शुक्रबार, फागुन ८, २०८२

दाङमा चट्याङ लागेर घाइते भएकाहरूको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी

मेरोन्यूज २०७९ भदौ १५ गते १८:५४

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले गयराति दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १२ गुरौँ गाउँमा कुलबीर बुढाको आँगनमा परेको चट्याङमा परि घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका जिल्ला प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीलाई टेलिफोन गरी घाइतेको अवस्थाबारे जानकारी लिएका हुन् ।

घाइतेहरूलाई अस्पतालसम्म पु¥याइनसकिएको भए तत्काल पु¥याउन र सहज उपचारको व्यवस्था गर्न निर्देशन दिँदै गृहमन्त्री खाणले जिल्लामा रहेको स्रोत र साधनबाट सम्भव नहुने भए केन्द्रमा जानकारी गराउन निर्देशन दिए ।

चट्याङ लागेर सोही गाउँकी १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मनिषा शाहको मृत्यु भएको दारूका प्रहरी प्रमुख उपरीक्षक वलीले जानकारी दिए ।

चट्याङ लागेर नौ जना घाइते भएकोमा ५ जनाको सामान्य र अन्यको अवस्था मध्यम रहेको वलीले बताए । सोही गाउँका १५ वर्षीय निरुता शाह, १५ वर्षकै जयन्ती घर्ती, १६ वर्षकी यामुसरी थापा र ३८ वर्षकी यमकुमारी शाहको अवस्था मध्यम रहेको र त्यहाँ सवारी साधनमा ल्याउन सक्ने अवस्था नरहेकोले डोकोमा राखेर उपचारका लागि अस्पताल ल्याउँदै गरिएको छ । उनीहरू बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनामा १४ वर्षीय अन्जना घर्ती, ३८ वर्षीय बेलकुमारी घर्ती १५ वर्षकी सावित्रा वली, ४२ वर्षकी मनकुमारी वली र ४ वर्षीया बालिका जेनिशा शाह सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई यथाशक्य उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिएका छन् ।

प्रतिक्रिया