सोमबार, माघ २६, २०८२

माओवादी नेता पन्तको सार्क राष्ट्रसम्बन्धी तेस्रो पुस्तक सार्वजनिक

मेरोन्यूज २०७९ असार २७ गते २२:००

काठमाडौँ । माओवादी केन्द्रका नेता लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल एण्ड नेबर्स ः मेमोरेबल इभेन्ट्स अफ द रिसेन्ट पास्ट’ पुस्तक सार्वजनिक भएको छ । यो उनले लेखेको अंग्रेजी भाषामा तेस्रो कृति हो ।

यसभन्दा पन्तका दुई वटा कृति ‘आधुनिक नेपालको इतिहास १७४३–१९५५’ र ‘नेपाल भारत र छिमेक’ नेपाली भाषामा लेखिएका थिए । अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय राजनैतिक घटनाक्रमका विषयमा गहिरो ज्ञान राख्ने उनले उक्त अंग्रेजी पुस्तकमा सार्कका सात मुलुकहरु र उत्तरी छिमेकी चीनमा बितेका दशकमा घटेका महत्वपूर्ण राजनैतिक घटनाका विवरण र विश्लेषण पस्केका छन् ।

पुस्तकमा आठ अध्याय रहेका छन् । नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, भुटान, मालदिभ्स र चीन प्रत्येक मुलुकलाई पृथक पृथक च्याप्टरमा समावेश गरिएको छ । सार्कका सबैजसो मुलुकको भारतसितको खराब सम्बध किन ? र त्यसका कारणहरु के हुन् ? भन्ने विषयमा पुस्तक केन्द्रित छ ।

पुस्तकको नेपाल खण्डमा भारतीय सत्तावृत्तको नेपालप्रतिको धारणा र आम नेपाली जनताको भारतप्रतिको धारणाको सविस्तार प्रसंग र सन्दर्भ सामग्रीसहित व्याख्या गरिएको छ । यस अतिरिक्त नेपाल च्याप्टरमा राजा महेन्द्र र वीरेन्द्रले मुलुकलाई भारतीय ध्रुवबाट पृथक गरेर स्वतन्त्र र सार्वभौम मुलुकका रुपमा नेपाललाई खडा गर्न खेलेको भूमिकाको चर्चा गरिएको छ ।

पुस्तकको इण्डिया च्याप्टरमा नक्सलाइट आन्दोलन, गोर्खाल्याण्ड आन्दोलन, इन्दिरा गान्धीको हत्या, मोदी लहर आदि घटनाक्रमहरु समेटिएका छन् । यस्तै, पाकिस्तान च्याप्टरमा भारत पाकिस्तान सम्बन्ध र यसका पछाडि शत्रुता कारणहरुमाथि प्रकाश पारिएको छ । भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर भएको युद्धबारेमा पुस्तकमा चर्चा गरिएको छ । साथै जियाउल हक देखि परवेज मुसर्रफसम्मको सैन्य कू, बेनजिर भुट्टोको हत्या आदिबारे प्रकाश पारिएको छ ।

बंगलादेश कसरी निर्माण भयो त्यस्मा भारतको भूमिका कस्तो रह्यो र अब भारत बांग्लादेश सम्बन्ध किन सुमधुर छैन भन्ने विश्लेषण बंगलादेश अध्यायमा गरिएको छ । भुटान दक्षिण एसियामा भारतको अन्तिम मित्र हो भन्ने विषय र भुटानी शरणार्थीहरुको दुखद कथा र भारतको भूमिकाका बारेमा भुटान च्याप्टरमा प्रकाश पारिएको छ । चीनमा देंग शियाओ पिङको उदय, तियानम्यान चोकको विद्यार्थी आन्दोलन लगायतका विषयवस्तुहरु चीन च्याप्टरमा समेटिएका छन् ।

पुस्तक दुई सय जति सन्दर्भ सामग्रीहरुमा आधारित छ । अन्तर्राष्टिय सम्बन्ध विशेषतः सार्क मुलुक र चीनको राजनीतिमा रुचि राख्ने पाठकहरुका लागि लक्ष्मण पन्तलिखित पुस्तक सान्दर्भिक र महत्वपूर्ण छ । सरल अंग्रेजी भाषामा लेखिएको पुस्तकमा ५३९ पृष्ठहरु छन् । पुस्तकको मूल्य ७९९ रुपैयाँ राखिएको छ ।

प्रतिक्रिया