत मात्रै प्राप्त गरे । मेयर र उपमेयर पदमा एमाले र राप्रपाले तालमेल गरेका थिए । उपमेयरमा भने कांग्रेसका खेम महतोले ६ हजार आठ सय ३० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मदन पौडेलले पाँच हजार एक सय ४० र स्वतन्त्र उमेदवार कृष्ण पौडेलले तीन हजार ८६ मत ल्याए ।
एक कार्यकाल उपमेयर भएर काम गरेकी ताराकाजी महतो शालिन र लोकप्रिय नेतृ हुन् । विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै राजनीतिमा प्रवेश गरेकी महतो माडीका विभिन्न वडामा १२ वर्ष वडा सचिव र पाँच वर्ष उपमेयर भएर काम गरेकी थिइन् ।
लगातार रुपमा वडा अध्यक्ष पद गुमाउँदै गएको एमालेले अन्तिम चरणमा मेयर र वडा नम्बर ६ मा जित हात पारेको हो । वडा नम्बर ६ मा एमालेका दीपेन्द्रराज पौडेल निर्वाचित भएका छन् । माओवादी केन्द्रले माडी–२, ४, ५ र ९, राप्रपाले माडी–१ र ८ र एकीकृत समाजवादीले माडी–३ र ७ मा विजय हात पारेको हो ।
प्रतिक्रिया