आइतबार, माघ ११, २०८२

पल शाह प्रकरण : पीडित भन्छिन्– ‘क्षतिपूर्ति बापतको रकम लिने मनसाय छैन’

मेरोन्यूज २०७९ भदौ २८ गते २१:५०

काठमाडौं । अभिनेता पल शाहबाट बलात्कृत भएकी भनिएकी नाबालिगले सामाजिक सञ्जालमा आफ्नाविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मानसपटलमा नकरात्मक प्रभाव परेको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नै घरको घटना जस्तो सम्झेर आफ्नो समस्यालाई नियालिदिन पनि सबै पक्षसँग अनुरोध गरेकी छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूमाथि भएको घटना नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुःखद घटना भएको उल्लेख गरेकी छन् । ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालि दिनुहोला’, उनले भनेकी छन् ।

उनले आफूले पीडकबाट क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग नगरेको उल्लेख गरेकी छन् । क्षतिपूर्ति बापतको उक्त रकम लिने आफ्नो मनसाय नभएको पनि उनले बताएकी छन् । ‘म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु’, उनले भनेकी छन् । नवलपरासी अदालतले पल शाहलाई बलात्कार आरोपमा सफाइ दिएको थियो । तर बाल दुरुपयोग आरोपमा भने दोषी ठहर गर्दै १० लाख क्षतिपूर्ति भर्ने फैसला गरेको थियो । सो मुद्दा तनहुँ अदालतमा भने विचाराधीन नै छ ।

प्रतिक्रिया