प्रचण्डको परिवार हो भन्दैमा म राजनीतिमा आउनै नपाउने ?

म भरतपुर, चितवन निवासी सृष्टि दाहाल केसी । मेरो पार्टी सदस्यता नम्बर पी– ३३५३८९१२४०४ । म २०६७/०७/०२ मा पार्टी सदस्य भएको हुँ र विगत १२ वर्षदेखि चितवन-काठमाडौं सम्पर्क समन्वय समितिमा कार्यरत थिएँ । धेरैथोरै ‘नेपोटिजम’ भन्ने सायद हरेक फिल्डमा हुन्छ जस्तो लाग्छ ।
व्यापारीको परिवारबाट उनका सन्तान त्यही देख्दै-सुन्दै आएका हुन्छन्, त्यही फिल्डप्रति बढी चासो र इच्छा राख्दछन् । त्यस्तै डाक्टरले डाक्टर बनाउने, नायक-नायिकाले त्यही अगाडि बढाउने, अन्य कुनै पनि फिल्डकालाई त्यही लाइनमा रुचि हुने हुन्छ । यदि परिवारको कोही सफल व्यक्ति हुनुहुन्छ भने त्यसले त्यही फिल्डमा आउनेलाई सहज हुन्छ । तर, सफल र असफल केवल आफ्नो खुबी र मेहनतले मात्र बनाउँछ । यदि त्यस व्यक्तिमा आफूले राखेको इच्छा र कामप्रति लगनशीलता छैन र जबरजस्ती कुनै पदमा राखिन्छ भने त्यो व्यक्ति स्वतः असफल भई नै हाल्छ । त्यसैले म के हुन्छु ? त्यो म आफैंलाई पनि समयले देखाउला । केही साथीहरूले मेरोबारे प्रश्न उठाउनुभएको छ, उठाउन पाइन्छ । बोल्न, लेख्न पाइन्छ । माओवादी पार्टीले यत्रो युद्ध लड्नु पर्नाको एउटा प्रमुख कारण पनि यही नै थियो । र, प्रश्न उठेपछि उत्तर दिनु मेरो कर्तव्य हो ।
मैले पार्टी सदस्य लिएको १२ वर्ष भैसकेको छ । मैले मेरो पार्टी सदस्यता नम्बर माथि उल्लेख गरिसकेको छु, ‘भेरिफाई’ गर्न सक्नुहुन्छ । मलाई एक्कासि अहिले पार्टीमा ल्याएर पद दिएको भन्ने भ्रममा नपर्नुहोस् । हरेक व्यक्तिका आ-आफ्ना रुचि हुने गर्दछन् । मलाई समाज सेवा र राजनीतिमा चासो छ । म विद्यार्थीको केन्द्रीय सदस्य बन्न असक्षम र अयोग्य उम्मेदवार हो जस्तो मलाई लाग्दैन् । किनकि मैले हामी सानै छँदादेखि हामीलाई सँगसँगै लिएर मम्मीले हरेक कार्यक्रममा लग्नुहुन्थ्यो । सानो छँदैदेखि हरेक आन्दोलनमा पुगेकै छु । अरू पार्टीबाट आएर विद्यार्थीमा आएको पनि होइन । हाम्रो समस्या के हो भने पदका लागि घुमीफिरी आउनेलाई हामी सधैं स्थान र सम्मान दिन्छौं, ठाउँ दिन्छौं । तर, पार्टीप्रति मनैदेखि माया र सम्मान हुनेलाई हामीले न साथ न त हौसला दिन्छौं ।
म मात्र त केन्द्रीय सदस्य भएको त होइन । धेरै साथीहरू हुनुहुन्छ । तर, केही साथीहरुले मलाई मात्र देखिरहनुभएको छ । हामीभन्दा अग्रजहरूले साथ दिनुस्, हामीलाई प्रशिक्षित गर्नुस् । जनयुद्धमाथि औंला उठाउनेहरूलाई बुझाउन सक्नुप¥यो किन र केका लागि थियो भनेर ? त्यो सम्भव भनेको युवा विद्यार्थीबाट मात्र छ । आफ्नो पार्टीको अस्तित्व बचाउनतिर लाग्नुपर्छ । हामी त्यसका लागि पार्टीप्रति सदैव इमानदार रहने व्यक्तिलाई मौका दिनुस्, आलोचना गरेर आफ्नै परिवारभित्र नखेल्नुहोस् ।
र, मेरो विषयमा हाम्रो पार्टी अध्यक्षको नाम जोडेर बीचमा नल्याउनुहोस् । उहाँलाई मलाई राजनीतिमा इच्छा छ भन्ने थाहा छ । तर, त्योबाहेक उहाँले केही गर्नु भएको हैन र अध्यक्षलाई यस विषयमा केही थाहा पनि थिएन । सायद अहिले चलिरहेको संगठनको समस्याले पनि केही साथीहरूको आक्रोश होला मप्रति । तर, पार्टी संगठन एक हुनुपर्छ भन्ने पक्षमा हो म । जसरी पनि समस्याको हल हुनुपर्छ । परिवारवादको ट्याग नदिनुस्, म फिल्डमै काम गर्न खोजेको हो । मलाई मन्त्री, राजदूत नै बनाएको जस्तो नगर्दिनुस् ।
तपाईंहरु परिवारवादको कुरा गर्नुहुन्छ मेरै ड्याडीले यो पार्टीमा काम गर्नुभयो, सबै त्याग्नुभयो । तर, सधैं पार्टीभित्र अन्यायमा पर्नुभयो । उहाँभन्दा जुनियरहरु कहाँ पुगिसक्नुभयो । तर, उहाँलाई सधैं पछाडि पारियो । त्यस विषयमा तपाईंहरूको ध्यान कहिले पनि गएन । पार्टी अध्यक्षलाई अफ्ठ्यारो पर्ला भनेर उहाँ कहिले बोल्नुभएन । पार्टी कमिटीले जे जे गर्यो, सबै स्वीकार्नुभयो । र, आज पार्टीको कुनै पनि विभागमा समेत राखिएको छैन । आफूभन्दा धेरै जुनियर साथीहरुलाई सेन्ट्रल कमिटीमा ल्याइयो । तर, यस विषयमा कोही बोल्नुभएन, साथ दिनुभएन ।
अझ धेरै ठाउँमा सभामुखको सचिवालय भनेर जोडेको देख्छु । त्यो पनि आफ्नै बाध्यता र समस्याले हुनुभएको हो । त्यसमा राख्न पनि क. प्रचण्डले प्रस्ताव गर्नुभएको होइन । क. कृष्णबहादुर महरा बाबाले आफैंले ड्याडीलाई बोलाएर राख्नुभएको हो । आफूभन्दा जुनियर माथि-माथि पुगेको बेला आफू पार्टीमा कुनै हैसियतमा हुनुहुन्न । तर, बाबालाई हामीले हाम्रो विषयमा तनाव दिने काम गरेका छैनौं अहिलेसम्म । त्यसैले जे भन्नु छ, हामीलाई भन्नुस् । अध्यक्षलाई बीचमा नल्याउनुहोस् । उहाँलाई केही थाहा थिएन र केही पनि गर्नुभएको पनि हैन ।
प्रचण्डको परिवार हो भन्दैमा म राजनीतिमा आउनै नपाउने त हुँदैन होला नि ? हर व्यक्तिको आफ्नो इच्छा, क्षमता, योगदान र चाहना हुन्छ । ममाथि औंला त्यतिबेला उठाउनु होला, जब म गलत बाटोमा हिँड्छु । आफ्नो कामप्रति बफादार हुन्न । मलाई पार्टीभित्र र बाहिरबाट साथ, सहयोग र हौसला दिनुहुने धेरै साथीहरूलाई हृदयदेखि नमन साथै आलोचना गर्नुहुने साथीहरुलाई पनि धन्यवादसहित वास्तविकता बुझिदिनुहुन विनम्र अनुरोध ।
(सृष्टि दाहाल केसी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल केसीकी छोरी हुन् । उनी माओवादी विधार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य चुनिएकोमा उनलाई विवादमा तान्न खोजेपछि उनले सामाजिक सन्जालमार्फत दिएको अभिब्यक्ति)











एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया